नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै - प्रतिनिधि सभाको आजको बैठकमा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै अर्बौँ रकम ठगी गरेको घटनाको छानबिनको विषयलाई लिएर सत्ता पक्ष र प्रतिपक्षबीच जुहारी चलेको छ । बैठकको प्रारम्भमा सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका सांसदहरुले यस विषयमा धारणा राखेका थिए ।
नेकपा (एमाले) संसदीय दलका सचेतक महेशकुमार बर्तौलाले अहिले सिङ्गो देशको ध्यान नक्कली शरणार्थी बनाएर लैजाने घटनामा केन्द्रित भएको भन्दै यसमा संलग्नलाई छानबिनको दायरामा ल्याउन माग गर्नुभयो । 'सत्यतथ्य, पादरदर्शी ढङ्गले छानबिन गरियोस्, तर हामी आज सुन्दैछौँ, त्यही घटनामा संलग्न भएका केही व्यक्तिलाई छाड्न बयान फेर्ने काम भइरहेको छ', उहाँले भन्नुभयो ।
सांसद पदम गिरीले जुनसुकै समयमा भएका अनियमितताका घटनालाई छानबिनको दायरमा ल्याउनुपर्ने बताउनुभयो । सांसद सूर्यबहादुर क्षेत्रीले दोषीलाई कारबाही होस्, निर्दोषलाई नफसाइयोस् भन्नुभयो ।
सांसद माधव सापकोटाले प्रमुख प्रतिपक्षीले संसद् कब्जा गर्ने उद्देश्यले विषयान्तर गरिरहेको भन्दै नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेकपा (एमाले) का नेता टोपबहादुर रायमाझीलाई प्रहरी समक्ष बुझाउन आग्रह गर्नुभयो । सांसद रामहरि खतिवडाले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न व्यक्ति कारबाहीको भागिदार हुन तयार हुनुपर्ने बताउनुभयो । उहाँले भ्रष्टाचारीलाई जोगाउने काम बन्द हुनुपर्ने बताउनुभयो ।
सांसद ज्ञानबहादुर शाहीले नक्कली भुटानी शरणार्थी बनाउने घटनामा संलग्नलाई कारबाही गर्न माग गर्नुभयो । सांसद अमरेशकुमार सिंहले राजनीतिक दलका नेताहरु विभिन्न भ्रष्टाचारसम्बन्धी घटनामा मुछिएका उदाहरण पेस गर्दै नक्कली भुटानी शरणार्थी घटनामा संलग्न नेता र कर्मचारीलाई कारबाही गर्न माग गर्नुभयो । 'उच्चस्तरीय छानबिन आयोग बनाएर भ्रष्टाचरसम्बन्धी घटनाको छनबिन गर्नुपर्छ', उहाँले भन्नुभयो । सांसद प्रेम सुवालले नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी घटनाको निष्पक्ष अनुसन्धान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद प्रदीप यादवले तत्काल नागरिकता विधेयक जारी गर्न माग गर्नुभयो । सांसद रघुजी पन्तले नागरिकता विधेयक वर्तमान राष्ट्रपतिबाट जारी गर्ने विषय कानुन सम्मत नभएको बताउनुभयो ।
सांसद सुनील शर्मा भुटानी शरणार्थीका विषयमा पक्राउ परेकालाई संसदमा ल्याएर बयान दिलाउन सभामुखको ध्यानाकर्षण गराउनुभयो । सांसद सरिता प्रसाईँले भ्रष्टाचारीलाई कुनै पनि पार्टीले संरक्षण गर्नुहुन्न, निर्दोष उम्कनुहुन्न भन्नुभयो ।
सांसद मञ्जुकुमारी मिश्रले भ्रष्टाचारका सम्बन्धमा सबै पार्टीले समान धारणा बनाएर दोषीलाई कानुनी दायरामा ल्याइनुपर्ने बताउनुभयो । सांसद आरजु राणा आफ्नो चरित्र हत्या गर्ने अभिप्रायले विभिन्न टिकाटिप्पणी भइरहेको बताउनुभयो । उहाँले सबै नेता र सांसदको सम्पत्ति विवरण सार्वजनिक होस् त्यसका निम्ति आफूहरु तयार रहेको बताउनुभयो ।
सांसद हरि ढकालले बितेकाे ३३ वर्षमा भएको भ्रष्टाचारसम्बन्धी घटनाको आयोग बनाएर छानबिन हुनुपर्ने बताउनुभयो । सांसद मेटमणि चौधरीले तत्कालीन गृहसचिव, मन्त्री र उच्च पदस्थ अधिकारी यो प्रकरणमा संलग्न रहेको खुल्दै गएकाले यो कार्यमा संलग्न सरकार प्रमुखलाई समेत कारबाही गर्नुपर्ने माग गर्नुभयो ।
सांसद दीपकबहादुर सिंह सत्तापक्ष र प्रतिपक्षले भ्रष्टाचार र अनियमितताको विषयलाई प्रभावकारी ढङ्गले उठाउन नसकेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।