अयोग्य लडाकुलाई पैसा बाँड्ने विषय मलाई जानकारी छैन : अर्थमन्त्री महत

 वैशाख १५, २०८० शुक्रबार १३:२१:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डो – अर्थमन्त्री डा. प्रकाशशरण महतले अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ दिने मन्त्रिपरिषद्को निर्णयबारे आफू अनभिज्ञ रहेको बताउनुभएको छ । 

शुक्रवार राष्ट्रिय युवा सङ्घले अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ दिने सरकारको निर्णयविरुद्धको ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री महतले यस्तो बताउनुभएको हो । उहाँले पैसा बाँड्ने कार्यविधि मन्त्रिपरिषद्ले पास गरेर अगाडि बढाउनेबारे आफूलाई जानकारी नभएको उल्लेख गर्नुभयो । उहाँले आफू अर्थमन्त्री भएर आएपछि अर्थ मन्त्रालय र मन्त्रिपरिषद्ले अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ दिने निर्णय नगरेको दाबी पनि गर्नुभयाे ।  

उहाँले भन्नुभयो, ‘अयोग्य लडाकुको विषय धेरै अगाडिदेखि अदालतसम्म पुगेको विषय हो । त्यसबाट पनि एउटा निर्णय भएर आयो । यसअघिको बजेटमा पनि व्यवस्था भएको छ । त्यो बेलामा म थिइनँ । म अर्थमन्त्री भएर आएपछि यस्तो खालको निर्णय अर्थ मन्त्रालयमा भएको छैन । मलाई जानकारी भएसम्म अयोग्य लडाकुलाई पैसा बाँड्ने भन्ने विषय आएको थिएन । बजेटमा व्यवस्था भएअनुसार त्यसको कार्यविधि गृह मन्त्रालयले बनाउने हो । कार्यविधि बनाउने कुरा उठेकाले त्योअनुसार कार्यविधि बनेको भनेर सुनेको छु । तर स्पष्टरूपमा भन्नुपर्दा म अर्थमन्त्री भएर आएपछि अयोग्य लडाकुलगायतका विषयमा अर्थ मन्त्रालय संलग्न छैन । म पनि संलग्न छैन ।’

अर्थमन्त्री महतले नेकपा माओवादीको चिन्ता, चासो, माग भए पनि सम्बोधन गर्नुपर्ने ठाउँमा सम्बोधन गरी सत्य निरूपण आयोगबाट समाधान गर्दा उत्तम हुने धारणा राख्नुभयो । 

उहाँले सरकारले अनावश्यक खर्च गर्ने, नचाहिने ठाउँमा राज्यको ढुकुटी खर्च गर्ने, भ्रष्टाचार गरी बेथिति गर्ने कुनै पनि काम नगर्ने बताउनुभयाे । उहाँले आफूले कुनै पार्टी, व्यक्तिलाई राज्यको ढुकुटी पोस्ने काम नगर्ने प्रतिबद्धता जनाउनुभयो ।

अयोग्य लडाकुका नाममा राज्यको ढुकुटीबाट पैसा बाँड्न नहुने भन्दै राष्ट्रिय युवा सङ्घ नेपालले अर्थमन्त्री महतलाई आज सातबुँदे ज्ञापनपत्र बुझाएको छ । ‘गएकाे चैत ६ गतेको मन्त्रिपरिषद् निर्णयबाट अयोग्य लडाकुलाई प्रतिव्यक्ति दुई लाख रुपैयाँ वितरण गर्ने गरी गृह मन्त्रालयद्वारा तयार गरी यही वैशाख ६ गतेको मन्त्रिपरिषद् वैठकमा प्रस्तुत भएको सशस्त्र द्वन्द्वका अयोग्य लडाकुलाई राहत उपलब्ध गराउनेसम्बन्धी कार्यविधि २०७९ प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, राष्ट्रिय युवा सङ्घले बुझाएको ज्ञापनपत्रमा भनिएको छ ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया