महाकाली सिँचाइ नहर : परीक्षण भयो पानी आएन

 चैत ३०, २०७९ बिहीबार १४:४८:५६ | रासस
unn.prixa.net

फाइल फाेटाे

कञ्चनपुर – कञ्चनपुरको महेन्द्रनगरमा निर्माण भएको महाकाली सिँचाइ नहरमा परीक्षणपछि पानी आउन सकेको छैन । सिँचाइ आयोजना कार्यालयले तेस्रो चरणमा गएको असारमा २८ किलोमटिर मूल नहरमा पानी परीक्षण गरेको थियो । परीक्षणको क्रममा महाकालीको पानीले पहिलो रोपाइँसमेत गरिएको थियो । त्यसयता महाकाली सिँचाइको नहरमा पानी सञ्चालन हुन सकेको छैन । 

आयोजनाअन्तर्गत झन्डै २८ किलोमिटरसम्म मूल नहर निर्माण भइसकेको छ । यस क्षेत्रमा २२ शाखा नहर निमार्णाधीन अवस्थामा छन् । महाकाली सिँचाइ आयोजना तेस्रो चरणका आयोजना निर्देशक रणबहादुर बमले भारतको टनकपुर ब्यारेजबाट पानी आउने यस नहरको औपचारिक उद्घाटन हुन नसकेका कारण पानी सञ्चालन हुन नसकेको बताउनुभयो । ‘हामीले पानी सञ्चालनका लागि पटक–पटक ताकेता गर्दै आएका छौँ । भारतीय पक्षले दुवै देशको संयुक्त उद्घाटनपछि मात्रै पानी सञ्चालन हुने जानकारी दिँदै आएको छ ’, उहाँले भन्नुभयो । उहाँले दुवै देशको उच्च तहबाट हुने भनिएको उद्घाटनको टुङ्गो नलाग्दा नहरमा पानी सञ्चालन अन्योलमा परेको बताउनुभयो ।

टनकपुर ब्यारेजबाट नेपाल–भारत सीमासम्म एक हजार दुई सय मिटर मूल नहर भारतीय पक्षले निर्माण सम्पन्न गरी तयारी अवस्थामा राखेको छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका बेला दुवै देशका प्रधानमन्त्रीले अनलाइनबाट संयुक्त रूपमा नहरको उद्घाटन गर्ने कार्यक्रम तय भए पनि कोरोना सङ्क्रमण बढेपछि उद्घाटन स्थगित भएको थियो ।

आयोजना कार्यालयका अनुसार मूल नहरमा पानी सञ्चालनमा आए किसानको खेतसम्म पानी पुर्‍याउन समस्या हुने छैन । महाकाली सन्धिअनुसार टनकपुर ब्यारेजबाट नेपालले सिँचाइका लागि बर्खायाममा एक हजार क्युसेक र हिउँदमा तीन सय क्युसेक पानी पाउने उल्लेख छ ।

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया