एमाले बैठकमा प्रदेश र जिल्ला समन्वय समिति खारेज गर्न प्रस्ताव

 वैशाख ३०, २०८० शनिबार ६:५३:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा प्रदेश र जिल्ला समन्वय समिति खारेज गर्नुपर्ने आवाज उठेको छ । अस्ति बिहीबारदेखि सुरु भएको बैठकमा समूहगत धारणा राख्ने क्रममा केही नेताहरूले प्रदेश खारेज गरेर केन्द्र र पालिकालाई बलियो बनाउनुपर्ने सुझाव दिएका हुन् ।

प्रदेश र जिल्ला समन्वय समितिले केही पनि काम गर्न नसकेको ती नेताहरुको भनाइ छ । केही नेताहरुले लिखित रुपमा र केही नेताहरुले बोल्ने क्रममा प्रदेश संरचना खारेजीको विषय उठाएका छन् ।  प्रदेश संरचना खारेज गरेर सुधारिएको संघीयतामा जान सकिने नेताहरुको प्रस्ताव छ । 

बैठकमा शासकीय स्वरुप र चुनाव प्रणालीको पुनरावलोकन गर्नुपर्ने आवाज पनि उठेको छ । प्रदेश संरचना आर्थिक हिसाबले बोझ भएको र नागरिकलेसमेत यसको आवश्यकता महसुस गर्न छाडेको नेताहरुको भनाइ छ । केही नेताहरुले स्थिर र बलियो सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीमा जानुपर्ने प्रस्ताव गरेका छन् । केन्द्रमा बढीमा १५ र प्रदेशमा बढीमा सात जना मन्त्री हुनुपर्ने तथा जनप्रतिनिधिको संख्यामा भारी कटौती गर्नुपर्ने प्रस्ताव पनि एमालेको बैठकमा उठेको छ । 

यस्तै एमाले केन्द्रीय सदस्यहरुले हरेक वर्ष विभिन्न पदमा बसेका पदाधिकारी सहितका नेताहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न पनि सुझाव दिएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका, भ्रष्टाचारमा संलग्न पुष्टि भएकालाई तत्काल पार्टीबाट निलम्बन गरेर कारवाही प्रक्रिया अघि बढाउन पनि नेताहरुको जोड छ । 

आज बस्ने बैठकले सबैको सुझाव समटेर प्रतिवेदनलाई संशोधन सहित पारित गर्ने एमालेले जनाएको छ । केन्द्रीय कमिटी बैठक सकेर आजै स्थायी कमिटी बैठक बस्ने एमालेको तयारी छ । 
 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया