चितवन–२, तनहुँ–१ र बारा–२ मा आज उपचुनाव

 वैशाख १०, २०८० आइतबार ६:५५:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - चितवन–२, तनहुँ–१ र बारा–२ मा आज उपचुनाव हुँदैछ । प्रतिनिधि सभा सदस्य चयनका लागि आज बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुन लागेको हो ।

निर्धक्क भइ भोट खसाल्न मतदातालाई निर्वाचन आयोगले आग्रह गरेको छ । तोकिएको मतदान केन्द्रमा उपस्थित भइ मतदान गर्नुपर्नेछ । तीनवटै क्षेत्रमा मतदानका लागि सुरक्षा व्यवस्थासहित सम्पूर्ण तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालयहरूले जनाएका छन् ।

गर्मी धेरै भएका कारण चितवन–२ का धेरैजसो मतदान केन्द्रमा मतदाताका लागि टेन्ट व्यवस्था गरिएको छ । चितवन–२ मा ४३ मतदानस्थलमा १ सय ३८ मतदान केन्द्र छन् । चितवन–२ मा १ लाख २४ हजार ६ सय ९५ मतदाता छन् । चितवन–२ मा राजनीतिक दलका १२ र स्वतन्त्र १० उम्मेदवार छन् ।

तनहुँ–१ मा ६९ मतदानस्थलमा १ सय ५२ मतदान केन्द्र तोकिएको छ । तनहुँ–१ मा १ लाख २३ हजार ३ सय ५ मतदाता छन् । तनहुँमा राजनीतिक दलका ९ उम्मेदवार छन् । आइतवार बिहान ५ बजेदेखि बेलुका ६ बजेसम्म चुनाव हुने क्षेत्रमा पर्ने पृथ्वी राजमार्ग खण्ड र भित्रि सडकमा गाडीलाई पूर्ण रूपमा बन्द गरिएको छ । 

बारा–२ मा १ लाख ५ हजार ११ मतदाताका लागि ८२ मतदानस्थलमा १ सय ३६ मतदान केन्द्र छन् । त्यहाँ दलका ११ र स्वतन्त्र २३ जना गरी ३४ उम्मेदवार छन् । बारामा नेपाल–भारत ६५ किलोमिटर सीमानाका, जिल्लाभर प्रवेश गर्ने र बाहिरिने सम्पूर्ण नाका, मुख्य सडक, पूर्वपश्चिम राजमार्ग, सहायक राजमार्ग, पथलैया–वीरगञ्ज सडकलगायतमा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

पूर्व–पश्चिम राजमार्ग र पथलैया–वीरगञ्ज राजमार्गमा लामो दूरीका बाहेक अरू गाडी आज बन्द गरिएको छ । चुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न विशेष सजगता अपनाएको आयोगले जनाएको छ ।

उपचुनाव हुने क्षेत्रमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले बारा क्षेत्र नं २, चितवन क्षेत्र नं २ र तनहुँ क्षेत्र नं १ मा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेलाई दोहोरो नागरिकता प्रकरणमा सर्वोच्च अदालतले गएको माघ १३ गते दोषी ठहर गरी सांसद पद खारेज गरेपछि चितवन–२ मा उपचुनाव हुन लागेको हो ।

तनहुँ–१ मा चुनाव जितेका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि र बारा–२ मा जसपाका सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि उपचुनाव हुन लागेको हो ।  

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया