नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले राजनीतिक हस्तक्षेपका कारण कर्मचारी परिचालनमा समस्या रहेको बताउनुभएको छ ।
बुधवार प्रतिनिधि सभा बैठकमा सार्वजनिक महत्त्वको विषयबारे बोल्दै मन्त्री माेदीले पार्टीपिच्छेका मन्त्री, सांसद, मेयरलगायतका जनप्रतिनिधिले आफू अनुकूल कर्मचारी माग गर्दा उनीहरूको परिचालनमा समस्या देखिएको बताउनुभएकाे हाे । उहाँले कर्मचारीले दुर्गम क्षेत्रमा जानै नचाहेको गुनासो पनि गर्नुभयो । आफूले भने दुर्गम र सुगम मिलाएर कर्मचारीकाे सरुवा प्रणालीलाई व्यवस्थित बनाउने कामलाई अघि बढाएको पनि उहाँको भनाइ थियो ।
उहाँले भन्नुभयो, ‘कर्मचारी परिचालनमा निकै समस्या छ । प्रतिनिधि सभामा एउटा पार्टीले जितेको हुन्छ । प्रदेशमा अर्को पार्टीले जितेको हुन्छ । मेयर एउटा पार्टीले जितेको हुन्छ । उपमेयर एउटा पार्टीले जितेको हुन्छ । वडाध्यक्ष एउटा पार्टीले जितेको हुन्छ । हाम्रो मन्त्रालयमा दैनिक भिड हुन्छ । एउटा मेयर आउनुहुन्छ, मलाई कर्मचारी चाहियो भन्नुहुन्छ । कर्मचारी पठायो, अर्को साथी आउनुहुन्छ र मलाई नसोधी किन पठाएको भन्नुहुन्छ । त्यहाँको पार्टीगत रूपमा पनि समस्या हुन्छ । आन्तरिक समस्या पनि हुन्छ । सबैको दृष्टिकोण नमिल्न पनि सक्छ । प्रदेशका मन्त्रीहरूले पनि फलानो सचिव, सहसचिव पठाउन भन्नुहुन्छ । केन्द्रमा पनि मन्त्री साथीहरू हुनुहुन्छ, उहाँहरूले पनि हामीलाई अनुकूल कर्मचारी पठाइदिनु पर्याे भन्नुहुन्छ । अब सबैलाई अनुकूल पठाइदिन थालियो भने सात सय ५३ पालिका र त्यसमध्येमा पनि मन्त्रालयहरू गर्दा झन्डै दुई हजार जना कर्मचारी मागेको जतिमात्रै खटाउन सकिन्छ । अहिले ५३ हजार जना कर्मचारी सङ्घमा छन्, दुई हजार जनामात्रै खटाए ५१ हजार कर्मचारीलाई कहाँ पठाउने भन्ने प्रश्न पनि उठ्न सक्छ । दुर्गम ठाउँमा कोही जान चाहँदैनन् । विकट ठाउँको त नामै सुन्न चाहँदैनन् । सबै काठमाण्डाै वरिपरि, उपत्यका वरिपरि जान चाहन्छन् । अझै भन्नुपर्दा सुगममा मात्रै कर्मचारी जान चाहन्छन् । यस्ता विकृतिहरू छन् ।’
मन्त्री मोदीले काठमाण्डाै र त्यस वरपरमात्रै रहने कर्मचारीमा विकृत चाहना रहेको उल्लेख गर्दै त्यसलाई अन्त्य गर्न आफू लागिपरेको बताउनुभयो । उहाँले सङ्घीय निजामती सेवा ऐन चालु संसदबाट पारित गराउने गरी ल्याउन चाहेको पनि बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।