बैतडी दुर्घटना : बिसु पर्व मनाउने सपना झौलेक भिरमै बिलायाे

 चैत २९, २०७९ बुधबार ११:३८:३ | रासस
unn.prixa.net

बैतडी – मङ्गलबार राति ११ बजे बैतडीमा जीप दुर्घटना हुँदा छ जनाको ज्यान गयो । भारतमा रोजगारी गरेर नयाँ वर्ष अर्थात् बिसु पर्व मनाउन उनीहरु घर फर्किँदै थिए । तर गाडि दुर्घटना हुँदा बझाङको एकै गाउँका छ जना बाटोमै अस्ताए । 

जयपृथ्वी राजमार्गको खोडपे–बझाङ सडकखण्डअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ को झौलेक मोडमा से१ज ७६४ नम्बरको जीप दुर्घटना हुँदा छ जनाको घटनास्थलमै ज्यान गएको हो । दुर्घटनामा परेर बझाङको केदारस्युँ गाउँपालिका–५ बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय वीरे धामीको ज्यान गयो । 

भारतसितको सीमानाका झुलाघाटबाट बझाङको बागथलातर्फ जाँदै गरेको त्यस जीपमा सवार त्यही गाउँका अन्य छ जनाले भने हामफालेर ज्यान जोगाएको प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो । “क्षमताभन्दा बढी यात्रु सवार थिए, उकालोमा जीप चढ्न सकेन, ब्रेक फेल भएर दुर्घटना भएको अनुमान छ”, उहाँले भन्नुभयो । 

दुर्घटना भएकाे जीप शाहीलेक बजारबाट यसरी हुइँकिरहेकाे थियाे । तस्बिर : महेशदत्त भट्ट

भारतको पिथौरागढमा मजदुरी गर्दैआएका एकै गाउँका उनीहरू मङ्गलबार घर फर्किन झुलाघाट पुगेका थिए । झुलाघाटबाट बझाङ आफ्नाे गाउँ पुग्न दुई तीनवटा गाडी फेरबदल गर्नुपर्ने झन्झटले सबैले मिलेर बझाङबाटै जीप रिजर्भ गरेर मगाएका थिए । बाह्र जनामध्ये छ जनाको बिसु मनाउने सपना झौलेक भिरमै बिलायो ।  

त्यही जीपमा सवार जयसिंह बोहराका अनुसार उहाँसहित पाँच जना जीपको पछिल्लो भागमा बसेकाले हाम फालेर बाँच्न सफल भए । “सडक उकालो थियो, जीप ब्याक भएर भिरबाट खस्यो”, उहाँले भन्नुभयो, “जीप पछाडी फर्किन थाल्यो, पछाडी बसेका सबैले हामफाल्यौँ, जीप सोझै भिरमा खस्यो ।”

गएकाे मङ्सिरमा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा उनीहरुले गाउँमा भोट खसाले । त्यसपछि रोजगारीका लागि भारतको पिथौरागढ जाने सल्लाह भयो । चुनावको अर्को दिन सबैजना घरबाट हिँडेको जयसिंहले बताउनुभयो । उहाँले भन्नुभयो, “बिसु पर्व मनाउन सबै सल्लाह गरेर घर फर्किँदै थियौँ, एकसाथ नयाँ वर्ष मनाउनै पाइएन ।” 

राति ११ बजे उनीहरुले खोडपे बजारमा खाना खाएका थिए । खाना खाएर अगाडि बढेको केही समयमै जीप मध्यरातमा झौलेक भिरमा दुर्घटनामा पर्‍यो । “खाना खाएपछि खोडपेमै आराम गर्न चालकलाई आग्रह गरेका थियौँ, चालकले बागथला पुगेर आराम गरौँला भन्यो”, जयसिंहले भन्नुभयो, “राति यतै आराम गरौँ, नयाँ वर्ष आउन एक दिन बाँकी छ, बरु बिहान झिसमिसेमै जाउँला भन्दा चालकले मानेनन् ।”

दुर्घटनामा एकै गाउँका छ जनाको ज्यान गएपछि बझाङको बाँझगाउँ शोकमा डुबेको छ । पर्वको मुखमै भएको दुःखद् घटनाले बिसु खल्लो बनाएको केदारस्युँ गाउँपालिका–५ का वडाध्यक्ष मोहनसिंह ठगुन्नाले बताउनुभयो । सुदूरपश्चिममा नयाँ वर्षलाई बिसु पर्वका रूपमा मनाउने गरिन्छ । यतिबेला घर बाहिर हुनेहरु पर्व मनाउन फर्किन्छन् ।

जीप सडकबाट पाँच सय मिटर तल खसेको छ । जीप चालक मृतककै गाउँका २७ वर्षीय अर्जुन बोहरा फरार छन् । दुर्घटनालगत्तै प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीलगायतको टोली घटनास्थलमा पुगेको छ । शव भिरबाट निकाल्ने काम भइरहेको छ ।   

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया