दलहरू ठिक ढङ्गले नचल्ने अनि संविधान, कानुन र व्यवस्थालाई दाेष थोपरेर उम्किन खाेज्ने ? : अध्यक्ष तिमिल्सिना

 फागुन २४, २०७९ बुधबार १४:५२:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान प्रयोगको गलत अभ्यासले संसद् र सरकारले प्रभावकारी काम गर्न नसकेको बताउनुभएको छ । बुधवार पारिवारिक निजी वन सङ्घ नेपालको नवाैँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

अध्यक्ष तिमिल्सिनाले दलहरू आफू ठिक ढङ्गले नचल्ने तर दोष संविधान, कानुन र व्यवस्थालाई थोपरेर उम्कन नमिल्ने टिप्पणी गर्नुभयाे । सरकार अप्ठेराेमा पर्दा संसद् विघटन गर्ने कुरा संसारभरको अभ्यास भएकाले नौलो मान्नु नपर्ने उहाँले बताउनुभयो । उहाँले नेपालमा विगतमा पटक–पटक संविधान विघटन भएकाले संविधानमै विघटन नै नगर्ने कुरा उल्लेख हुँदा संसदबारे अहिले विरोधाभाष भइरहेको उल्लेख गर्नुभयाे । उहाँले सरकार सञ्चालन गर्नेहरूले ढङ्ग पुर्‍याएर संसद् चलाउन नसक्ने तर कागजलाई दोष दिएर उम्किन खाजेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालमा हामी राजनीति गर्नेहरूले पनि बारम्बार ऐन, कानुन, संविधान बनाउँदा पनि एउटा अतिमा जान्छौँ । ठिकै ढङ्गले जाँदा कहीँ केही भयो भने सरकारले संसद् विघटन गर्ने दुनियाँको जहाँको पनि अभ्यास हो । नेपालमा पनि त्यो भइरहेको थियो । संविधान बनाउँदा के भयो भने नेपालमा पटक–पटक संसद् विघटन भयो भनेर विघटन नै नगर्ने बनाऔँ भनेर लेख्दा अहिले लफडा भइरहेको छ । हाम्रो चलाउने ढङ्ग नहुने अनि दोष प्रणालीलाई दिने । आफूले ढङ्ग पुर्‍याएर चलाउन नसक्ने अनि कागजतमा दोष दिएर कहीँ चल्छ ।’

अध्यक्ष तिमिल्सिनाले सरकारले केही गर्न नसकेपछि संसद् विघटन गरेर चुनावमा जाने कुरा गर्दा भागबन्डा गर्ने, पार्टी फुटाउने, पार्टी फुटाउन अध्यादेश ल्याउने, मन्त्री बाँड्ने र नागरिकमा जाने कुरालाई बेवास्ता गर्ने गरेको बताउनुभयो । उहाँले राजनीतिक दलहरूले आफ्नो बानी सुधार नगरेसम्म परिवर्तनको नारा लिएरमात्रै कतै नपुग्ने दाबी गर्नुभयो । 

अध्यक्ष तिमिल्सिनाले नेपालमा समस्या परेको बेलामा सहजीकरण गर्ने नभई झनै अल्झाएर राख्ने परिपाटी हाबी हुँदै गएको बताउनुभयो । उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र आइसक्दासमेत सुशासन दिन नसकेको बताउनुभयो । उहाँले देशको परिवर्तन भाषणामा मात्रै सीमित भएको उल्लेख गर्दै देशको सामान्य नागरिकले अझै सुशासनको अनुभूति गर्न नसकेको दाबी गर्नुभयो । उहाँले नहुने मानिसहरूका लागि गणतन्त्रले केही दिन सक्नुपर्ने उल्लेख गर्नुभयो । 

कार्यक्रममा बाेल्दै अध्यक्ष तिमिल्सिनाले वन पैदावरको संरक्षण गर्ने कुरामा सबै राजनीतिक दल, स्थानीयहरूको भूमिका महच्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले नेपालमा बोल्ने नेताहरू धेरै भएको तर त्यसलाई व्यवहारमा उतार्न सक्ने कमै रहेको टिप्पणी गर्नुभयाे । उहाँले अबका दिनमा नेताहरूले जे बोलेको छ त्यसलाई कार्यान्वयन गर्ने अभियान सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले वन ऐनसँग बाझिने गरी नियमावली कुनै आएको छ भने बुँदागतरूपमा राष्ट्रिय सभामा पेस गरे एक महिनाभित्र सरकारलाई बाझिने विषयवस्तु हटाउन निर्देशन दिन लगाउने कुरामा आफूले सहयोग गर्ने बताउनुभयो । 

कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले सामुदायिक वनमाथि पालिका, प्रदेश र सङ्घीय सरकार गरी तेहाेरो कर लगाइरहेको आरोप लगाए । वन व्यवस्थापन र उपभोक्ताहरू तेहाेरो करको मारमा परेको उल्लेख गर्दै उनीहरूले घाँसमा कर लगाएर राज्य धनी हुन्छ भन्ने मानसिकताबाट मुक्त हुनुपर्नेमा जोड दिए ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया