नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै - सङ्घीय संसद्को हिउँदे अधिवेशन अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले गएराति १२ बजेदेखि लागू हुनेगरी सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गर्नुभएको हो । यो हिउँदे अधिवेशनमा राष्ट्रिय सभाको १९ र प्रतिनिधि सभाको २८ बैठक बसेको छ ।
मंसिर ४ को चुनावपछि गएको २५ गते सुरु भएको प्रतिनिधि सभाको पहिलो अधिवेशनले कुनै पनि कानुन निर्माण गर्न सकेन । यसबीचमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगलाई संशोधन गर्न बनेको विधेयक, संवैधानिक परिषद् सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक र सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक दर्ता भएका छन् । चुनावपछि प्रतिनिधि सभामा तीन र राष्ट्रिय सभामा एक विधेयक दर्ता भएका थिए ।
पहिलो अधिवेशनको अन्तिम दिन हिजो प्रतिनिधि सभामा दर्ता भएका तीनवटै विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइएको छ । यसबीचमा प्रधानन्यायाधीश सिफारिससँगै संसदीय सुनुवाइका लागि संयुक्त समिति गठनमा पनि दलहरूबीच सहमति जुट्न सकेन ।
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई विशेष समितिमा छलफलका लागि पठाउने राजनीतिक सहमति पनि सदनमार्फत् कार्यान्वयन हुन सकेन । हिजोको अन्तिम बैठकमा प्रतिनिधि सभाले राष्ट्रिय सभाबाट पारित भइ आएका छवटा विधेयकलाई पनि सम्बन्धित समितिमा पठाएको छ ।
यस्तै, हिउँदे अधिवेशनको अन्तिम बैठकमा हिजो प्रतिनिधि सभाले विभिन्न १० वटा विषयगत समिति गठन गरेको छ । प्रतिनिधि सभामा १० वटा विषयगत समितिहरुमा अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति, शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति रहेका छन् । संयुक्त समिति अन्तर्गत संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।