नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – सहरी विकासमन्त्री सीता गुरुङले फाइल बोकेर सिंहदरबार धाउनु नपरोस् भनेर सङ्घीयता ल्याएको बताउनुभएकाे छ । नगर विकास कोषले आज आयोजना गरेको प्रादेशिक कार्यशालामा उहाँले नागरिकको घरदैलोमा सेवा पुर्याउन लागिपरेको बताउनुभयो ।
घरबाट सदरमुकाम जान डेढ दिन लाग्ने र क्याम्पस पढ्न दुई घण्टा हिँड्नुपर्ने बाध्यताका बीच सडक माग्न सिंहदरबार आउँदा आफ्नै फाइल कर्मचारीले लुकाएर दुःख दिएको प्रसङ्ग सम्झँदै मन्त्री गुरुङले भन्नुभयो, ‘त्यही भएर अधिकारसहितको सङ्घीयता ल्याएको हो, फाइल बोकेर सिंहदरबार पस्नु नपरोस् भनेर पालिका सरकारले नागरिकलाई यो महसुस दिलाउने गरी काम गर्नुपर्दछ ।’
प्राविधिक र वातावरणीय मूल्याङ्कनविना लहडमा बनाइएका पूर्वाधारले समस्या निम्त्याएको बताउँदै मन्त्री गुरुङले सहभागी लुम्बिनी प्रदेशभरिका नगरपालिकाका जनप्रतिनिधिकाे बीचमा पनि विकासप्रतिको बुझाइमै समस्या रहेको औँल्याउनुभयो । सडक, गाडी र भिड हुँदैमा सहर नबन्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘’सुविधासहितको अस्पताल, प्रदूषणरहित पार्क, नजिकै विद्यालय, खेल्ने उपयुक्त मैदान, सडकमा गाडीसँगै पैदल यात्रुलाई पर्याप्त स्पेस, व्यवस्थित ढल निकास, निश्चित दुरीमा सडकमै स्वच्छ खानेपानी तथा फोहोर सङ्कलनको व्यवस्था, सार्वजनिक शौचालय, आरामस्थल, बजारसँगै राम्रो पार्किङलगायत व्यवस्थापन भएको अवस्थालाई मात्रै सहर भन्न सकिन्छ ।’
मन्त्री गुरुङले पालिकाले स्रोतको अभाव पूर्ति गर्न नगर विकास कोषको पुर्नसंरचना गर्दै ऋण र अनुदानसँगै लैजाने गरी सहरी विकास मन्त्रालयले व्यापक छलफल गरी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेश पूर्वाधार प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलसहित विभिन्न मन्त्रालय र प्रदेशभरका ३६ वटा नगरपालिकाका प्रतिनिधिको सहभागिता थियो । यसअघि कोशी, मधेस र बाग्मती प्रदेशमा सम्पन्न कार्यशालापछि नगर प्रमुखहरूमा चासो बढेको र कार्यशालामा प्रभावकारी उपस्थिती रहेको प्राविधिक सहयोग तथा परामर्श सेवा महाशाखा प्रमुख सुवासराज पन्तले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।