नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
साेलुखुम्बु - यतिबेला सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सयौँ आराेही प्रतिक्षारत छन् । तर मौसम अनुकूल नहुँदा आरोहण हुन सकेको छैन।
सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर) ले सगरमाथाको चुचुरोसम्म बाटो खुलाएपछि आरोही चुचुरोतिर उक्लिन्छन् । तर, झण्डै दुई हप्तादेखि सगरमाथाको आधार शिविर र आसपासका क्षेत्रमा बसेका आरोहीलाई अझै आरोहण कहिले खुल्ने हो निश्चिन्त हुने अवस्था छैन ।
आइसफल डाक्टरले सगरमाथाको साउथ कोल (चौथो शिविर) सम्म बाटो बनाइसकेका छन् । उनीहरुले चुचुरोसम्म रोप फिक्सिङ (डोरी टाँग्ने काम) गरेपछि मात्रै सगरमाथा आरोहण सुरु हुन्छ ।
पश्चिमी र स्थानीय वायुको प्रभावले एक हप्तादेखि बिग्रिएको मौसम शुक्रवारदेखि क्रमिक रुपमा सुधार आएको छ । दुई दिनदेखि काठमाण्डौसहित देशभरको आकाश खुलेर चर्को घाम लागेको छ । देशभरको मौसममा सुधार आए पनि आरोहणको सङ्घारमा बिग्रिएको सगरमाथा क्षेत्रको मौसममा अझै सुधार आएको छैन ।
वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि मौसम पूर्वानुमान गरिरहनुभएका एक वरिष्ठ मौसमविद्का अनुसार सगरमाथाको सात हजार ५०० मिटरमाथितिर तीव्र वेगको हावा चलिरहेको छ । यस क्षेत्रमा मे ३ तारिखदेखि बिग्रिएको मौसम अझै सुधारमा आउन नसकेको हो ।
'सगरमाथा क्षेत्रमा घाम लागिरहेको छ, तर, सात हजार ५०० मिटरभन्दामाथि तीव्र वेगको हावा चलिरहेकाले माथि जानसक्ने अवस्था नै छैन, वैशाख २६ र २७ गतेसम्म नै यस्तो हावा चलिरहने देखिन्छ', उहाँले भन्नुभयो ।
अहिलेको मौसममा सगरमाथा क्षेत्रमा प्रतिघण्टा ४० देखि ५० किलोमिटर हावाको वेग चलेकाले आरोहणमा कठिनाइ भएको हो । आरोही केही सगरमाथा आधार शिविरमा छन् भने केही काठमाण्डाै फर्किएका छन् । अहिलेको मौसममा आरोहण गर्दा जोखिम हुने भएकाले सबै आरोही अनुकूल मौसमको पर्खाइमा छन् ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान शाखाका मौसमविद् रोजन लामिछानेका अनुसार मौसम क्रमिकरुपमा सुधार हुँदैगएको छ । केही दिनका लागि नयाँ मौसमी प्रणाली देखिएको छैन । 'सगरमाथा क्षेत्रमा केही बादल लागेको छ, दिउँसाेतिर सगरमाथाको माथिल्लो भेगमा बादल बढेर हल्का वर्षा हुने देखिन्छ', उहाँले भन्नुभयो ।
महाशाखाले हरेक दिन बेलुका सगरमाथालगायत हिमालको मौसम पूर्वानुमान गर्ने गरेको छ । पछिल्लो विवरणमा सगरमाथा क्षेत्रको मौसममा केही सुधार आइरहेको छ । महाशाखाको लुक्ला स्टेशनबाट समन्वय गरेर मौसम पूर्वानुमान गरिन्छ । महाशाखाले सगरमाथा, अन्नपूर्ण क्षेत्रलगायतमा सरसफाइ अभियानलाई पाँच दिनसम्मको मौसम पूर्वानुमान गरेर पठाइने गरेको मौसमविद् लामिछानेले जानकारी दिनुभयो ।
मौसम अनुकूल भइदिएको भए यही वैशाख २१ गते बिहीवार सगरमाथाको चुचुरोसम्म पुग्ने बाटो खुलिसक्थ्यो । पूर्वनिर्धारित तालिकाअनुसार सगरमाथाको चुचुरोसम्म डोरी टाँग्ने (रोप फिक्सिङकाे काम ) गर्ने योजना रद्द भयो ।
झण्डै दुई हप्तादेखि बिग्रिएको मौसमले सगरमाथा आरोहणमा समेत अवरोध पुगेको छ । प्रतिकूल मौसमका कारण आइसफल डाक्टरलाई चुचुरोसम्म पुग्न कठिन भइरहेको सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा पाएको इमेजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसन कम्पनीले जनाएको छ ।
इमेजिन नेपालका कार्यकारी निर्देशक दावा ग्याल्जेन शेर्पाले मौसमले साथ दिएमा वैशाख २९ गते सगरमाथाको चुचुरोसम्म डोरी टाँगेर आरोहण सुरु हुने विश्वास व्यक्त गर्नुभयो । 'सगरमाथा क्षेत्रको मौसममा अझै पूर्णरुपमा सुधार आएको छैन, शुक्रवारको तुलनामा आज मौसम राम्रो छ, आशा छ, वैशाख २९ गतेसम्म चुचुरोसम्मको बाटो खुलाउने योजना साकार हुनेछ', उहाँले भन्नुभयो ।
सगरमाथाको दोस्रो शिविरसम्म सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) ले बाटो बनाएको थियो । सगरमाथाको साउथ कोलसम्म वैशाख १० गते नै बाटो खुलिसकेको थियो।
सगरमाथा आरोहणको ढोका खुलाउने प्रतिक्षामा रहेका आइसफल डाक्टरजस्तै आरोहणको अनुकूल मौसमका लागि नेपाली र विदेशी गरी चार सयभन्दा बढी सगरमाथा आरोही प्रतिक्षारत छन्
केही आरोहीले आधार शिविरबाट विभिन्न शिविरतिर सामान ओसारिरहेका छन् । आरोहणका लागि सिजनमा विभिन्न कम्पनीले छुट्टाछुट्टै निकायबाट मौसम रिपोर्ट लिन्छन् । ‘वीन्डी एप’, ‘निम्सदाई स्टोर एप’ लगायतबाट मौसम रिपोर्ट लिइने गरिएको छ । विभिन्न देशबाट आएका आरोहीले सम्बन्धित देशबाट मौसमी विवरण लिएर आरोहणमा निस्कन्छन् ।
पर्यटन विभाग पर्वतारोहण शाखाका निर्देशक युवराज खतिवडाले सगरमाथा क्षेत्रमा मौसम क्रमिक रुपमा सुधार हुँदै गएको बताउनुभयो । उहाँले भन्नुभयो, 'सगरमाथा क्षेत्रमो मौसम सुधार भइरहेको छ, म आफू पनि आधार शिविर पुगेर आजै फर्किदैँछु । आरोही अनुकूल मौसमको प्रतिक्षामा आधार शिविरमा आराम गरिरहेका छन् ।'
वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न यसपालि इतिहासकै सर्वाधिक बढी आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार ४३ आरोही समूहका चार सय ६६ आरोहीले आरोहण अनुमति लिएका हुन् । जसमा ९८ महिला र तीन सय ६८ पुरुष छन् । सगरमाथा आरोहणको ७० वर्षे लामो इतिहासमा यो यामको आरोहणमा सबैभन्दा बढी आरोहीको सङ्ख्या हो ।
आरोहणलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन विभागले सगरमाथा आधार शिविरमा अनुगमन तथा सहजीकरण गर्नका लागि सम्पर्क कार्यालय स्थापना गरेको छ ।
खिमलाल गौतमको संयोजकत्वमा सम्पर्क अधिकृत, पर्यटन मन्त्रालय, विभाग, नेपाली सेना, नेपाल प्रहरी, हिमालय उद्धार सङ्घ, एसपीसीसी र स्थानीय प्रतिनिधिहरू रहेको समिति सम्पर्क कार्यालयमा रहेर सहजीकरण गरिरहेको विभागले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।