उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
म्याग्दी – पर्यटक भन्नेबित्तिकै हामीले गोरा अनुहार भएका विदेशी नागरिकहरुलाई चिन्थ्यौं । पर्यटकीय स्थलको भ्रमण गर्ने विदेशी नै हुन्थे । तर, अहिले नेपालका अधिकांश पर्यटकीय स्थलहरुमा स्वदेशी नागरिकहरु पुग्छन् । विदेशीले भन्दा नेपालीहरुले नै बढी खर्च गर्ने गरेका छन् ।
पछिल्लो समय दसैंतिहार बिदा अथवा अन्य समयको बिदालाई उपयोग गर्नेगरी परिवारको साथमा घुमफिर गर्ने नेपालीहरुमा प्रचलन बढ्दै गैरहेको छ । पर्यटकीय स्थल भ्रमणका लागि अहिलेको समय उपयुक्त मानिन्छ ।
जाडो र गर्मी नहुने भएकाले दसैंतिहार बिदाको समय घुमेर आनन्द लिन सकिन्छ । उच्च वर्गका मानिसहरु विदेशतिर घुम्न निस्कन्छन् भने मध्यम वर्गहरु स्वदेशकै विभिन्न ठाउँमा पुग्ने गरेका छन् ।
म्याग्दी जिल्लामा भ्रमण गरेर मनोरञ्जन लिनका लागि यस्ता थुप्रै ठाउँहरु रहेका छन् । पर्यटकहरुका लागि यहाँका ठाउँहरु घुम्नलायक छन् । धार्मिक तथा पर्यटकीय स्थलहरु बाइसे–चौबीसे राज्यका पालाका राजदरबार, कोत मन्दिर र तातोपानीका कुण्डहरु यहाँ रहेका छन् ।
म्याग्दी उद्योग वाणिज्य संघको अगुवाइमा २०७५ साललाई म्याग्दी भ्रमण वर्षका रुपमा घोषणा गरिएको छ । यो समयमा म्याग्दी घुम्ने पर्यटकीय ठाउँ यस्ता छन् :
धार्मिक, ऐतिहासिक र पर्यटकीय हिसाबले उच्च पहाडी जिल्ला म्याग्दी प्रशस्तै सम्भावना भएको जिल्लाको रुपमा चिनिन्छ । समुन्द्री सतह ७९२ मिटर रत्नेचौरदेखि ८ हजार १६७ मिटरको उचाई भएको अग्लो चुचुरो धौलागिरी हिमालसम्म म्याग्दी जिल्ला फैलिएको छ ।
जलाधार क्षेत्रका हिसाबले म्याग्दी जिल्ला कालीगण्डकी, रहुघाट नदी र म्याग्दी खोलासहित तीन क्षेत्रमा विभाजित रहेको छ ।
संसारका ८ हजार मिटर अग्ला हिमालहरुमध्ये ८ ओटा हिमाल नेपालमा छन् । तीमध्ये म्याग्दी जिल्लामा संसारकै सातौं अग्लो हिमाल धौलागिरी ८,१६७ मिटर र ८,१६४ मिटर अग्लो अन्नपूर्ण हिमाल पर्छ । यसैगरी ६ हजार मिटरभन्दा अग्ला ५१ ओटा हिमालका चुचुराहरु म्याग्दीमा रहेको नेपाल पर्वतारोहण संघले प्रमाणित गरेको छ ।
धौलागिरि, अन्नपूर्णसहित मानापाथी, चुरेन, गूर्जा, निलगिरी, मुना, पुठा, सीता जस्ता हिमालहरु यहाँ छन् । धौलागिरि हिमालमा मात्रै विभिन्न ६ ओटा चुचुराहरु रहेका छन् । म्याग्दी जिल्लाका विभिन्न डाँडाकाँडाहरुबाट मनोरम हिमश्रृङ्खलाको अवलोकन गर्न सकिन्छ ।
सङ्घीय नेपालको राजधानी काठमाडौंदेखि २८५ किमी, गण्डकी प्रदेशको राजधानी पोखराबाट ८० किलोमिटर पश्चिममा म्याग्दी जिल्ला पर्दछ । पूर्वमा पर्वत, उत्तरमा मुस्ताङ र डोल्पा, पश्चिमा रुकुम तथा दक्षिणमा बागलुङ जिल्ला पर्ने म्याग्दीको सदरमुकाम बेनीबजार हो ।
हिमालपारीको जिल्ला मुस्ताङको मुख्य प्रवेशद्वारका रुपमा बेनीबजार रहेको छ । ‘बेनीको बजार, जता माया उतै छ नजर किरेमिरे जाले रुमाल’ बोलको गीतले समेत चर्चित बेनीबजारमा बास बसेर यहाँका थुप्रै ठाउँहरु घुम्न सकिन्छ । बेनीदेखि उत्तर ३ किमीमा प्रसिद्ध गलेश्वर मन्दिर अवस्थित छ ।
सदरमुकाम बेनीबजारको आसपासका क्षेत्रमा बेनी शिवालय, लक्ष्मीनारायण मन्दिर, बुद्ध विहार, महारानीथान लगायतका थुप्रै धार्मिक क्षेत्रहरु छन् । बेनीदेखि नजिकै पर्यटकीयस्थल लभ्लीहिल रहेको छ । बेनीमा अहिले अग्र्यानिक उत्पादनका पसलहरु पनि सञ्चालनमा छन् ।
जिल्लाको उत्तरी क्षेत्र अन्नपूर्ण गाउँपालिमा–६, घारमा पर्ने घोरेपानी र पुनहिल म्याग्दीको प्रमुख पर्यटकीय गन्तव्य हुन् । समुन्द्री सतहदेखि २ हजार ८७४ मिटरको उचाइमा घोरेपानी पर्दछ । घोरेपानीको शिरमा तीनहजार २१० मिटरको उचाइमा पुनहिल पर्छ ।
म्याग्दी सदरमुकाम बेनीबाट सवारीसाधनमार्फत अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर–घार–शिख–चित्रे हुँदै घोरेपानी पुगिन्छ । त्यस्तै कास्कीको नयाँपुल, घान्द्रुक भएर पनि घोरेपानी र पुनहिलमा पुगेर रमाउन सकिन्छ ।
बेलुका घोरेपानीका होटलमा बास बसेर बिहान सबेरै पुनहिल पुगेर सुर्योदय, हिमालको दृश्य अवलोकन गर्न पाइन्छ । पुनहिलबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ«े, निलगिरी, गूर्जा, मानापाथी हिमाललगायत दर्जनभन्दा बढी हिमश्रृङ्खलाहरुको प्रत्यक्ष दृश्यवलोकन गर्न सकिन्छ ।
संसारको सबैभन्दा ठूलो गुराँसे जङ्गल यसै क्षेत्रमा पर्दछ । जहाँ २७ प्रकारका लालीगुराँसहरु पाइन्छन् । खासगरी लालीगुराँस फुल्ने मौसम र चाडवाडको समयमा नेपाली र विदेशीको घोरेपानीमा घुइँचो लाग्ने गर्दछ ।
स्वदेश विदेशका विभिन्न स्थानबाट जाने आन्तरिक र बाह्य पर्यटकहरुको मुख्य रोजाइमा घोरेपानी पर्ने गर्दछ । घोरेपानीमा पछिल्लो समय स्वदेशी पर्यटकको बाहुल्यता बढ्दै जान थालेको पर्यटन व्यवसायीहरुको अनुभव रहेको छ ।
विगत केही समयदेखि यता जिल्लाका पर्यटकीय क्षेत्रहरुमा नेपाली पर्यटकहरुको ओइरो नै लाग्ने गरेको छ ।
अन्नपूर्ण गाउँपालिका–५, शिखको पाउद्धारमा रहेको अर्को प्रसिद्ध धार्मिक तीर्थस्थल हो खयरबराह मन्दिर र खोप्रालेक । खासगरी श्रावण शुक्लपक्ष जनैपूर्णिमामा विशेष मेला लाग्ने यस ठाउँमा मन्दिरको दर्शन गर्न विभिन्न स्थानबाट भक्तजनहरू त्यहाँ पुग्छन् ।
समुद्री सतहबाट चारहजार ८ सय मिटरको उचाइमा अवस्थित प्रसिद्ध खयरबराह मन्दिरमा भाकल गरेमा र वर मागेमा पुरा हुने जनविश्वास रहिआएको छ । म्याग्दीको बेनीदेखि करिब ४ घण्टाको कच्ची मोटरबाटाको यात्रापछि मन्दिरसम्म २ दिनको यात्रा तय गर्नुपर्ने हुन्छ ।
खयर क्षेत्रमा व्यावसायिक रुपमा भेडापालन गरिएको छ । खोप्रालेकमा पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकहरु जाने गरेका छन् ।
संसारकै गहिरो अन्धगल्छी उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानामा पर्दछ । हिमालपारीको जिल्ला मुस्ताङ जाने बेनी–जोमसोम सडकखण्ड अन्तर्गत पर्ने यस अन्धगल्छीमा मुस्ताङ आवतजावत गर्ने पर्यटकहरु पुगेर अवलोकन गर्ने गर्दछन् ।
विश्वमै शालिग्राम पाइने एकमात्र पवित्र कालीगण्डकी नदीले निर्माण गरेको यो अन्धगल्छीको गहिराई ६ हजार ९६७ मिटर रहेको छ । संसारको सातौं अग्लो चुचुरो धौलागिरी र अन्नपूर्ण हिमालको बिचमा अवस्थित यो गल्छी समुन्द्री सतहबाट १ हजार २ सय मिटरको उचाइमा अवस्थित छ ।
पर्यटनका दृष्टिकोणले महत्वपूर्ण मानिने यस गल्छीमा विभिन्न देशका पर्यटकहरु आउने गर्छन् । गल्छीको अवलोकन गर्न दैनिक रुपमा स्वदेशी तथा विदेशी पर्यटकहरु त्यहाँ पुग्ने गरेका छन् ।
यस अन्धगल्छीदेखि केही माथी रहेको मनै लोभ्याउने सुन्दर प्राकृतिक रुप्से छहरा पर्यटकीय दृष्टिकोणले निकै सुन्दर, मनमोहक र आकर्षक छ । यो छहरा समुन्द्री सतहबाट झण्डै १ हजार ८ सय मिटरको उचाइमा रहेको छ ।
यस छहराले हुलाक टिकटमा समेत स्थान पाइसकेको छ । म्याग्दी सदरमुकाम बेनीबजारदेखि ३० किलोमिटर उत्तर पूर्वमा पर्ने रुप्से छहरा तथा अन्धगल्छी पुग्न करिब १ दिनको पैदलयात्रा तय गर्नुपर्छ । प्राकृतिक मनोरम छहराले पर्यटकहरुलाई आकर्षण गर्ने गरेको छ ।
बेनी–जोमसोम सडकखण्ड अन्तर्गत पर्ने अन्धगल्छी र रुप्से झरनामा बेनीबाट सवारीसाधनमार्फत ३ घण्टामा सजिलै पुग्न सकिन्छ । मुस्ताङ जाने पर्यटकहरु सवारी रोकेर यस झरनामा फोटो खिच्छन् ।
पछिल्लो समय पर्यटकीय स्थलको चर्चा बटुलेको स्थानका रुपमा परिचित छ लभ्लीहिल (प्रणय शिखर) । ‘मायालु डाँडा’ अर्थात् लभ्लीहिलका नामले चर्चित पर्यटकीयस्थल लभ्लीहिलमा खासगरी तन्नेरीहरुको भीड लाग्ने गर्दछ ।
म्याग्दी सदरमुकाम बेनीबजारदेखि नजिकमा रहेको पर्यटकीय गन्तव्यको सम्भावना बोकेको लभ्लीहिलमा अहिले दिनहुँजसो सयौंको सङ्ख्यामा पर्यटकको चहलपहल बढेको छ । लभ्लीहिलको डिलबाट सुन्दर र आकर्षक देखिने बेनीबजारलाई पिठ्युमा पारेर फोटो खिच्न मानिसहरु पुग्छन् ।
युवायुवतीका लागि ‘डेटिङ स्पोट’का रुपमा परिचित लभ्लीहिल अहिले विभिन्न जिल्लाबाट म्याग्दीको बेनीबजारमा आउने आन्तरिक पर्यटकका लागि पनि आकर्षक गन्तव्यस्थल बनेको छ । लभ्लीहिलमा रेलिङ, आराम बेन्च र गोलघर बनाएपछि पर्यटक बढेका छन् ।
बेनीदेखि आधा घन्टाको दूरीमा रहेको लभ्लीहिलबाट बेनीबजार, गलेश्वर, पौलस्त्य आश्रम, पुलाचौर, भकिम्लीको स्वर्गाश्रम, पर्वत बेनी र मल्लाज लगायतका क्षेत्रहरु देख्न सकिन्छ ।
यसैगरी म्याग्दी जिल्लाको अधिकांश भू–भागका साथै उत्तरी पर्वतको जलजला गाउँपालिकासहित संसारको सातौं अग्लो चुचुरो धौलागिरि, अन्नपूर्ण हिमाल तथा सूर्योदय र सुर्यास्तको समेत अवलोकन गर्न पाइन्छ । बेनीबजार आसपासका क्षेत्रबाट बग्ने म्याग्दी र कालीगण्डकी नदीको बहावलगायत आकर्षक दृष्यको यस ठाउँबाट अवलोकन गर्न सकिन्छ ।
गाउँको शिर र वरिपरीबाट सप्तरङ्गी डाँडाकाँडाले घेरिएको पर्यटकीयस्थल भकिम्लीको स्वर्गाश्रम म्याग्दीको बेनी नगरपालिका–३, भकिम्लीमा पर्दछ । समुन्द्री सतहदेखि २ हजार पाँचसय मिटरको उचाइमा स्वर्गाश्रम रहेको छ ।
स्वर्गाश्रमबाट धौलागिरि, मानापाथी, निलगिरी, अन्नपूर्ण, माछापुच्छ्रे, गूर्जा, चुरेन, बेहुला–बेहुली नामाकरण गरिएका हिमालहरु देखिन्छन् । यहाँबाट धौलागिरी र अन्नपूर्ण रेन्जका सबै हिमश्रृङ्खलाहरु देखिनुका साथै यस ठाउँबाट डेढ दर्जनबढी हिमालहरुको प्रत्यक्ष अवलोकन गर्न सकिन्छ । स्वर्गाश्रम नजिकै तपस्याका लागि ओढार पनि रहेको छ ।
विभिन्न समयमा ऋषिमुनिहरु र माताहरु आएर तपस्या गर्ने स्वर्गाश्रममा आन्तरिक र बाह्य पर्यटकहरु पुग्ने गरेका छन् ।
बेलको जस्तो आकारको रुपमा रहेको हुँदा भकिम्लीको शिरमा अवस्थित ढुङ्गाको शिलालाई बेलढुङ्गा नामाकरण गरिएको छ । म्याग्दी र छिमेकी जिल्ला बागलुङको सिमानामा पर्ने बेलढुङ्गाबाट बागलुङकै काठेखोला गाउँपालिकाको धम्जा तथा घुम्टेको लेक, गाजाको धुरी र म्याग्दी जिल्लाका अधिकांश भू–भागहरु देखिन्छन् ।
म्याग्दी सदरमुकामदेखि ३ कोष टाढा रहेको भकिम्ली गाउँदेखि १ घण्टाको दुरीमा अवस्थित बेलढुङ्गा पर्यटकहरुका लागि निकै आकर्षक गन्तव्य मानिन्छ ।
म्याग्दीको सदरमुकाम बेनीबजारदेखि सवारीसाधनमार्फत डेढ घण्टा र १ घण्टाको पैदलयात्रा गरेर पुग्न सकिने यस स्थानबाट धौलागिरि, मानापाथी, निलगिरी, अन्नपूर्ण, माछापुच्छ्रे, गूर्जा, चुरेन, बेहुला–बेहुलीसहित दजनौं हिमालका साथै विभिन्न दृश्यहरु निकै सुन्दर, आकर्षक र मनमोहक देखिन्छन् ।
कुखुरापालन र मदिरा निषेधित गाउँका रुपमा चिनिने म्याग्दीको गाजनेमा प्रसिद्ध जगन्नाथ मन्दिर अवस्थित रहेको छ । बेनी नगरपालिका–५, गाजनेमा पर्ने नेपालमै फरक स्वरुपको आजभन्दा ५ सय २५ वर्ष पुरानो जगन्नाथ मन्दिरभित्र जगन्नाथ, डिम्ब महाराज, गणेश, रामलक्ष्मण, कृष्ण, बलराम, नृसिंह, चतुर्बाहुका मूर्तिहरु सुरक्षित गरिएको छ ।
नेपालमा बाईसे–चौबीसे राज्यका पालामा गाजने गाउँमा १४औं शताब्दीताका तत्कालीन राजा दिलिपबम मल्ल (डिम्ब)ले भारतको उडिसा राज्यबाट भगवान् जगन्नाथको मूर्ति ल्याएर जगन्नाथ मन्दिरको स्थापना गरेको किम्बदन्ती रहेको छ ।
बेनीबजारदेखि ३ घण्टाको पैदल दुरीमा रहेको जगन्नाथ मन्दिरमा सवारीसाधनमार्फत एक घण्टामा सजिलै पुग्न सकिन्छ ।
जगन्नाथ मन्दिर नजिकै रहेको समुन्द्री सतहदेखि २ हजार २ सय मिटरको उचाइमा अवस्थित गुफाको डाँडाबाट लालीगुराँसको सुगन्ध सुँध्दै धौलागिरि, अन्नपूर्ण लगायतका हिमालहरुलाई पृष्ठभूमीमा पारेर मोबाइलमा सेल्फी खिचेर रमाउन सकिन्छ ।
पर्यटकीय सम्भावना बोकेको गुफाको डाँडाबाट झण्डै दुई दर्जन हिमालहरु देखिन्छन् । हिमालको साथसाथै यस ठाउँबाट म्याग्दी जिल्लाको साविकका ४१ गाविसहरुमध्ये ३६ वटा गाविसहरु नाङ्गो आँखाले प्रत्यक्ष रुपमा अवलोकन गर्न सकिन्छ ।
हिमालसँगै पौडी खेल्न मिल्ने ताल हो पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा पर्ने निस्कोटको बराहताल । निस्कोट गाउँको शिरमा रहेको समुन्द्री सतहदेखि २ हजार २ सय मिटरको उचाइको यो बराहताल र तालको आसपासबाट मनोरम हिमश्रृङ्खलाहरु देखिन्छन् ।
यहाँबाट संसारको सातौं तथा नेपालको दोस्रो अग्लो धौलागिरि हिमालसहित गूर्जा, निलगिरी, अन्नपूर्ण, माछापुच्छे«, मानापाथी लगायतका आधा दर्जनबढी हिमाल र दृष्यहरुको प्रत्यक्ष अवलोकन गर्न सकिन्छ ।
बराहतालमा वनजङ्गल र हिमालहरु देखिने प्रतिबिम्ब (छाँया) निक्कै आकर्षक अनि मनमोहक लाग्छ । हिमालको वरिपरी लुकामारी खेलिरहने बादलुको घुम्टोले अझै सुन्दरता थपिरहेको हुन्छ ।
पहाड र आकास जोडिएको क्षितिजमा पर्ने हिमाल र तलाउमा देखिने हिमालको दृष्यले सबैलाई अचम्मित बनाउँछ । निस्कोट गाउँमा पुग्ने जो कोही पनि बराहताल हेर्न भनेर त्यहाँ पुग्ने गरेका छन् । तालको छेउछाउमा पुगेर ताल र हिमालहरु हेर्दा थकान हराएको अनुभूति हुन्छ ।
प्राकृतिक चिकित्सालयको रुपमा विकसित हुँदै गैरहेको सदरमुकाम बेनीदेखि ९ किलोमिटर पश्चिम बेनी नगरपालिका–४, सिङ्गास्थित तातोपानी कुण्ड रहेको छ । चिसोका कारण हुने सबै प्रकारका रोगहरु निको हुने भएपछि तातोपानी कुण्डमा दिनहुँ स्वदेशी र विदेशी पर्यटक तथा बिरामीहरुको भीड बढ्दै जान थालेको छ ।
पर्यटकीय हिसाबले पनि तातोपानी कुण्ड निकै आकर्षणको केन्द्रका रुपमा रहेको छ । तातोपानी कुण्डमा डुबुल्की मारेपछि ग्याँस्ट्रिक, बाथरोग, गानोगोला, युरिकएसिड, हार्डजोर्नी दुख्ने, हड्डीको दुखाई, सड्केको, मर्केको, बज्रिएकोसहित चिसोका कारणबाट उत्पन्न सबै प्रकारका रोगहरु निको हुने जनविश्वास रहिआएको छ ।
कुण्डकै कारण तातोपानीमा पछिल्लोपटक होटल व्यवसाय फस्टाउँदै गएको छ भने होमस्टे समेत सञ्चालनमा रहेको छ । तातोपानी कुण्डमा मात्रै वार्षिक झण्डै २० हजार मानिसहरु आउने गरेका छन् ।
प्रसिद्ध मुक्तिनाथ मन्दिरको प्रवेशद्वारमा रहेको धार्मिक तीर्थस्थल हो म्याग्दीको गलेश्वर मन्दिर । बेनी नगरपालिका–९, गलेश्वरमा रहेको गलेश्वरधाम एउटै चक्रशिलामा अवस्थित छ ।
सत्ययुगमा सतीदेवीको गलापतन भएर गलेश्वर नाम रहन किम्बदन्ती रहेको पाइन्छ । गलेश्वर मन्दिरमा दैनिक रुपमा नरिबललगायत फुलप्रसाद चढाएर पुजापाठ हुँदै आएको छ । गलेश्वर मन्दिरसँगै राधाकृष्ण मन्दिर पनि रहेको छ । पछिल्लो समय गलेश्वर मन्दिरमा धार्मिक पर्यटक बढ्दै गएका छन् ।
गलेश्वरमा नेपालको विभिन्न जिल्लाका साथै भारतसहित तेस्रो मुलुकबाट विभिन्न धर्मावलम्बी र पर्यटकहरु आउने गरेका छन् । यस मन्दिरको नजिकै कहिल्यै नसुक्ने जलबराह कुण्ड समेत रहेको छ ।
पौलस्त्य ऋषिका नाति लङ्काका राजा रावण जन्मिएको ठाउँ पौलस्त्य पुलहाश्रम म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरस्थित पछैमा पर्दछ । सदरमुकाम बेनीदेखि १ घण्टाको दुरीमा रहेको पौलस्त्य मन्दिरमा पुग्नका लागि बेनीदेखि पक्की पदमार्ग निर्माण थालिएको छ ।
राउण्ड धौलागिरी बेसक्याम्पसम्म पु¥याउने लक्ष्य राखिएको पदमार्ग धार्मिकस्थल पौलस्त्य पुलहाश्रम हुँदै अगाडि बढाउन निरन्तरता दिइने भएको छ । पौलस्त्य मन्दिर नजिकै रावणको नाभी गाडिएको भन्ने ढुङ्गा (पत्थर) पनि रहेको छ । विश्वका १५ ओटा पवित्र धार्मिक तीर्थस्थलहरुमध्ये एक पौलस्त्य मन्दिरको बारेमा पुराणहरुमा पनि उल्लेख गरिएको छ ।
यस मन्दिरको आसपासबाट सदरमुकाम बेनीबजार, पर्वतको मल्लाज क्षेत्र, मिलनचोक, माछापुच्छ«े, अन्नपूर्ण, निलगिरीलगायत मनोरम हिमश्रृङ्खलाहरु देखिन्छन् । पौलस्त्य मन्दिरमा दिनहुँ पुजाआजा हुँदै आएको छ । पछिल्लो समय यस मन्दिरमा स्वदेशी तथा विदेशी पर्यटकहरुको चहलपहल बढेको छ ।
लोकल मुला, आलु, धजरालगायत उत्पादनहरु पाइने क्षेत्रका रुपमा चिनिएको टोड्के पर्यटकीयस्थल हो । समुन्द्री सतहदेखि दुईहजार पाँचसय मिटरको उचाइमा अवस्थित टोड्के, बेनी नगरपालिका, मंगला गाउँपालिका र रघुगंगा गाउँपालिकाको सिमानामा पर्दछ ।
मनोरम दृष्यावलोकन गर्न सकिने टोड्के पर्यटकीय हिसाबले महत्वपूर्ण सम्भावना बोकेको क्षेत्रका रुपमा चिनिन्छ । पर्यटकीयस्थल टोड्केबाट धौलागिरि, अन्नपूर्ण, मानापाथी, निलगिरीलगायत मनोरम हिमश्रृङ्खलाको दृष्यावलोकन गर्न पाइन्छ ।
टोड्केमा म्याग्दीसहित विभिन्न जिल्लाका साथै विदेशी पर्यटकहरु जान थालेका छन् । टोड्केको धुरीबाट म्याग्दी जिल्लाको अधिकांश भू–भागका साथै हिमाली जिल्ला मुस्ताङ र पर्वतको डाँडाकाँडा समेत देखिन्छ ।
पर्यटकीयस्थलको रुपमा रहेको टोड्केमा हेलिप्याड पनि रहेको छ । टोड्के वनभोज खान, घुमफिर गर्न र लोकल उत्पादन खरिद गर्न पर्यटकका लागि उपयुक्त छ ।
पर्यटकीय क्षेत्र टोड्केमा एकसय वर्ष पुरानो धार्मिकस्थल स्वर्गद्वारी आश्रम पनि रहेको छ । आश्रममा देशका विभिन्न जिल्लाबाट समय समयमा ऋषिमुनिहरु आएर तपस्या गर्ने गरेका छन् ।
प्युठान जिल्लामा रहेको प्रसिद्ध स्वर्गद्वारी मन्दिरको शाखा मानिने टोड्केको स्वर्गाश्रम आसपासका क्षेत्रमा अन्य धार्मिक संरचनाहरुको पनि विस्तार गरिएको छ । पछिल्लोपटक पर्यटकहरुलाई लक्षित गरेर टोड्के नजिकै पूर्णगाउँ र झिँ गाउँमा होमस्टे सञ्चालन गरिएको छ ।
टोड्केमा स्थानीयले रिसोर्ट बनाउन थालेका छन् । यस आश्रमबाट धौलागिरी, अन्नपूर्ण र माछापुच्छ«े हिमाल आँखै अगाडि देखिने हुँदा यस क्षेत्रलाई ऋषिमुनिहरुले पनि धेरै मन पराएका छन् ।
म्याग्दी जिल्ला आफैमा पनि सुन्दर गन्तव्यका रुपमा चिनिन्छ । धौलागिरी हिमाल यसै जिल्लामा पर्ने हुँदा वर्षेनी हजारौं पर्यटकहरु धौलागिरी बेसक्याम्पमा जाने गर्दछन् ।
म्याग्दीमा बराङ्जाको झाँक्रीपानी, दुखुको भाले बास्ने ताल, गूर्जाको ढोरपाटन, रुईसे–भेडीओढार, महरेडाँडा जस्ता अन्य पर्यटकीय गन्तव्यका क्षेत्रहरु पनि प्रशस्तै रहेका छन् । यी क्षेत्रहरुमा आफ्नो फुर्सद अनुसार घुमफिर गर्न सकिन्छ । जिल्लाका अधिकांश ठाउँहरु ट्रेकिङका लागि उपयुक्त मानिन्छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ ।
Deepk Paudel
Oct. 19, 2018, 5:15 p.m.SUPER COMBINATION !!!! REALLY APPRECIATIVE !!!!