उच्च पहाडी र हिमाली भेगका केही ठाउँमा हल्का हिमपातको सम्भावना
मंसिर १५, २०८१ शनिबार
हुम्ला – समयमै किताब (पाठ्यपुस्तक) नपुग्ने हिमाली जिल्ला हुम्लामा यस वर्ष शैक्षिक सत्र सुरु हुनुअघि नै विद्यालयमा किताब पठाइएको छ । जिल्लाका चार गाउँपालिकाका सामुदायिक विद्यालयमा किताब पुगेको हो ।
शैक्षिक सत्र सुरु भएको महिनौँ दिनसम्म किताब नपाएको गुनासो गर्ने विद्यार्थीले यस पटक भने शैक्षिक सत्र सुरु भएको दिन नै किताब पाउने भएका छन् । किताब नपाएको दुःख सुनाउने हुम्लाका विद्यार्थीको गुनासो यस वर्ष सम्बोधन भएको छ ।
जिल्लाको दक्षिण भेगमा रहेका सर्केगाड, चङ्खेली, ताँजकोट र अदानचुली गाउँपालिकामा तीन दिनअगाडि नै किताब पुगिसकेको छ । योसँगै विद्यार्थीले वार्षिक परीक्षा हुँदासम्म हातमा किताब नहुने पीडा अन्त्य भएको छ ।
ताँजकोटका १८ र अदानचुली गाउँपालिका २१ सामुदायिक विद्यालयमा किताब पुर्याउने जिम्मा लिनुभएका लोकेन्द्र भण्डारीले केही दिन अगाडि सबै विद्यालयमा पुस्तक पुगिसकेको जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ शैक्षिक सत्र सुरु नभएकाले सम्बन्धित गाउँपालिका र विद्यालयलाई हस्तान्तरण भने गरिएको छैन ।
सर्केगाड र चङ्खेली गाउँपालिकामा रहेका सामुदायिक विद्यालयमा तीन दिन अगाडि नै पुस्तक पुगिसकेको ढुवानीकर्ता मानदेव शाहीले बताउनुभयो । नेपालगञ्जबाट गाडीमार्फत ढुवानी गरेर जिल्लामा पुर्याइएकाले ढुवानीबापत पाउनुपर्ने रकम नपाएको उहाँको गुनासो थियो ।
‘पहिला जिल्ला शिक्षा कार्यालयमार्फत मङ्सिरको दोस्रो चौमासिकमा किताब खरिदका लागि सम्बन्धित विद्यालयमा रकम उपलब्ध गरा खरिदको प्रक्रिया अगाडि बढाइन्थ्यो’, शाहीले भन्नुभयो । अहिले किताब खरिदका लागि स्थानीय पालिकाले प्रक्रिया अगाडि बढाए पनि किताब खरिदको रकम समयमा दिन नसकेको उहाँले बताउनुभयो । पालिकाले किताब खरिद तथा ढुवानीका लागि रकम भुक्तानी नगरे पनि बैंकबाट ऋण निकालेर शैक्षिक सत्र सुरु हुनुअघि नै किताब सम्बन्धित विद्यालयमा पुर्याएको शाहीको भनाइ थियो । पालिकाले सम्बन्धित विद्यालयलाई रकम नदिँदा जिल्लामा पुगेका किताब डिलरबाट विद्यालयले खरिद गर्न नसकेको शाहीले उल्लेख गर्नुभयो ।
किताब पुगे पनि चङ्खेली, सर्केगाड, ताँजकोट र अदानचुली गाउँपालिकाले किताब खरिदका लागि आफ्ना मातहातका विद्यालयलाई भुक्तानी गर्न नसक्दा सम्बन्धित विद्यालयले खरिद गर्न सकेका छैनन् । पालिकाले सम्बन्धित विद्यालयको खातामा रकम जम्मा गरेको दिन डिलरबाट किताब लैजान सकिने शाहीको भनाइ थियो । यी चार पालिकामा पैदल मार्गमार्फत केही दिनअघि किताब पुगिसकेका छन् । कक्षा १ देखि १० सम्मका सबै विषयका किताब पुगेको ढुवानीकर्ता शाहीले जानकारी दिनुभयो ।
तीन गाउँपालिकाको किताब भोलिदेखि ढुवानी हुने
जिल्लाको माथिल्लो भेगका सिमकोट, खार्पुनाथ र नाम्खा गाउँपालिकामा रहेका सामुदायिक विद्यालयका लागि किताब पुग्न सकेको छैन । हवाई मार्गमार्फत ढुवानी गर्दा जहाजले समयमा ढुवानी नगर्ने भएकाले पैदल मार्गमार्फत ढुवानी गरिने ढुवानीको जिम्मा लिनुभएका ज्ञानबहादुर रोकायाले बताउनुभयो । उहाँका अनुसार तीन पालिकाका लागि भोलि शनिवारदेखि नेपालगञ्जबाट पैदल मार्ग भएर ढुवानी गरिने छ ।
शनिवारदेखि पुस्तक ढुवानी सुरु गरी एक हप्ताभित्र पैदल मार्गबाटै सदरमुकाम पुग्ने रोकायाले बताउनुभयो । उहाँले तीन पालिकाका ५८ सामुदायिक विद्यालयका लागि किता पुर्याउने जिम्मा लिनुभएको हो ।
यो वर्ष विद्यार्थीले समयमै किताब पाउने
हिमाली जिल्ला हुम्ला दुर्गम भएकाले सधैँ किताबको समस्या झेलिरहेका विद्यार्थीले यो शैक्षिक सत्रमा भने समयमै किताब पाउने भएका छन् । कहिले सडक समस्या त कहिले हवाई सेवा नियमित नहुँदा समस्या भोगिरहेका हुम्लासहित कर्णालीका हिमाली जिल्लाका विद्यार्थीले यस शैक्षिक सत्र सुरु भएसँगै किताब पाउने भएका हुन् । हुम्लाका चार गाउँपालिकामा किताब पुगिसकेका छन् भने तीन पालिकाका लागि शनिवारदेखि ढुवानी सुरु हुँदैछ ।
यहाँ तीन वर्षयतादेखि नयाँ शैक्षिक सत्र वैशाखदेखि सुरु हुने गरेको छ । कोरोना महामारीकाे समयमा पठनपाठनमा समस्या भएपछि यहाँका पालिकाले वैशाखदेखि नयाँ शैक्षिक सत्र सञ्चालन गर्दै आएका हुन् ।
तीन वर्षअघि फागुन २ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु हुने र मङ्सिरको अन्तिमसम्म वार्षिक परीक्षा सकेर यहाँका शिक्षक हिउँदे बिदा बस्दै आएका थिए । कोरोना सङ्क्रमणपछि हिउँदे बिदा भए पनि चैतमा वार्षिक परीक्षा सम्पन्न गरेर वैशाखदेखि नयाँ शैक्षिक सत्र सुरु गर्न थालिएको मानसरोवर उच्च माध्यामिक विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।