उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ – ‘तपाईंहरु सबैजना मिलेर लाइनमा लाग्नुस्, पालो मिचेर आउनुभयो भने फर्काइनेछ ।’
त्रिपुरेश्वरमा रहेको राहदानी विभागको गेटमा पुग्नै लाग्दा यो आवाज सुनिन्छ । दिउँसोको टन्टलापुर घाम । विभागको बाहिर कालोपत्रे नगरिएको सडकमा धुलो उडिरहेको छ । त्यही सडक छेउछाउमा केही साइबर पसलहरु खोलिएका छन् । केही नाङ्लो पसल थापिएका छन् ।
‘आजै काम भएकाहरु मात्रै कागजात देखाएर भित्र छिर्नुस् है ।’
सरकारी कार्यालयमा सेवा लिन जानेहरुले कागजात र प्रमाण देखाएर मात्रै गेटभित्र छिर्न पाउने कुरा सुन्दा अचम्म लाग्न सक्छ । तर अचम्म मान्नुपर्दैन । यो राहदानी विभागको गेट नम्बर ३ हो । त्यहाँ खटिएका प्रहरीले लाइनमा बस्न र कागजात देखाएर मात्रै गेटभित्र छिर्न माइकिङ गरिरहेका छन् ।
गेट वरपर झुम्मिएका छन् भित्र जान नपाएका वा काम नबनेर निराश भएकाहरु । यस्तैमध्ये एक हुनुहुन्छ, सिन्धुपाल्चोकका शिरोमणि ढकाल ।
वैदेशिक रोजगारीको लागि कतार जान लाग्नुभएका शिरोमणिले विभागको सर्भर डाउन हुँदा समयै पासपोर्ट पाउनुभएन । कतार उड्नुभन्दा एक हप्ता अगाडि उहाँको पासपोर्ट हरायो । इमर्जेन्सीमा पासपोर्ट झिक्नको लागि उहाँले सबै प्रक्रिया गर्नुभयो । १७ हजार रुपैयाँ बुझाउनुभयो । कतार उड्ने दिनभन्दा अघिल्लो दिन साँझसम्म पासपोर्ट आइपुग्नुपर्ने थियो । तर त्यो दिन पाँच बजिसक्योे । कार्यालय बन्द भयो । अर्को दिन दिउँसोसम्म पनि पासपोर्ट आयो भने उहाँ साँझको उडानबाट कतार जान सक्नुहुन्थ्यो । तर त्यो दिनभरि विभागको सर्भर डाउन भयो । अनि काटिसकेको जहाजको टिकट नै क्यान्सिल गर्न शिरोमणि बाध्य हुनुभयो ।
एक हातमा कागजातको झोला र अर्को हातमा मोबाइल । टिकट क्यान्सिल गर्नको लागि हतारहतार विभागको त्यही ३ नम्बर गेटबाट निस्किँदै गर्दा शिरोमणिका आँखाभरि आँसु छचल्किरहेको देखिन्थ्यो ।
‘बिहानै दश बजे नै आएको हो, अहिलेसम्म सर्भर डाउन छ, कतिबेला बन्छ कुनै फिक्स छैन रे । बरु टिकट क्यान्सिल गर्नुस् भन्नुभयो कर्मचारीले, त्यसैले टिकट क्यान्सिल गर्न जान ला को’, यति भनेर शिरोमणि लामालामा पाइँला चाल्दै मूल सडकतिर लाग्नुभयो ।
विभागको सर्भर डाउन हुँदा समयमै पासपोर्ट पाइँदैन । काटिसकेको जहाजको टिकट नै क्यान्सिल गर्न बाध्य हुन्छन् सेवाग्राही । अनपेक्षित रुपमा हुने यस्तो समस्याको मार कति सेवाग्राहीले खेपे अहिलेसम्म भन्ने विभागसँग कुनै रेकर्ड छैन । उल्टै, त्यहाँका कर्मचारी पनि यस विषयमा संवेदनशील हुनुपर्नेमा टिकट क्यान्सिल गर भनेर सल्लाह दिन्छन् ।
आ–आफ्नो समस्या, त्यसैमाथि सरकारी निकायकै गैर जिम्मेवारी । अनि शिरोमणि जस्तै कैयौँ सेवाग्राही आँखाभित्रै आँसु दबाएर लुरुलुरु आफ्नो बाटो लाग्छन् ।
.......
राहदानी अर्थात् पासपोर्ट सम्बन्धी सेवा लिन आउनेहरु यही गेट भएर भित्र छिर्नुपर्छ । तर एक जनामात्र छिर्न सक्ने गरी गेट थोरै खोलिएको छ । सेवा लिन भित्र पस्ने र सेवा लिएर फर्किनेहरुलाई बाहिरभित्र गराउन त्यहाँ तीन जना प्रहरी खटिएका छन् । त्यसैले गेटमा निकै ठेलामठेल छ ।
गेटभित्र छिरेपछि सुरुमै आउँछ सोधपुछ कक्ष । कक्षभित्र दुईजना कर्मचारी छन् । सोधपुछको लागि एउटा सानो झ्याल राखिएको छ । कागजातमा केही मिलेन, इमर्जेन्सीमा पासपोर्ट चाहियो, रिन्यु गर्नुपर्यो आदी इत्यादी समस्याबारे बुझ्नको लागि यही झ्यालको अगाडि पुग्नुपर्छ सेवाग्राहीले । यहीँबाट थाहा हुन्छ, आफ्नो काम हुने नहुनेबारे । इमर्जेन्सी छ कसैलाई भने पनि यही कक्षका कर्मचारीले कागजात हेरेर सम्बन्धित फाँटमा पुग्ने पास दिन्छन् । तर अरु सरकारी कार्यालयमा जस्तो यहाँ सोधपुछ गर्न त्यति सजिलो भने कहाँ छ र ? एउटा सामान्य कुरा सोध्नकै लागि दुईतीन घण्टासम्म लाइनमा बस्नुपर्ने बाध्यता छ ।
यही बाध्यताले गर्दा निधारबाट पसिना छुट्यो तनहुँका लालबहादुर विश्वकर्माको । एक हातमा हेलमेट, अर्को हातमा कागजात । पिठ्युँमा झोला । निधारभरि पसिना ।
सोधपुछ लाइनको बीचतिर उभिनुभएका लालबहादुरलाई १५ दिनमा मलेसिया जानुछ । तर पासपोर्ट रिन्यु गर्नको लागि भरेको अनलाइन आवेदनमा भने एक महिनाभन्दा पनि पछिको म्याद छ । यस्तो अवस्थामा के गर्ने भनेर बुझ्नकै लागि उहाँ यो लाइनमा उभिनुभएको हो ।
‘हेर्नुस् न हाम्रो देशको हालत, अब मैले के गर्ने भनेर सोध्नकै लागि बाहिर भित्र गरेर तीन घण्टा लाइन लाग्नुपरेको छ’, मुखको मास्क तल सार्दै लालबहादुर ठूलो स्वरले बोल्नुभयो ‘न गरिखान देशमै रोजगारी दिने, न त विदेश जान्छु भन्दा पनि सजिलै राहदानी दिने ?’
लालबहादुरको प्रश्न र आक्रोश लाइनमा उभिएका सबैले सुने । लाइन व्यवस्थित गर्न लागेका प्रहरीले पुलुक्क हेरे । केही बोलेनन् ।
यस्तै यस्तै समस्या लिएर सेवाग्राहीहरु सोधपुछकै लागि घण्टौ उभिन्छन् । कसैको त उभिएअनुसार काम बन्छ पनि । तर कोही कर्मचारीको ‘हुँदैन’ भन्ने जवाफ लिएरै लुरुलुरु घर फर्किन्छन् । कोही भने काम बन्ला भन्ने आशामै त्यहीँ वरपर रुँगेर बस्छन् ।
.......
सोधपुछ कक्षबाट बायाँतर्फ भित्र छिरेपछि देखिन्छ अर्को लामो लाइन । यो लाइन सोधपुछको लाइनभन्दा अझै धेरै अस्तव्यस्त छ, ठेलामठेल छ । यहाँ पनि प्रहरीको पहरा भइराख्छ । अनलाइन फारम भरिसकेपछि बोलाएको दिन कागजात रुजु गर्ने, राजश्व बुझाउने, बायोमेट्रिक गर्नेहरुको लागि हो यो लाइन ।
यो लाइनमा लागेकाहरु कोही पासपोर्ट नवीकरण गर्न त कोही आफूले चाँडो राहदानी पाउँ भनेर प्रक्रिया गरेकाहरु छन् । कसैको केही मिलेन, त्रुटी सच्याउनुपर्यो आदि इत्यादि समस्या भएकाहरु पनि सोधपुछ कक्षबाट जानकारी लिएर थप प्रक्रियाको लागि यही लाइनमा मिसिन्छन् । सिँढीभरि सेवाग्राही खचाखच छन् । सिँढी छेउको रेलिङमा अडेस लाएर उभिइरहनुभएकी काठमाण्डौ बालाजूकी रेश्मा कार्की निकै थकित देखिनुहुन्छ । हातको ‘माइ क्लियर ब्याग’ले घाम छेकिरहनुभएको छ ।
थाक्नुभयो ?
‘थाकेँ नि, दुई घण्टादेखि लाइनमा लागेको छु, थाक्दैनन् त’ अलिकता हाँसो अलिकता निराशा मिश्रित भावमा उहाँले भन्नुभयो, ‘टिफिन टाइम सुरु भयो, फेरि कतिबेला सम्म लाइनमा बस्नुपर्ने हो ? आज पनि फर्किनुपर्छै क्या हो ।’
रेश्मा अघिल्लो दिन आएर पनि केही काम नबनेर फर्किनुभएको रहेछ । उहाँका अनुसार कागजातमा भएको सानो त्रुटी सच्याउनमै पुरै एक दिन बित्यो । विदेशमा अध्ययन गरेर रेश्मा केही वर्ष पहिले नेपाल फर्किनुभएको थियो । अहिले फेरि थप अध्ययनको लागि विदेश जानलाग्दा पासपोर्टको म्याद छ महिना मात्र छ । त्यही म्याद बढाउनको लागि विभाग धाएको तेस्रो दिन हो यो रेश्माको ।
बिहानैदेखि भोकभोकै लाइनमा उभिरहँदा शरीर थाकेको छ । बिस्तारै सानो स्वरमा भन्नुभयो, ‘न सबै काम अनलाइनबाटै गरौँ भन्न हुने, न यतै आए सजिलै काम हुने, म त वाक्क भइसकेँ ।’
लाइनमा लागेकाहरु कर्मचारीको टिफिन टाइमसम्म तालुमा हात राखेर, रेलिङमा अडेस लाएर यसरी नै उभिरहनेछन् । त्यतिन्जेल गेट नम्बर तीनको सिधा अगाडि विभागकै परिसरभित्र सानो चौरतिर लागौँ ।
........
केही सेवाग्राही यहाँ पर्खालको छायामा बसेर घाम छलिरहेका देखिन्छन् । यहाँ विविध समस्या भएका सेवाग्राही छन् । कसैलाई आफ्नो समस्या के हो भन्ने पनि थाहा छैन । बुढानीलकण्ठबाट प्रिती बिक दुई दिन पहिले आफ्नो दाइले भरिदिएको अनलाइन आवेदन बोकेर त्यहाँ आउनुभएको छ । एक महिनापछि पालो छ भन्ने पनि उहाँलाई थाहा थिएन । सोधपुछको लाइन देखेरै ‘एकपटक गएर सोधौँ न’ भन्ने उहाँलाई जाँगर नै चलेन ।
पछिल्लो समय विभागले अत्यावश्यक बाहेक अरुलाई राहदानी पाउन एक महिना कुर्नुपर्ने नियम लागू गरेको छ । जुन नियमबारे अझै कतिपयलाई थाहा छैन । काठमाण्डौभित्रैबाट विभाग पुग्नेहरुलाई त केही भएन । तर चाँडै पासपोर्ट बन्ने आशामा देशका विभिन्न जिल्लाबाट काठमाण्डौमै आउनेहरु धेरै छन् । यतै म्यानपावर तथा कन्सल्टेन्सीको काम अघि बढाउने र पासपोर्ट बनाएर वैदेशिक रोजगारी वा अध्ययन भिसामा विदेश जाने सोच हुन्छ धेरैको ।
सप्तरीबाट आउनुभएका निरजकुमार चौधरी पनि तीन हप्तादेखि पासपोर्ट पर्खेर बसिरहनुभएको छ । चाँडै पासपोर्ट हात लागे म्यानपावरको काम पनि अघि बढ्ने भएपछि उहाँ नियमित पासपोर्ट प्रक्रियालाई इमर्जेन्सीमा गर्नको लागि विभाग धाइरहनुहुन्छ । तर काम बन्दैन ।
‘म्यानपावरले पनि राम्रो कामको माग आएको छ, पासपोर्ट बनेपछि मात्रै भिसाको प्रक्रिया हुन्छ भनिदियो’ उहाँको गुनासो छ, ‘राजधानीमै आयो भने पहिलेको जस्तै चाँडै काम हुन्छ भनेर आएको हो, तर दुई हप्ता भइसक्यो काम बनेको छैन, कहाँ बस्ने के खाने समस्या भएको छ ।’
निरजकुमारको जस्तै समस्या भएकाहरु धेरै भेटिन्छन् । यस्ता समस्यालाई विभागले आजकाल ‘नजरअन्दाज’ गर्छ ।
नयाँ पासपोर्ट बनाउन, नवीकरण गर्न मात्र होइन म्याद थप गर्न पनि महिना दिन नै कुर्नुपर्छ सेवाग्राहीले । उता म्यानपावर कम्पनीले विदेश जानको लागि २० महिनाभन्दा बढी म्याद भएको पासपोर्ट माग्छन् । यता विभागले भने एक वर्षभन्दा बढीको म्याद भएको पासपोर्टलाई नवीकरण नै गरिदिँदैन । यो समस्या वैदेशिक रोजगारीको लागि मलेसिया जान खोज्नेहरुले बढी नै खेपिरहेका छन् । यस्तै हैरानी खेप्नुपर्यो सुर्खेतका जीवन शाहीले पनि । उहाँको पासपोर्टको म्याद १८ महिना बाँकी छ । तर पनि कुनै म्यानपावरले लिन मान्दैन । अब के गर्ने भनेर बुझ्न उहाँ पनि लामो समय सोधपुछको लाइनमा लाग्नुभयो । त्यहाँ उभिँदाउभिँदै थाकेपछि, लाइनको अघिपछि लागेकाहरुलाई भनेर खुट्टालाई आराम दिन उहाँ चौरमा बस्नुभयो ।
‘रिन्युको लागि आवेदन दिएको थिएँ, कागजात रुजु गर्ने ठाउँमा त १८ महिना छँदै रहेछ, हुँदैन भन्नुभयो, सोधपुछमा गएर बुझ्नुस भनेपछि म यहाँ लागेको ।’
विभागको सर्भर डाउन हुँदा टिकट रद्ध गर्न हिँडेका शिरोमणि, सोधपुछको लागि घण्टौ लाइनमा लागेका लालबहादुर, पासपोर्ट रिन्युको लागि लाइनमा लाग्दालाग्दै थाक्नुभएकी रेश्मा, पासपोर्टको म्याद बढाउन आउनुभएका जीवन र चाँडो काम हुने आशामा काठमाण्डौ आउनुभएका सप्तरीका निरजकुमारका व्यथा अरु धेरैका पनि साझा हुन् । यी व्यथाबारे सम्बन्धित निकाय अर्थात् विभागका अधिकारी के भन्छन् त ?
विभागको भव्य भवनको तेस्रो तलामा छ, राहदानी विभागका प्रवक्ताको कक्ष । तर त्यो भवनभित्रै छिर्न सजिलो छैन । पत्रकार हो भन्दा पनि भित्र पठाउन नमानेपछि निर्देशक तथा प्रवक्ता दुरपदा सापकोटासँग फोनमा कुरा गर्न लगाएर भित्र पसियो ।
कुराकानीको क्रममा उहाँले भन्नुभयो, ‘तपाईंले पहिलेको भन्दा अहिले निकै भिड घटेको देख्नुभयो होला ?’
‘तुलनात्मक रुपमा घटेको छ, तर पनि भिड अझै छ ?, सेवाग्राहीका दुःख पनि उस्तै सुनिए ।’
उहाँले भन्नुभयो, ‘एक त तपाईं आज सर्भर डाउन भएकै दिन आउनुभयो, नत्र अरु दिन यस्तो समस्या हुँदैन थ्यो, अर्को त त्यहाँ देख्नुभएको भिडमध्ये धेरै नबुझेरै आएका हुन् ।’
उहाँका अनुसार फोनबाट सोधेर हुने कुरा तथा विभागको वेबसाइटमै गएर बुझ्न सकिने कामको लागि पनि विभागमै आउने प्रवृत्तिले गर्दा भिड बढेको हो । तर पनि त्यसरी आएकाहरुलाई विभागले जानकारी गराउनुपर्नेमा जनशक्ति कम हुँदा सोधपुछमा समस्या भएको उहाँको भनाइ छ ।
विभागमा अत्याधिक भिड हुन थालेपछि केही महिना पहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विभागमा राहदानी लिनेहरूको भीडबारे अध्ययन गर्न टोली नै गठन गर्यो । त्यो टोलीले अत्यावश्यक र जरूरी परेको अवस्थामा बाहेक विभागबाट राहदानी वितरण नगर्न सुझाव दिएको थियो । नियमित प्रक्रियाबाट राहदानी लिन खोज्नेहरूका लागि सम्बन्धित जिल्ला र इलाका प्रशासन कार्यालयमै फारम भर्ने व्यवस्था गर्न टोलीले सुझाव दिएको थियो ।
त्यही अनुसार भीड नियन्त्रण गर्न भन्दै गएको माघ १७ गतेदेखि विभागले एक महिनासम्म अवधिको अनलाइन टोकन खुला गर्न थालेको छ । यसले गर्दा पनि भिड घटेको बताउनुहुन्छ, प्रवक्ता दुरपदा सापकोटा ।
उहाँ भन्नुुहुन्छ, ‘पहिले विभागमै गए चाँडै पासपोर्ट बन्छ भनेर जिल्लाबाट यहाँ आउने धेरै थिए र भिड बढेको थियो, अहिले अत्यावश्यकबाहेक विभागले पनि एक महिनापछि मात्र पासपोर्ट दिन थालेपछि जिल्लाबाटै बनाउने बढेका छन्, त्यसले गर्दा यहाँको भिड घटेको छ ।’
विभागले अहिले दैनिक १५ सय जति नियमित टोकन खुला गर्छ । त्यस्तै दैनिक तीन सयसम्म इमर्जेन्सीको लागि भनेर छुट्याउँछ । अहिले विभागले भोगिरहेको मुख्य समस्या इमर्जेन्सी नै हो । भिसा तथा अन्य प्रमाण हेरेर विभागका कर्मचारीले इमर्जेन्सी हो वा होइन भनेर छुट्याउँछन् । आफूलाई इमर्जेन्सी छ भनेर प्रमाणीत गर्नमै सेवाग्राही थाक्छन् । एउटै कागजात ढोकाढोकामा पुगेर रुजु गर्न र लामो लाइन लाग्न बाध्य हुन्छन् । यसरी इमर्जेन्सीको लागि आउनेहरुको लागि उनीहरुको कागजात हेरेर, कर्मचारीले आफ्नो विवेकले नै अनुमति दिन्छन् । सोधपुछमा खटिएका कर्मचारीले इमर्जेन्सीमा जान पास दियो भने काम हुन्छ, नत्र हुँदैन । यो कानुनी कुरा पनि भएकाले तत्काल यसलाई द्रुत बनाउने अन्य कुनै विकल्प नभएको विभाग बताउँछ । यही ‘ग्याप’ले नै ‘आफ्नो मान्छे’ को काम तत्कालै हुने, चिनजान नभए दौडधुप र लामो लाइन खेप्नुपर्ने गुनासो सेवाग्राही गर्छन् । तर विभागका कर्मचारी भने तत्कालै पासपोर्ट लिन सेवाग्राहीहरु इमर्जेन्सीको बहाना बनाउने गरेको बताउँछन् । यसले गर्दा पनि अनावश्यक भिड हुने गरेको उनीहरुको भनाइ छ ।
यस्तै, एक दिन सर्भरमा समस्या देखिए यसको असर सेवाप्रवाहमा पछि केहीदिनसम्म रहन्छ । सर्भर बिग्रिदा अनलाइनबाटै समय लिएर विभाग पुगेकाहरु दिनभर कुरेरै बस्नु पर्ने हुन्छ । विभागलाई पनि कामको भार बढी पर्छ ।
अध्ययन टोलीले अनलाइन फारम भर्ने काम व्यवस्थित बनाउन ‘सर्भरको क्षमता बढाउन’ पनि सुझाव दिएको थियो । त्यसको लागि काम भइरहेको विभागले जनाएको छ ।
प्रवक्ता सापकोटा भन्नुहुन्छ, ‘सर्भरको कारणले समस्या भएको कुरा हामीले बुझेका छौँ, यसलाई अपग्रेड गर्ने प्रयास पनि भइरहेको छ, यो समस्या चाँडै समाधान हुन्छ ।’
यस्तै भिड घटाउनमा सबै नागरिक सचेत हुनुपर्ने उहाँ बताउनुहुन्छ ।
‘विभागमै गए मात्र काम हुन्छ भन्ने नसोच्नुस्, वेबसाइटमा गएर हेरेमा धेरै कुरा थाहा हुन्छ, यस्तै त्यहाँ दिएको नम्बरमा फोन गर्नुभयो भने पनि हामीले जानकारी दिन्छौँ’, उहाँले थप्नुभयो, ‘इमर्जेन्सी भएका बाहेकले जिल्लाबाटै बनाउनुस् अथवा हतार नगरेर एक महिनाको समय कुर्नुहोस् । यसले धेरै समस्या समाधान हुन्छ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ।