कांग्रेसले भन्यो– ‘द्वन्द्वकालीन मुद्दा सङ्क्रमणकालीन न्याय पद्धतिबाटै सम्बोधन हुन्छ भन्ने सर्वोच्चलाई राम्ररी थाहा छ’

 फागुन २३, २०७९ मंगलबार १७:२:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेपाली कांग्रेसले द्वन्द्वकालीन मुद्दा सर्वोच्च अदालतले नभई सङ्क्रमणकालीन न्याय पद्धतिबाट सल्टाउनुपर्ने बताएको छ । कांग्रेसका संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले द्वन्द्वकालीन मुद्दा समाधान गर्ने विषय कुनै एक दलको मात्रै नभएर सिङ्गो राज्यको दायित्व रहेको भन्दै यस्ता मुद्दालाई अदालतका नियमित इजलासले नभई सङ्क्रमणकालीन न्याय संयन्त्रबाट सल्टाउनुपर्ने बताउनुभएको हो ।

लेखकले भन्नुभयो, ‘द्वन्द्वकालीन मुद्दाको समाधान सामान्य फौजदारी न्याय सम्पादनबाट नभएर सङ्क्रमणकालीन न्याय पद्धतिबाट हुन्छ भन्ने कुरा सर्वोच्च अदालतलाई पनि राम्ररी थाहा छ । यसबारे पहिले नै फैसला पनि आइसकेको छ । यस्ता मुद्दामा सामान्य फौजदारी कानुन आकर्षित हुँदैन । सङ्क्रमणकालीन न्याय पद्धतिबाटै सम्बोधन हुन्छ भन्ने सर्वोच्चलाई राम्ररी थाहा छ।’ 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध परेको रिटको सन्दर्भलाई लक्षित गर्दै लेखकले यो कुनै एउटा दल र व्यक्तिको मात्रै मुद्दा नभएर सिङ्गो राज्यको मुद्धा भएको र सबै मिलेर समस्याको समाधान गर्नुपर्ने उल्लेख गर्नुभयो । द्वन्द्वकालीन मुद्दालाई सामान्य फौजदारी न्याय सम्पादनबाट समाधान नगरेर सङ्क्रमणकालीन न्याय पद्धतिबाटै समाधान गर्नुपर्ने कुरा सर्वोच्च अदालतले पनि राम्ररी बुझेकोमा आफूलाई विश्वास रहेको उहाँले बताउनुभएको छ ।

सशस्त्र युद्धको क्रममा मारिएका १७ हजार जनामध्ये पाँच हजार जनाको जिम्मा आफूले लिने अभिव्यक्ति दिएकै कारण प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्ध सर्वोच्चमा दायर गरिएको रिट दर्ता भएको छ । मुद्दाको पेसी पर्सि बिहीवारलाई तोकिएको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिनुभयो । अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीलगायतले प्रचण्डविरुद्ध मङ्गलवार रिट हाल्नुभएको थियो ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया