नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – आयुर्वेदिक औषधि उत्पादन गरी बिक्री/वितरण गर्ने तीन सय वर्ष लामो इतिहास भएको सिंहदरबार वैद्यखाना विकास समितिका कर्मचारीले तीन महिनादेखि तलब पाएका छैनन् ।
आयुर्वेदिक औषधि उत्पादन गर्ने संस्थामा उत्पादन नै नहुने भएपछि कर्मचारीले तीन महिनादेखि तलब नपाएका हुन् । तलब नपाउँदा कोठा भाडा तिर्न, बिहान बेलुकाको जोहो गर्न र बालबालिकाको विद्यालय भर्ना एवम् मासिक शुल्क तिर्नसमेत समस्या भएको धेरैजसाे कर्मचारीको गुनासो छ । समितिका कर्मचारी तीन महिनादेखि तलब नपाएपछि दिनभर कार्यालय आउँछन् र बेलुकी निराश भएर घर फर्कने गरेका छन् ।
वैद्यखानाका कर्मचारीले फागुनदेखि नै तलब पाएका छैनन् । निमित्त कार्यकारी निर्देशक रामदेव यादव एक महिनादेखि कार्यकक्षमा नबस्दा कार्यालयमा अन्य समस्या पनि आएको कर्मचारी बताउँछन् । कार्यकारी निर्देशक यादव यही वैशाख ३ गतेदेखि नै बिहान एक पटक विद्युतीय हाजिर गरेर हिँड्ने गरेको गुनासो धेरैजसाे कर्मचारीको छ । समितिका प्रशासन शाखा प्रमुख रुन्धाता कोइराला विद्युतीय हाजिर 'फेस रिडर' को लिङ्कसमेत निमित्त कार्यकारी निर्देशक यादवले आफ्नै कार्यकक्षमा थुनेर हिँडेको बताउनुहुन्छ ।
‘कर्मचारीको बिदालगायत अभिलेख पनि निमित्त कार्यकारी निर्देशककै कार्यकक्षमा छ, शनिjfरदेखि कार्यालयमा कार्यरत माली सानीमाया लामाको अनिवार्य अवकाश भयो, टिप्पणी तयार छ, निमित्त कार्यकारी निर्देशक हाजिरमा अनुहार देखाएर हिँड्ने गरेकाले कसैलाई स्वीकृत गराउन पाएको छैन, यस्ता नियमित काम र समस्या कार्यालयमा धेरै छन्, समस्या समाधानतिर निमित्त कार्यकारी निर्देशकको ध्यान गएको छैन’, उहाँले भन्नुभयो ।
तीन महिनादेखि तलब नपाउँदा समितिका कविराज वैद्यका रूपमा कार्यरत आदित्य ठाकुरलाई घरखर्च चलाउन मुस्किल भएको छ । समितिले क्षमताअनुसार औषधि उत्पादन गर्न नसक्दा समस्या हुन थालेको हो । समितिमा लामो समयदेखि कार्यालय प्रमुखको विवाद हुँदै आएको छ ।
सर्वोच्च अदालतले वैशाख ३ गते समितिका वरिष्ठ कर्मचारी ऋषिराज रेग्मीले दायर गर्नुभएको मुद्दामा निमित्त दिने भए कार्यालयकै वरिष्ठलाई दिनुपर्छ भनी फैसला गरेको थियो । फैसलाको पूर्णपाठ भने आएको छैन । यही फैसलापछि निमित्त कार्यकारी निर्देशक यादव बिहान हाजिर गरेर हिँड्न थाल्नुभएको हो । सर्वोच्चले फैसला गरेपछि रेग्मीले निवेदन लेखी त्यसको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पनि गराउनुभएको छ ।
मन्त्रालयका सचिवद्वय डा. रोशन पोखरेल र देवकुमारी गुरागाइँले वैद्यखानाका विषयमा बेवास्ता गर्दा संस्थामा धेरै समस्या आउन थालेको बताइएको छ । लामो समयदेखि समितिका कर्मचारीले पनि गठन आदेश बमोजिम ११ औँ तहको कार्यकारी निर्देशक नियुक्ति गर्न माग गर्दै आएका छन् । निमित्त दिने भए समितिकै वरिष्ठ कर्मचारीलाई दिनुपर्ने धेरैजसाे कर्मचारीको माग छ ।
समिति गठन आदेशमा आयुर्वेद समूहको ११ औँ तहका कर्मचारीलाई कार्यकारी निर्देशक बनाउने व्यवस्था भए पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १० औँ तहका कर्मचारीलाई निमित्त बनाएर पठाउन थालेपछि लामो समयदेखि वैद्यखानामा विवाद हुँदै आएको छ । समितिका निमित्त कार्यकारी निर्देशक डा. यादव कारखानामा कर्मचारीले काम नगरेका कारण पैसा नभएर कर्मचारीलाई तलब खुवाउन नसकेको बताउनुहुन्छ ।
फागुनदेखि कर्मचारीलाई तलब खुवाउन नसकेको भने उहाँले स्वीकार गर्नुभयो । ‘शिलाजित र च्यवनप्राश बनाएर १० लाख रुपैयाँ जम्मा भएकाले केही दिनमा तलब खुवाउने तयारीमा छ, मन्त्रालयले पनि कारखानाले आफैँ कमाएर खानुपर्छ भनेको छ, समितिका कर्मचारीले भने काम गर्न मन नै लगाएका छैनन्’, निमित्त कार्यकारी निर्देशक यादवले भन्नुभयो ।
विसं २०७९ असोज १४ गते निमित्त कार्यालय प्रमुख भएर आएदेखि नै यादव विवादमा हुनुहुन्छ । असोजअघि पनि समितिका कर्मचारीले तीन महिनाको तलब एकै पटक पाएका थिए । त्यस बेला डा. श्यामबाबु यादव निमित्त कार्यालय प्रमुख भएर आएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सहयोगमा कर्मचारीले त्यस बेला तलब पाएका थिए । श्यामबाबुपछि मन्त्रालयले आयुर्वेद विभागका महानिर्देशकलाई नै समितिका कार्यकारी निर्देशकको जिम्मेवारीसमेत दिएको थियो । दुई हप्तामै मन्त्रालयले फेरि डा. रामबाबुलाई नियुक्त गरेको हो ।
निर्वाचन आचारसंहिता लागिरहेका बेला नियुक्त भई निमित्त कार्यालय प्रमुख भएर आएको भन्दै समितिका धेरैजसाे कर्मचारीले उहाँलाई स्वीकारेका छैनन् । निर्वाचन आयोगले मन्त्रालयलाई आचारसंहिता जारी भएका बेला भएको नियुक्ति खारेज गर्न आदेश दिए पनि कार्यान्वयन भएको छैन । निर्वाचन आचारसंहिता विपरीत यादवलाई निमित्त कार्यकारी निर्देशक नियुक्त गरेको भन्दै निर्वाचन आयोगले तत्कालीन मन्त्री भवानीप्रसाद खापुङलाई पाँच हजार रुपैयाँ जरिवाना गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।