नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
ताइवानका राष्ट्रपति साई इङ वेनले संयुक्त राज्य अमेरिका भ्रमणका क्रममा त्यहाँको प्रतिनिधि सभाका सभामुखलाई भेटेमा चीनले त्यसविरुद्ध लड्ने चेतावनी दिएको छ ।
राष्ट्रपति साई आफ्ना सहयोगीहरूसँगको कुटनीतिक सम्बन्ध सुदृढ तुल्याउने उद्देश्यका साथ ग्वाटेमाला र बेलिजको भ्रमणका क्रममा आज बुधवार अमेरिकातर्फ प्रस्थान गर्नुभएको छ । भ्रमणका क्रममा अमेरिकामा रहँदा उहाँले प्रतिनिधि सभाका सभामुख केभिन म्याकार्थीलाई भेट्ने बताउनुभएको थियो ।
चीनले स्वायत्त टापु ताइवानलाई आवश्यक परे बल प्रयोग गरेर मुख्यभूमिमा विलय गर्नसक्ने चेतावनी दिँदै आएको छ भने राष्ट्रको ‘एक चीन’ सिद्धान्तअनुसार कुनै पनि देशले चीन र ताइवान दुवैसँग आधिकारिक कुटनीतिक सम्बन्ध कायम गर्न नसक्ने बताउँदै आएको छ ।
राष्ट्रपति साई सभामुख म्याकार्थीबीचको कुनै पनि बैठक आफूलाई अमान्य हुने उल्लेख गर्दै बेइजिङले यदि उहाँले भेटवार्ता गरेमा त्यसविरुद्ध लड्न दृढ उपाय अवलम्बन गर्ने चेतावनी दिएको छ । राष्ट्रपति साईले अमेरिकी सभामुखलाई भेटेमा त्यो अर्को उक्साहट हुने तथा त्यसबाट एक चीन नीतिको गम्भीर उल्लङ्घन हुने ताइवान मामिला कार्यालयका प्रवक्ता झु फेङ्लियनले बताउनुभएकाे छ । उहाँले चीनको सार्वभौमसत्ता र अखण्डतालाई कमजोर बनाउने कुनै पनि गतिविधि सह्य नहुने बताउनुभएकाे छ ।
राष्ट्रपति साईको यो भ्रमण ताइवानसँगको ८० वर्ष पुरानो कुटनीतिक सम्बन्ध तोडेर होन्डुरसले बेइजिङसँग सम्बन्ध कायम गरेपछि हुँदैछ । होन्डुरस बाहिरिएपछि ताइवानलाई औपचारिक मान्यता दिएका देशको सङ्ख्या १३ देशमा झरेको छ ।
होन्डुरसका विदेश मन्त्री एडुआर्डो रेनाले देशको आर्थिक आवश्यकता तथा ताइवानले आर्थिक सहायता बढाउन अस्वीकार गरेपछि चीनसँग कुटनीतिक सम्बन्ध स्थापना गर्ने निर्णयमा सरकार पुगेको बताउनुभएको थियो । ताइवानले वार्षिकरूपमा प्रदान गर्दै आएको पाँच करोड डलर अनुदानलाई एक वर्ष १० करोड गर्न तथा तिर्न बाँकी रहेको ६० करोड डलर सहुलियत ऋण पुनःसंरचनाका निम्ति गरेको आग्रहप्रति पनि सकारात्मक जवाफ नदिएको उहाँले बताउनुभएको थियो ।
बाह्य दबाबले विश्वका विभिन्न देशसँग सम्बन्ध कायम गर्ने ताइवानको सङ्कल्पमा कुनै बाधा नहुने राष्ट्रपति साईले अमेरिका प्रस्थान गर्नुअघि विमानस्थलमा पत्रकारहरूलाई बताउनुभयो । उहँले आफू शान्त रहने, कसैसँग नझुक्ने र कसैलाई नउक्साउने पनि बताउनुभयो ।
न्युयोर्कको भ्रमणपछि राष्ट्रपतिको साईले ग्वाटेमालाका राष्ट्रपति अलेजान्ड्रो गियामाटेई र बेलीजका प्रधानमन्त्री जोन बिसेनोलाई उहाँहरूकै देशमा भेट्ने कार्यक्रम रहेको राष्ट्रपतिको साईको कार्यालयले जनाएको छ । स्वदेश फर्कने क्रममा उहाँ लस एन्जलसमा केही समय बस्नुहुनेछ ।
सभामुख म्याकार्थीले पनि क्यालिफोर्नियामा राष्ट्रपति साईलाई भेट्ने बताउनुभएको छ । गएकाे वर्ष पूर्वसभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेर राष्ट्रपति साईलाई भेटेपछि क्रुद्ध भएको बेइजिङले जनमुक्ति सेनालाई ताइवान टापु वरपर उतारेर अभूतपूर्व अभ्यास गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।