प्रधानमन्त्री प्रचण्डले जेठ ४ गते संसदमा प्रश्नाेत्तर गर्ने तयारी

 वैशाख ३१, २०८० आइतबार १८:१३:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ ४ गते बिहीवार प्रतिनिधि सभाकाे बैठकमा प्रश्नोत्तर गर्ने तयारी गरिएको छ । आज आइतवार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रधानमन्त्रीले प्रतिनिधि सभा बैठकमा गर्ने प्रश्नोत्तरको सम्बन्धमा छलफल भएको हो ।

बैठकपछि न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले जेठ ४ गतेको संसद् बैठकमा प्रधानमन्त्री प्रश्नोत्तरमा सहभागी हुने तयारी भएको जानकारी दिनुभयो । उहाँले संसदभित्र रहेका दलहरूको शक्तिका आधारमा प्रधानमन्त्रीलाई प्रश्न सोध्ने समझदारी भएको पनि बताउनुभयो । 

यस्तै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदीय समितिको बैठक पनि चाँडै बोलाउने सहमति भएको बताउनुभयो । उहाँले सकेसम्म सोमवार (भोलि) नै समितिको बैठक बोलाउन जोड गरिएको उल्लेख गर्नुभयो । उहाँका अनुसार संयुक्त समिति बनाउनका लागि नियमावली संशोधन आवश्यक रहेकाले त्यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने कुरा पनि भएको छ ।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले समितिको बैठक बस्न कुनै समस्या नभएको बताउनुभयो । उहाँले प्रतिनिधि सभा नियमावलीअनुसार प्रधानमन्त्रीलाई सोध्ने प्रश्न तीन दिनअघि नै सभामुखकाेमा पुग्नुपर्ने र त्याे प्रश्नहरू प्रधानमन्त्रीलाई जानकारी गराइने व्यवस्था रहेको उल्लेख गर्दै इच्छुक १५ जना सदस्यले प्रश्न सोध्न पाउने पनि स्पष्ट पार्नुभयो ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया