उच्च पहाडी र हिमाली भेगका केही ठाउँमा हल्का हिमपातको सम्भावना
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै - उपराष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म संसद् भवनको लोत्से हलमा मतदान हुनेछ । उपराष्ट्रपतिका पदका लागि तीन जना प्रतिस्पर्धामा हुनुहुन्छ ।
सत्तागठबन्धनबाट जनता समाजवादी पार्टी जसपाका रामसहायप्रसाद यादव, एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमत पार्टीका ममता झाबीच प्रतिस्पर्धा हुनेछ । जसपाकै उम्मेदवार प्रमिलाकुमारीले उम्मेदवारी निष्क्रिय पार्नुभएको छ । मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिनुभयो ।
मतदानमा सङ्घीय संसद्का सदस्य र प्रदेश सभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र तय गरिएको छ । उपराष्ट्रपति चुनावमा सङ्घीय संसद्का सदस्यले रातो मसी र प्रदेश सभा सदस्यले मतदान गर्ने प्रयोजनका लागि हरियो मसीले मतपत्र छपाइ गरिएको छ ।
मतदाताले मतपत्रमा उम्मेदवारको तस्बिर र नाम अङ्कित रहेको कोठामा स्वस्तिक छाप लगाएर मतसङ्केत गर्नुपर्नेछ । सङ्घीय संसद् सदस्यको मतभार ७९ र प्रदेश सभा सदस्यको मतभार ४८ कायम रहेको छ । सङ्घीय संसद्का तीन सय ३२ र प्रदेश सभाका पाँच सय ५० सांसद मतदाता रहेका छन् ।
समग्र मतभार ५२ हजार ६ सय २८ रहेको छ । उम्मेदवार निर्वाचित हुन कुल मतको ५० प्रतिशतभन्दा धेरै प्राप्त गर्नुपर्छ । निर्वाचित हुन २६ हजार ३ सय १५ मत कटाउनुपर्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । आठदलीय गठबन्धनमा ३२ हजार २ सय ६७ मत छ । एमालेकी शाक्यसँग १५ हजार ३ सय ९१ मत छ ।
मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु हुने र बेलुकासम्म मत परिणाम आइसक्ने सहायक निर्वाचन अधिकृत शर्माले जानकारी दिनुभयो । राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट गरिने कार्य उपराष्ट्रपतिबाट सम्पादन गरिने संवैधानिक व्यवस्था छ ।
उपराष्ट्रपति मर्यादाका हिसाबले दोस्रो माथिल्लो पद हो । उपराष्ट्रपतिको पदावधि पाँच वर्षको हुनेछ । उपराष्ट्रपति पदका लागि याे तेस्रो चुनाव हुन लागेको हो । उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल आज सकिँदैछ । उहाँ हिजो नै निजी निवास चन्द्रागिरि नगरपालिका–१ दहचोक सर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।