उच्च पहाडी र हिमाली भेगका केही ठाउँमा हल्का हिमपातको सम्भावना
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले नेपालमा आणविक कानुनको आवश्यकता रहेको बताउनुभएको छ । मङ्गलवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा भएको आणविक कानुनको सम्बन्धमा सचेतना बैठक तथा राष्ट्रिय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उपसभामुख रानाले नेपालमा आणविक कानुनको आवश्यकता रहेको बताउनुभएको हो ।
उहाँले नेपाल शान्तिको देश भएको र नेपालीले शान्ति चाहने भन्दै छिमेकी देशहरूले आणविक शक्ति प्रयोग गर्दा पर्ने असरहरूको क्षतिपूर्ति उनीहरूले दिनुपर्ने बताउनुभयो । उहाँले नेपाल दुई ठूला देशको बीचमा रहेकाले आणविक रूपमा नेपाललाई खतरा रहेको पनि उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘नेपाल शान्तिको देश हो । हामी शान्ति चाहन्छौँ । हामीलाई आणविक कानुनको आवश्यकता रहेको छ । छिमेकीहरूले आणविक प्रयोग गरेर केही भयो भने तिनीहरूले क्षतिपूर्ति दिनुपर्छ । दुई ठूला देशको बीचमा भएकाले हामीलाई अवश्य पनि खतरा छ ।’
उपसभामुख रानाले जलवायु परिवर्तनका कारण नेपालले धेरै असरहरू खेप्नुपरेको गुनासाे गर्नुभयाे । उब्जनी नहुने तथा पानीका मूलहरू सुक्ने समस्याका कारण बसाइँ सर्नुपर्ने अवस्थासमेत आउन थालेको उहाँले बताउनुभयो ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले नेपालले आणविक कानुन बनाउँदा देशको परराष्ट्र सम्बन्ध र नीतिहरूलाई ध्यान दिएर बनाउनुपर्ने बताउनुभयो । उहाँले पञ्चशीलको सिद्धान्त, असंलग्न परराष्ट्र नीति लगायतका परराष्ट्र सम्बन्धका मुख्य अंशहरूलाई ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाल कुनै पनि प्रकारको युद्धमा सहभागी नहुने र कुनै पनि युद्धलाई सहयोगसमेत नगर्ने स्पष्ट पार्नुभयो ।
प्रतिनिधि सभा सदस्य भट्टराईले नेपाल दुई ठूला छिमेकी देश चीन र भारतको बीचमा रहेको भन्दै कानुन बनाउँदा ठूला देशको बीचमा हुदाँको फाइदा र अफ्ठ्याराहरूका बारेमा पनि विचार गर्नुपर्ने बताउनुभयो । भूराजनीतिक अवस्थालाई पनि हेर्नुपर्ने उहाँकाे भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।