कानुनी व्यवस्थाअनुसार महिलालाई मुख्य पदमा लैजान अझै कठिनाइ छ : सभामुख घिमिरे

 फागुन २३, २०७९ मंगलबार १२:५८:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - सभामुख देवराज घिमिरेले कानुनी व्यवस्थाअनुसार महिलालाई मुख्य पदमा लैजान अझै व्यवहारिक कठिनाइ रहेको बताउनुभएको छ । 

मंगलवार ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले काठमाण्डाैमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण आज ठूलो सङ्ख्यामा महिला प्रतिनिधिहरु नियम कानुन बनाउने तहसम्म प्रतिनिधित्व गरिरहेको भए पनि अझै पनि मुख्य पदमा महिला र पुरुषलाई कानुनी व्यवस्थाअनुसार कार्यान्वयन हुन भने कठिनाइ देखिएको बताउनु भयो । सभामुख घिमिरेले अझै आवश्यक मात्रामा मुख्य पदहरुमा ३३ प्रतिशतको महिलाको सङ्ख्या र गुण पुर्‍याउन नसकेको बताउनु भयो।

उहाँले भन्नुभयो, ‘अहिलेको हाम्रो व्यवहारमा हामी मुख्य पदमा महिला र पुरुषलाई कानुनी व्यवस्था नै गरेर मात्रै प्रयोग गर्दा त्यसलाई ठिक ढङ्गबाट प्रयोग गर्ने व्यवहारिक कठिनाइ दखापरेका छन् । ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने संवैधानिक व्यवस्थाको कारणले गर्दा आज ठूलो सङ्ख्यामा महिला प्रतिनिधिहरु नियम कानुन बनाउने तहसम्म प्रतिनिधित्व गर्नुभएको छ । तथापि अझै आवश्यक मात्रामा ३३ प्रतिशतको सङ्ख्या र गुण पुर्‍याउन नसकेको परिस्थितिलाई उदाहरणको रुपमा फेकोफनले काम गरिरहेको छ ।’

सभामुख घिमिरेले आर्थिक उन्नतिको लागि प्राकृतिक श्रोत, त्यसमा पनि वनको दिगो व्यवस्थापनका बारेमा सोच्न जरुरी रहेको बताउनु भयो । उहाँले प्राकृतिक श्रोतलाई संरक्षण र संबर्द्धन गर्दै समाज उपयोगी ढङ्गबाट आर्थिक उपार्जनको क्षेत्रमा कसरी सदुपयोग गर्ने भन्नेकुरालाई विशेष जोड दिन आग्रह गर्नुभयो । उहाँले वनलाई समाप्त गर्ने खालका घटनाहरु विभिन्न स्थानमा भइरहेको उल्लेख गर्दै वनको संरक्षणसँग बाझिएका ऐनहरु, ऐनको अभावमा नभएका पक्षहरु, ऐन बनाउनुपर्ने कारण र ऐनले भनेका कुरा व्यवहारमा कसरी लागू गर्ने भन्ने बारेमा सोच्न जरुरी रहेको बताउनु भयो । सभामुख घिमिरेले वातावरणमा आइरहेको प्रतिकुल परिवर्तनलाई कसरी न्यूनीकरण गर्नसकिन्छ भन्ने बारेमा पनि सरोकारवाला निकायहरुले ध्यान दिनुपर्ने बताउनु भयो । 

त्यस्तै सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालकी अध्यक्ष भारती पाठकले क्रमिक रुपमा हरेक क्षेत्रमा महिला सहभागिता बढ्दै गए पनि पर्याप्त हुन नसकेको बताउनु भयो । उहाँले आर्थिक रुपमा अझै पनि महिलालाई सशक्त बनाउन नसकिएको भन्दै महिलाहरुलाई सुरक्षित बनाउनुपर्ने बताउनु भयो । 

उहाँले प्राकृतिक श्रोत जोगाउने स्थानीय जनताको प्रमुख भुमिका नहुन्जेल र स्थानीयलाई प्राकृतिक श्रोतका मालिकका रुपमा अस्वीकार गरुन्जेलसम्म प्राकृतिक श्रोतको संरक्षण नहुने जिकिर गर्नुभयो । मंगलवार ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले काठमाण्डाैमा आयोजना गरेको कार्यक्रम सामुदायिक वन उपभोक्ता महासङ्घमा रहेर विभिन्न कालखण्डमा काम गर्नुभएका र प्रदेश तथा प्रतिनिधि सभामा निर्वाचित सांसदहरुलाई सम्मान गरिएको थियो । 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया