उच्च पहाडी र हिमाली भेगका केही ठाउँमा हल्का हिमपातको सम्भावना
मंसिर १५, २०८१ शनिबार
भक्तपुर – भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको प्रमुख जात्रा मानिने लिङ्गो जात्रा आज बेलुकी लिङ्गो ढालेर सम्पन्न भएको छ । तान्त्रिक विधिअनुरूप पूजाअर्चना गरी आज बेलुकी लिङ्गो ढालिएर यो जात्रा सम्पन्न गरिएको हो ।
बिस्केट जात्राको चौथो दिन चैत ३० गते हिजो झन्डै पौने चार घण्टाको प्रयासपछि राति ७ बजेर ४० मिनेटमा भेलुखेलकाे ल्यासिङ्खेलमा लिङ्गो ठड्याइएको थियो ।
५५ हात लामो लिङ्गो तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी आज एक घण्टाको प्रयासपछि ढालिएको थियो । लिङ्गो ठड्याउनुअघि लिङ्गोको कोखा (टुप्पो) मा नाग र नागिनीको प्रतिकस्वरूप दुई वटा विश्व ध्वजा बाँधेर अष्टमातृकाका प्रतीक आठ वटा डोरीले तानेर लिङ्गो ठड्याइने प्रचलन रहेको छ । त्यही आठ वटा डोरीले आठ कुनामा बसेर लिङ्गो ढालिएको थियो ।
लिङ्गोको कोखामा झुन्ड्याइएका दुई वटा ध्वजालाई वीरध्वजा, विश्वध्वजा, र आकाशभैरवका ध्वजासमेत भनिन्छ । भक्तपुरको प्रसिद्ध बिस्केटको लिङ्गो जात्रा हेर्नाले सुख, समृद्धि,सहकाल आउनुका साथै शत्रु नाश हन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिएको इतिहास तथा संस्कृतिविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठ बताउनुहुन्छ ।
लिङ्गो उभ्याइने र ढाल्ने जात्रा नै बिस्केटको प्रमुख जात्रा हो । मल्ल राजाले भैरवनाथ र भद्रकालीको रथ जात्रा समावेश गरी तान्त्रिक पूजाविधि विधानसमेत थप गरी आठ रात नौ दिनसम्म जात्रा मनाउने प्रचलन थालिएको बताइन्छ ।
लिङ्गो ढालेपछि ल्योसिङखेलबाट भैरवनाथको रथ गःहिटीमा ल्याएर भैरवनाथ र भद्रकालीको रथ जुधाइएको छ । यसलाई स्थानीय भाषामा द्यो ल्वाकिगु भनिन्छ । जात्रामा रथ जुधाउनुअघि बेताल देवतालाई गःहिटीमा ल्याएपछि झ्यालबाट कुखुरा दिई बली चढाएर रथ जुधाउने परम्परा रहेको छ । भैरवनाथ र भद्रकालीको रथ जुधाउने जात्रा सम्पन्न भएपछि ती दुवै देवदेवीको पूजा गरिने परम्परा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।