नवनियुक्त मन्त्रीहरूले लिए शपथ, राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री

 माघ ३, २०७९ मंगलबार १३:२६:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – नवनियुक्त उपप्रधानमन्त्री, मन्त्री तथा राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र लिङ्देनलगायतलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।  

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सिफारिसमा मन्त्री नियुक्त भएकाहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति भण्डारीले आज मन्त्रिपरिषद् विस्तार गरी कार्य विभाजन पनि गर्नुभएको छ ।

नेकपा माओवादी केन्द्रबाट रेखा शर्माले सञ्चार तथा सूचना प्रविधि, अमनलाल मोदीले सङ्घीय मामिला तथा सामान्य प्रशासन, सुदन किरातीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन र सुशीला श्रीपालीले पर्यटन राज्यमन्त्रीको शपथ लिनुभएको छ ।

नेकपा एमालेबाट डाक्टर विमला राई पौडेलले परराष्ट्र, हरि उप्रेतीले रक्षा, पदम गिरीले स्वास्थ्य तथा जनसङ्ख्या, भगवती चौधरीले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीकाे रूपमा शपथ लिनुभएको छ । एमालेबाट यसअघि नै विनाविभागीय मन्त्री बनेका ज्वालाकुमारी साहले कृषि तथा पशुपक्षी विकास, दामोदर भण्डारीले उद्योग वाणिज्य तथा आपूर्ति र राजेन्द्र राईले भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

राप्रपाबाट धुव्रबहादुर प्रधानले कानुन न्याय तथा संसदीय मामिला र विक्रम पाण्डेले सहरी विकास मन्त्रीको शपथ लिनुभयो । राप्रपाकै दीपक सिंहले ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीको शपथ लिनुभएको छ ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीमा शिशिर खनाल, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्रीमा डाक्टर तोसिमा कार्कीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।  

गएकाे पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका प्रचण्डले पुस ११ गते पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । ११ गते नै उपप्रधानमन्त्री एवम् अर्थ मन्त्रीमा विष्णु पौडेल, उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्री एवम् गृह मन्त्रीमा रवि लामिछानेले पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । यसअघि विनाविभागीय मन्त्रीको शपथ लिनुभएका जनमत पार्टीका अब्दुल खानले खानेपानी मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । वन तथा वातावण र युवा तथा खेलकुद मन्त्रीको अझै टुङ्गो लागेको छैन । यी दुई मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै जिम्मेवारीमा रहेका छन् ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Subas

    Jan. 17, 2023, 2:20 p.m.

    Ramro Kam garnush. Subhakamana xa hajur haru lai

  •  0 Reply

तपाईको प्रतिक्रिया