नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – नेकपा एमालेका सचेतक महेश बर्तौलाले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी विधेक) सत्तापक्षको एकाङ्की विषय नभएको बताउनुभएको छ ।
साेमवार प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सचेतक बर्तौलाले सत्तापक्षले 'फास्ट ट्रयाक' बाट नै टीआरसी विधेयक पारित गर्नुपर्ने अडान राखिरहेको भन्दै त्यसो हुन नसक्ने स्पष्ट पार्नुभयो । उहाँले विषयगत समितिमा टीआरसी विधेयक लैजानैपर्ने र त्यो प्रक्रिया लामो भए विशेष समिति बनाएरमात्रै विधेयक पारित गर्नुपर्ने बताउनुभयो ।
सचेतक बर्ताैलाले टीआरसी विधेयक छिटो टुङ्गिनुपर्छ भन्नेमा नेकपा एमाले पनि सहमत भएको तर राष्ट्रिय विषय भएकाले प्रक्रिया पूरा गरेरमात्रै विधेयक टुङ्ग्याइनुपर्ने बताउनु भयो । उहाँले अन्तर्राष्ट्रिय मानव अधिकार पक्ष भएर हस्ताक्षर गरेका कैयौँ विषयसँग सम्बन्धित भएकाले त्यो प्रतिकूल देशका ऐनहरू बन्न नहुनेतर्फ सचेत गराउनुभयो । उहाँले विधेयकमा पीडितहरूको भावना समेट्नुपर्ने, सत्यको राम्रोसँग अन्वेषण गरेर दोषीलाई कारबाही, पीडितहरूलाई परिपूरण राहत, क्षतिपूर्ति र न्याय दिन सक्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘टीआरसीको विषयमा उहाँहरूले फास्ट ट्रयाकबाट जाने कुरा गर्नुभएको छ । प्रोसेसको कुरा गरिरहनुभएको छ । हामी प्रोसेस छिटो गर्ने कुरामा तयार छौँ । तर कन्टेनमा छलफल गरौँ । कतिपय हिसाबले कन्टेनमा नै बहस गर्नुपर्ने कुरा छ । त्यसैले यो राष्ट्रिय विषय हो । सत्तापक्षको एकाङ्की विषय होइन । अन्य बिलहरू जसरी हामी संसद्को अल्पमत र बहुमतले बढ्छौँ, यो विधेयक फरक हो । अन्तर्राष्ट्रिय माध्यमहरूले पनि हेरिरहेको छ, अन्तर्राष्ट्रिय मानव अधिकार पक्ष भएर हस्ताक्षर गरेका कैयौँ विषय छन् । त्यो प्रतिकूल हाम्रो ऐन हुनु हुँदैन । सर्वोच्च अदालतले प्रतिपादित गरेका जघन्य मानव अधिकार उल्लङ्घनका घटनासँग जोडिएका दोषीहरूलाई मेलमिलाप, उन्मुक्ति दिन सकिँदैन । प्रस्ट नजिर स्थापित गरेको छ । त्यो प्रतिकूल हामीले ऐन बनाउन मिल्दैन । पीडितहरूको भावना समेट्नुपर्ने अवस्था छ । त्यसैले यसलाई हामी विषयगत समितिमा व्यापक छलफल गर्न चाहन्छौँ । यदि त्यसमा लामो हुन्छ भने विशेष समिति बनाएर पनि जान सक्छौँ ।’
सचेतक बर्तौलाले टीआरसी विधेयकलाई राष्ट्रको साझा विषय बनाई कुनै पनि प्रश्न उठ्न नदिने गरी टुङ्ग्याउनुपर्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।