ब्याजदरकाे समस्या समाधान हुन्छ : अर्थमन्त्री महत

 वैशाख १४, २०८० बिहीबार १९:५६:५४ | रासस
unn.prixa.net

फाइल फाेटाे

माेरङ – अर्थमन्त्री प्रकाशशरण महतले ब्याजदरको समस्या आउँदाे मौद्रिक नीतिमार्फत समाधान हुने बताउनुभएको छ । आउँदाे आर्थिक वर्षको बजेट एवम् राजस्व नीति तर्जुमाका सन्दर्भमा आज बिहीवार विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय अन्तरक्रियामा उहाँले मौद्रिक नीतिमार्फत ब्याजदर घटाइने बताउनुभयो ।

‘अर्थतन्त्रमा देखिएको शिथिलता किन आयो भन्नेबारे निजी क्षेत्र जानकार छ’, उहाँले भन्नुभयो, ‘ब्याजदरका विषयमा मौद्रिक नीति खुकुलो गर्न जरुरी छ, यसका लागि नेपाल राष्ट्र बैंकलाई भनिसकेको छु ।’ उहाँले राष्ट्र बैंकले यसलाई गम्भीररूपमा लिएको र छिट्टै एउटा निर्णयमा पुग्नेमा विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्र बैंकलाई स्वतन्त्ररूपमा काम गर्ने अधिकार भएको भन्दै अर्थमन्त्री महतले एउटा परिवेशमा राष्ट्र बैंकले मौद्रिक नीतिमा कसिकसाउ गरेको भए पनि अब भने खुकुलो गर्न जरुरी रहेको बताउनुभयो । उहाँले मौद्रिक नीतिमार्फत बजारमा पुँजी प्रवाह आवश्यक रहेको बताउनुभयो । ‘ब्याजदरले अवश्य पनि समस्या सिर्जना गरेको छ । अब मौद्रिक नीतिमार्फत पुँजी प्रवाह जरुरी छ’, उहाँले भन्नुभयो, ‘यसमार्फत उद्योग व्यवसायलाई सहयोग पुग्नेछ ।’

उहाँले अहिले पुँजीगत खर्च कम भएको भन्दै यसलाई बढाउन आवश्यक रहेको उहाँको भनाइ छ । ‘हाम्रो ठेक्का प्रक्रिया, ‘साइट क्लियरेन्स’लगायतमा समस्या छ’, उहाँले भन्नुभयो, ‘यसले गर्दा आयोजनाको काम अपेक्षा अनुसार अघि बढ्न सकेको छैन ।’ उहाँले आर्थिक वर्षको अन्तिम त्रैमासमा  ठेक्का लगाउने परम्परा हटाउनुपर्ने धारणा राख्नुभयो ।

आर्थिक वर्षको पहिलो दिनबाट काम सुरु गर्नुपर्ने भन्दै उहाँले यसका लागि सबै मन्त्रालयका साथीसँग कुरा गरिरहेको बताउनुभयो । उहाँले आगामी आर्थिक वर्षको बजेट प्रस्तुतका लागि एक महिना बाँकी रहेको भन्दै बजेटमार्फत समस्या समाधानमा आफू इमान्दारिताका साथ लाग्ने स्पष्ट पार्नुभयो ।

‘अर्थतन्त्र गाडी कुदेको जस्तै हो, गाडीमा, स्टेरिङ मात्रै राम्रो भएर हुँदैन अन्य पक्ष पनि राम्रो हुनुपर्छ’, उहाँले भन्नुभयो, ‘सबैले आ–आफ्नो जिम्मेवारी एक साथ पूरा गरेमात्रै गाडी गन्तव्यमा पुग्नसक्छ ।’ उहाँले निजी क्षेत्रलाई समस्याका कारण र नतिजा बुँदागत रुपमा उल्लेख गरी सुझाव दिन आग्रह गर्नुभयो ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया