उच्च पहाडी र हिमाली भेगका केही ठाउँमा हल्का हिमपातको सम्भावना
मंसिर १५, २०८१ शनिबार
धनुषा - मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी धनुषाको सबैला गाउँपालिका–९ की मन्तोरिया राय उपचारबापतको खर्च बुझाउन नसक्दा अस्पतालमै बन्धक हुनुभएकाे छ । गएकाे माघ १२ गते उहाँलाई मोटरसाइकलले ठक्कर दिएको थियो । गम्भीर घाइते अवस्थामा मन्तोरियालाई उपचारका लागि जनकपुरधाम मुरलीचोकमा रहेकाे न्यूरो अस्पतालमा भर्ना गरिएको थियो ।
उपचार भएपछि उहाँलाई अस्पतालले गएकाे फागुन २० गते घर फर्काउने निर्णय गरेको थियो । तर अस्पतालमा उपचारबापतको खर्च तिर्न नसक्दा मन्तोरिया घर जान सक्नुभएको छैन । उहाँ अस्पतालमै तीन छोराछोरीसहित बन्धक हुनुहुन्छ । उहाँले अस्पताललाई उपचारबापतको छ लाख ६९ हजार रुपैयाँ तिर्न बाँकी छ । त्यति रकम तिर्न नसक्दा मन्तोरिया अस्पतालबाट घर फर्कन नपाउनुभएको हो । उहाँसँगै वृद्ध ससुरा पनि अस्पतालमै रहनुभएको छ ।
'हमरा सभके खाइला नै पुगै है, अतेक रुपैयाँ तिरक घर केना जेबै, हमर बालबच्चाके केना पलेतै हौँ (हामीलाई खानै पुग्दैन । यति पैसा कहाँबाट तिरेर घर जानु, मेरो बालबच्चाको लालनपालन कसरी हुन्छ?', मन्तोरिया रायले रुँदै भन्नुभयो ।
कान्छो छोराको बालपोषण भत्ता लिन गएकाे माघ १२ गते मन्तोरिया सबैला बजारको एक बैंकमा खाता खोल्न जानुभएको थियो । बैंकमा खाता खोलेर पैदल फर्किरहेका बेला सत्तोखर गोविन्दपुर सडक खण्डमा बा६१प ६६३३ नंको मोटरसाइकलले उहाँलाई ठक्कर दियो । प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकलको ठक्करबाट सडकमा लड्नुभएकी मन्तोरियालाई मोटरसाइकलले ४०–५० मिटर परसम्म घिसारेको थियो । यसरी सडकमा घिसारिएपछि उहाँको शरीरको विभिन्न भागमा चोट लाग्यो ।
मोटरसाइकल धनुषाकै शहीदनगर नगरपालिका–१ बेमर्खी टोलका २५ वर्षीय दीपककुमार रायले चलाएका थिए । त्यही ठाउँका ३५ वर्षीय गजेन्द्र यादव पछाडि रहेका थिए । चालक राय तत्कालै समातिए । पछाडि बसेका यादव भने अहिलेसम्म फरार छन् । चालक रायको घरपरिवारको अवस्था दयनीय छ । उनी मन्तोरियालाई भेट्न अस्पतालसमेत आएनन् । दुर्घटनापश्चात मन्तोरियाका ससुरा रामप्रसादले प्रहरीमा मोटरसाइकलका चालक राय र पछाडि रहेका यादवमाथि किटानी जाहेरी दर्ता गराएका थिए ।
अङ्गभङ्ग मुद्दामा चालक राय अहिले जिल्ला अदालत धनुषाको आदेशमा सिन्धुली कारागारको थुनामा छन् । मन्तोरियाको परिवारले जसोतसो ऋण काढेर र समाजबाट चन्दा उठाएर पाएको झन्डै १० लाख रुपैयाँ अस्पताललाई तिरेको छ । तर बाँकी पैसो तिर्न उहाँसित कुनै उपाय छैन । मन्तोरिया आफूलाई घर फर्किने वातावरण बनाइदिन हारगुहार गर्दै आउनुभएको छ ।
सुरुमा दुर्घटनापछि उहाँलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत रहेको प्रादेशिक अस्पतालले यसरी नै गम्भीर प्रकृतिका बिरामी घाइतेलाई उपचार नगरि निजीमा सिफारिस गर्ने गरेका छन् ।
अहिले ३० वर्षीया मन्तोरियासँगै दुई छोरा र एक छोरी पनि आमासँगै घर जाने दिनको प्रतीक्षामा छन् । मन्तोरियाको सम्पत्तिका नाममा केवल दुई धुर घडेरीमा छाप्रो छ । उहाँसँगै आठ वर्षीया छोरी वर्षा, पाँच वर्षीय छोरा महेश्वर, तीन वर्षीय उमेश र ७१ वर्षीय ससुरा रामप्रसाद अस्पतालमामै बस्न बाध्य छन् । रामप्रसादले जसोतसो बुहारीको हेरचाह गर्नुभएको छ, तीन नाति–नातिना सम्हाल्नुभएको छ ।
मन्तोरियाका पति रामबहादुर राय वैदेशिक रोजगारीका सिलसिलामा कतारमा हुनुहुन्छ । गएकाे कात्तिकमा रामबहादुर कतार गएदेखि मन्तोरियाले घर सम्हाल्दै हुनुहुन्थ्यो तर, दुर्घटनामा परेदेखि सारा परिवार नै नराम्ररी बिथोलिएको छ । पति रामबहादुरको पनि कमाइ छैन । उनी गएको कम्पनी बन्द भएर घर फर्किने अवस्था आएको मन्तोरियाले सुनाउनुभयो ।
अस्पतालका व्यवस्थापक सञ्जय मण्डलले मन्तोरिया अस्पताल भर्ना हुँदा बाँच्ने सम्भावना निकै कम भए पनि अस्पतालको समुचित रेखदेख र उपचारले उहाँलाई बचाएको बताउनुभयो । मण्डलका अनुसार मन्तोरियाको पेटमा तीनवटा शल्यक्रिया भएको छ । केही भाग आन्द्रा काटेर हटाइएको छ । दुवै खुट्टाको घुँडादेखि पैतालाको बीचको भागको हाँड भाँच्चिएकाले शल्यक्रिया गरी दुवैमा स्टिल जडान गरिएको छ । दायाँ हात पनि भाँच्चिएको थियो ।
अस्पतालका व्यवस्थापक मण्डलले भन्नुभयो, 'जुन अवस्थामा मन्तोरिया भर्ना हुनु'भो । बाँच्ने अवस्था न्यून थियो । तर हामीले भरपुर प्रयास गरेर सबै शल्यक्रिया सफल पार्यौँ । दुई महिनापछि उहाँ अलिअलि हिँड्ने, बोल्ने अवस्थामा आउनुभएको छ । ठक्कर दिने र घरपरिवारले उपचार खर्च तिर्न नसक्दा उहाँको उपचारमा अस्पताल नराम्ररी फसेको छ ।'
मन्तोरिया देवीको विषयमा थाहा पाएर सबैला नगरपालिकाका मेयर कारीराम यादव सोमवार अस्पताल पुगेर अवस्था बुझ्नुभएको छ । उहाँले दुई दिनभित्र मन्तोरियालाई अस्पतालबाट मुक्त गराएर लग्ने आश्वासन दिनुभएको छ । मेयर यादवले भन्नुभयो, 'यस विषयमा सबैला कार्यपालिकाको बैठक राखेर छलफल गर्छौँ, उपचार खर्चबारे के गर्न सकिन्छ उचित निर्णय गर्छौँ । यो घटनालाई गम्भीरतापूर्वक लिएका छौँ ।'
त्यसैगरी जिल्ला प्रशासन कार्यालय धनुषाबाट प्रशासकीय अधिकृत किरण मिश्रको नेतृत्वमा टोली सोमवार मन्तोरिया बन्धक भएको घटनाबारे बुझ्न अस्पताल पुगेको थियो । टोलीले अस्पतालको अनुगमनसमेत गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।