दार्चुला : हिमपहिरोमा बेपत्ता फुपू–भदैकाे खाेजी चल्दै

 वैशाख २१, २०८० बिहीबार १३:२२:१८ | रासस
unn.prixa.net

दार्चुला – दार्चुलाको व्यास गाउँपालिका–१ छाङरुकाे भोलुम डाँडामा हिमपहिरोमा परेर बेपत्ता भएका डोटीका २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया क्षिमिसोमो थापाको खोजीमा आज बिहीवार पनि बिहानैदेखि सशस्त्र प्रहरीको टोली खटिएको छ । 

दार्चुलाको छाङरुमा रहेको सशस्त्र प्रहरी बल ५० नम्बर गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक ईश्वरीदत्त भट्टले हिमपहिरोमा परेर हराएकामध्ये तीन जनाको शव भेटिए पनि बाँकी दुई जनाको अवस्था अझै अज्ञात रहेको बताउनुभयो ।

‘बुधवार तीन वटा शव भेटिएको क्षेत्रतिर बिहानदेखि प्रहरी सहायक निरीक्षक असईको नेतृत्वमा प्रहरी टोली परिचालन भएको छ’, उहाँले भन्नुभयो, ‘यहाँ रहेका तीन वटा शव आजै परीक्षणका लागि सदरमुकाम खलङ्गा लैजाने विषयमा समन्वय भएको छ ।’ 

अहिले हिमपहिरोमा बेपत्ता ईश्वरी र क्षिमीसोमो नाताले फुपू–भदै हुनुहुन्छ । उहाँहरू एक हप्ताअघि मात्रै यार्सागुम्बा सङ्कलनका लागि छाङरु पुगेको सशस्त्र प्रहरीले जनाएको छ ।

बुधवार सुरक्षाकर्मीको टोलीले दार्चुला दुहँ गाउँपालिका–४ का ३६ वर्षीया कमला कुँवर, उहाँका छोरा १८ वर्षीय प्रवीण कुँवर र डोटीको बुडरका ४५ वर्षीय नक्कीडोमा थापाको शव भेटाएको थियो ।

यसअघि सशस्त्र प्रहरीको टोलीले यार्सागुम्बा टिप्न गएका सात जनाको उद्धार गरेको थियो । ‘आज पनि खोजीमा टोली खटिए पनि मौसम अनुकूल भइसकेको छैन’, भट्टले भन्नुभयो, ‘घटनापछि यार्सा सङ्कलक सुरक्षित ठाउँतर्फ झरेका छन् ।’ यहाँ रहेका वर्ष दार्चुलालगायतका जिल्लाबाट यार्सा सङ्कलनका लागि आउने गरेका छन् ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया