रुकुम आठबिसकोटको दुर्गमबस्तीमा पहिलाे पटक बिजुली पुग्यो

 वैशाख २, २०८० शनिबार २०:३३:३४ | रासस
unn.prixa.net

रुकुम पश्चिम - रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको दुर्गम मानिने बस्ती वडा नं ४ र ६ मा पहिलो पटक विद्युत् लाइन पुगेको छ । नगरपालिकाको अन्य वडामा विद्युत् विस्तार भए पनि वडा नं ४ र ६ का बस्तीमा भने पहिलो पटक एघार हजार केभीएको विद्युत् लाइन पुगेको छ ।

केन्द्रीय  विद्युत् लाइन वडा नं ४ को गोतामकोट हुँदै ६ नं वडाको त्रिवेणी, छिमी मन्का र रुकुम र डोल्पाको सिमाना करबगारसम्म विस्तार हुनेछ । विद्युत् प्रशारण भएसँगै आज एक कार्यक्रमकाबीच ४ नम्बर वडाको बगेनामा ट्रान्समिटरमा बत्ती बालेर आठबीसकोट नगरपालिकाका नगरका मेयर रवि केसीले विद्युत् लाइनको उद्घाटन गर्नुभयो ।

विद्युत् लाइन प्रशारण भए पनि टोलटोलमा  पोलमा तार राख्ने, कस्नेलगायतका काम जारी रहेको विद्युत् प्राधिकरण रुकुम पश्चिमले जनाएको छ । वाइरिङ जडान गरिएका घरमा छिट्टै बत्ती सञ्चालन हुने र बाँकी घरमा वाइरिङ नगरेकालाई पनि छिटो वाइरिङ गर्न अनुरोध गरिएको छ ।

चुनावकाे घोषणापत्रमा भनेअनुसार दुई वर्षभित्र सबै वडाका केन्द्रसम्म केन्द्रिय लाइन विस्तार र पाँच वर्षभित्र नगरपालिकाका सबै गाउँमा विद्युतीकरण गर्ने प्रतिबद्धताअनुसार विद्युत् विस्तारको काम भइरहेको मेयर रवि केसीले बताउनुभयो ।

वडा नं ५ मा पनि विद्युत् विस्तारको काम तीव्र रुपमा चलिरहेकाले अब  वडा नं ४ र ६ का बस्तीमा विद्युत् विस्तारकार्य अगाडि बढ्नुका साथै छिमेकी जिल्ला डोल्पामा पनि विद्युत् विस्तारमा सहज हुने उहाँले बताउनुभयो । विद्युत्ले जनताको घर उज्यालोसँगै आर्थिक उन्नतिमा नगरपालिकालाई समेत सहयोग पुग्ने अपेक्षा रहेको मेयर केसीको भनाइ छ ।

विद्युत् विस्तार भएसँगै ४ नम्बर वडाका पाँच सय ६६ घरपरिवार र ६ नम्बर वडाका पाँच सय ४६ घरपरिवार गरेर एघार सय १२ घरघरपरिवार लाभान्वित हुनेछन् । विद्युत् प्राधिकरण रुकुम–पश्चिम र आठबीसकोट वितरण शाखाले संयुक्त रुपमा विद्युत् विस्तारको काम गरिरहेका छन् ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया