पालिका उपचुनाव : दिउँसाे २ बजेसम्म ५० प्रतिशत मतदान
मंसिर १६, २०८१ आइतबार
बझाङ - सामाजिक सुरक्षा भत्ता लिन गएकी छविसपाथिभेरा गाउँपालिका वडा नम्बर १ की ७२ वर्षीया वृद्धा सीता गिरीकाे हिजाे बाटाेमै ज्यान गयाे । घरबाट ५ किलाेमिटर टाढा रहेकाे कुमारी बैंकबाट भत्ता लिएर घर फर्किँदै गर्दा एकल महिला गिरीकाे बाटाेमै ज्यान गएकाे हाे । उहाँ दमकाे बिरामी हुनुहुन्थ्याे ।
याे त प्रतिनिधि घटना मात्रै हाे । सरकारले बैंकमार्फत् सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था गरेपछि दुर्गम जिल्लाका नागरिकलाई निक्कै सास्ती हुने गरेकाे छ । विशेषत वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति, बेसहारा, हिँडडुल गर्न नसक्नेहरुले लागि घरमा नै पुगेर भत्ता दिने व्यवस्था नहुँदा निक्कै दु:ख पाउने गरेका छन् ।
भत्ताका लागि लामो समय बैंकमा लाइन बस्नुपर्ने, कहिले इन्टरनेटले काम नगर्दा यत्तिकै फर्किन गर्ने बाध्यता रहेकाे उनीहरु बताउँछन् । गाउँपालिकाले घरघरमा पुगेर भत्ता वितरण गर्न सके वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति, एकल महिला हिँडडुल गर्न नसक्नेहरुलाई सहज हुने उनीहरुकाे बुझाइ छ ।
स्थानीय शिवजला भण्डारी भन्नुहुन्छ, 'पालिकामा गएर पनि तत्काल काम हुँदैन । एक/दुई दिन कुर्नुपर्छ । स्थानीय सरकार आएपछि सहज होला भन्ने सोचेकी थिएँ । तर झन् समस्या भएको छ । पहिला घरमै आएर भत्ता दिने गरेका थिए । अहिले बैंकमा नै पुगेर भत्ता ल्याउनु पर्छ । बाटो पनि निकै अप्ठ्याराे छ । उमेर ढल्केका हामीहरु हिँडडुल गर्न सक्दैनौँ । सकी नसकी भत्ता बुझ्न जानुपर्छ । बैंकमा कतिबेला के हुने हो त्याे जानकारीसम्म पनि हुँदैन ।' घरमा नै वा आफन्तहरुको हातमा सहज तरिकाले भत्ता उपलब्ध गराइ दिने व्यवस्था भए सजिलाे हुने उहाँ बताउनुहुन्छ ।
छविसपाथिभेरा गाउँपालिकामा मात्रै नभएर बझाङका १२ वटै पालिकामा यही समस्या रहेकाे छ । छविसपाथिभेरा गाउँपालिका-१ का वडा अध्यक्ष करनजंग बहादुर सिंह भने हिँडडुल गर्न नसक्ने, अपाङ्गता भएका व्यक्ति तथा एकल महिला वृद्धवृद्धाहरुका लागि इच्छाइएको व्यक्तिले नै भत्ता बुझ्न सक्ने व्यवस्था गाउँपालिकाले गरेकाे दाबी गर्नुहुन्छ ।
तर ज्यान गुमाएकी गिरीकाे आफन्त काेही नभएकाे र भत्ता बुझ्नका लागि इच्छाइएकाे व्यक्तिकाे परिचयपत्र नभएकाले आफैँ जानुपर्ने अवस्थाका कारण यस्तो भएको उहाँले बताउनु भयाे । घरमा कोही पनि नभएका व्यक्तिहरुकाे हकमा पालिकाले फेरि अर्को निर्णय गरेर सहज तरिकाले भत्ता उपलब्ध गराउने व्यवस्था गर्ने उहाँले बताउनुभयाे ।
छविसपाथिभेरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गगन बहादुर ऐडीले वृद्धा महिलाकाे ज्यान के कारणले गयाे भन्नेबारे जानकारी नभएकाे बताउनु भयाे । उहाँले सामाजिक सुरक्षा भत्ता सहज तरिकाले उपलब्ध गराउनका लागि छिट्टै छलफल गर्ने प्रतिबद्धता जनाउनु भएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।