नेपालमा उत्पादित सवारी साधन दर्ताबारे ७ दिनभित्र मन्त्रिपरिषदमा प्रस्ताव लैजाने निर्णय

 वैशाख ११, २०८० सोमबार १९:१:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा उत्पादित गाडीको दर्ता प्रक्रियामा देखिएको कानुनी जटिलता समाधान गर्न सम्बन्धित कानुनहरू संशोधन गरी सात दिनभित्र मन्त्रिपरिषदमा प्रस्ताव लैजाने निर्णय भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गणेशप्रसाद पाण्डेको संयोजकत्वमा आज साेमवार बसेको बैठकले तीन दिनभित्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले 'यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६०' मा आवश्यक संशोधन गर्ने र थप छलफल गरी सात दिनभित्र मन्त्रिपरिषदमा लैजाने निर्णय भएको हो ।

नेपालमा उत्पादित सवारी साधन  दर्तासम्बन्धी समस्या सम्बोधन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सरोकारवाला निकायहरूसँग आज छलफल गरेको सचिव पाण्डेले जानकारी दिनुभयो । छलफलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव एवम् पदाधिकारीका साथै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, कानुन मन्त्रालय, यातायात विभाग, विद्युतीय सवारी साधन 'यात्री' का पदाधिकारीको उपस्थिति थियो ।

हिजो आइतवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा उत्पादन हुने वस्तु तथा सेवालाई सहजरूपमा उत्पादनको नीतिगत व्यवस्थाका साथै प्रोत्साहनमुखी वातावरण तयार गर्न मुख्य सचिव शंकरदास बैरागीलाई निर्देशन दिनुभएको थियो ।

यसैबीच भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नेपालमा उत्पादन भएका सवारी साधन सञ्चालनमा देखिएको कानुनी जटिलता तत्काल समाधान गर्न पहल गरिने बताउनुभयो । मन्त्री ज्वालाले आज मन्त्रालय मातहतका कर्मचारी र रोकारवाला निकायसँग कार्यविधि संशोधनका लागि निर्देशन दिनुभएको हो । 'यात्री' लगायतले नेपालमा विद्युतीय मोटरसाइकल उत्पादन गर्दै आएका छन् । नेपालमा उत्पादन भएका सवारी साधनको परीक्षण पनि भइसकेको छ । तर प्रज्ञापनपत्रको अभावमा दर्ता हुन सकेका छैनन् ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया