नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
रुपन्देही – उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले निष्क्रिय रहेको नागरिकतासम्बन्धी विधेयकलाई अगाडि बढाउने बताउनुभएको छ । प्रेस सेन्टर रुपन्देहीले आज मङ्गलवार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले संवैधानिक रूपमै नागरिकताको अधिकार भएकाहरूलाई नागरिकताविहीन बनाएर राख्न नमिल्ने बताउनुभएको हो ।
‘मैले गृहमन्त्रीका रूपमा कार्यभार सम्हालेदेखि नै भनेको छु, यो देशको संविधानअनुसार नागरिकता पाउने नागरिकलाई नागरिकताविहीन बनाएर राख्न सकिन्न, नागरिकताविहीन भएको पीडा हामीले बोध गर्न सक्नुपर्छ’, उहाँले भन्नुभयो, ‘संविधानअनुसार नागरिकता पाउने गरी बनाइएको विधेयक अगाडि बढाउँछौँ ।’
उहाँले नागरिकता सम्बन्धित केही विषयमा भने राष्ट्रिय सहमति आवश्यक रहेको बताउनुभयो । त्यसबारेमा सबै राजनीतिक पार्टी एवम् राष्ट्रिय जीवनका महत्त्वपूर्ण व्यक्तित्वसँग छलफल गरिने उहाँको भनाइ छ ।
उहाँले सङ्क्रमणकालीन न्यायसम्बन्धी काम अझै पनि बाँकी रहेकाले यसलाई पूरा गरिनुपर्ने बताउनुभयो । यो पूरा भएमात्रै शान्ति प्रक्रिया समग्रमा पूरा हुने मन्त्री श्रेष्ठको भनाइ छ ।
‘यसका लागि सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको काम पूरा गर्नुपर्छ’, श्रेष्ठले भन्नुभयो, ‘यसका लागि हामी फेरि पनि संसदमा प्रवेश गरेका छौँं, यो कामलाई पूर्णता दिन्छौँ ।’
उहाँले अर्थतन्त्रमा देखापरेका समस्यालाई तत्काल समाधान गरी अर्थतन्त्रलाई लयमा ल्याउन सकेमात्र समृद्धि हासिल हुने भन्दै अर्थतन्त्रको समस्या पहिचान गर्न र यसको समाधानको उपायबारे विज्ञहरूसहित बैठक बस्ने तयारी भइरहेको जानकारी दिनुभयो ।
‘अर्थतन्त्र सुधारमा प्रधामन्त्री आफैँ अग्रसर हुनुहुन्छ, मन्त्रिपरिषद्ले मूलभूत रूपमा पूर्णता पाएको अवस्थामा अब हामी समृद्धिको लक्ष्य पूरा गर्न समर्पित रूपमा लाग्नेछौँ’, उहाँले भन्नुभयो ।
उहाँले आफूले गृह मन्त्रालय सम्हालेदेखि नै सुशासनमा जोड दिएको भन्दै प्रशासनिक र सुरक्षा निकायमा कतै पनि राजनीतिक दबाब र अन्य दबाबले भूमिका खेल्न नपाओस् भनी आफू सतर्क रहेको बताउनुभयो ।
‘नागरिकलाई सहज ढङ्गले सेवा दिने र शान्ति सुरक्षा सुनिश्चित गर्दै शान्तिपूर्ण वातावरणमा जीवन गुजार्न पाउने अधिकारको सुनिश्चित गर्न चाहन्छौँ’, उहाँले भन्नुभयो ‘यससँगै कालोबजारी, अपराध नियन्त्रण गर्ने काम गर्छौँ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।