आफ्नै पाठ्यक्रम पढाउँदै कालीकोटका दुई पालिका

 जेठ १, २०८० सोमबार ९:४५:५२ | रासस
unn.prixa.net

कालीकाेट - कालीकाेट जिल्लाको नौ पालिकामध्ये दुई गाउँपालिकाले आफ्नै पाठ्यक्रम पढाउन थालेका छन् । कालीकाेटकाे महावै गाउँपालिका र पचाल झरना गाउँपालिकाले स्थानीय पाठ्यक्रम बनाएर पाठ्यपुस्तक तयार गरेका हुन् । 

महावै गाउँपालिकाले ‘हाम्रो महावै’ र ‘हाम्रो गौरव’ नामको र पचाल झरना गाउँपालिकाले ‘हाम्रो पचाल झरना’ पाठ्यपुस्तक बनाएको हो । दुवै गाउँपालिकाले शैक्षिक सत्र विसं २०८० देखि गाउँपालिकाभरका विद्यालयमा पाठ्यक्रम लागू हुने गरी पाठ्यपुस्तक सञ्चालनमा ल्याएका हुन् । पचाल झरना गाउँपालिकाले कक्षा एकदेखि आठसम्म स्थानीय पाठ्यक्रम लागू गरेको छ । 

पालिकालाई शिक्षा ऐनले दिएको अधिकारलाई प्रयोग गर्दै विद्यालयलाई पठनपाठनका लागि हस्तान्तरण गरिएको पचाल झरना गाउँपालिका गाउँ शिक्षा शाखा प्रमुख नमराज शाहीले बताउनुभयो । ‘शिक्षा ऐनले दिएको अधिकारअनुसार नै पाठ्यक्रम तयार पारेका छौँ', उहाँले भन्नुभयो, 'यसमा हामीले पालिकाभरका सबै क्षेत्र समेटेर पाठ्यक्रम तयार पारेका हौँ ।' 

महावै गाउँपालिकाले आफ्नै पाठ्यक्रम तयार पारेर विद्यालयमा पढाउन थालेको छ । कक्षा एकदेखि आठसम्मका विद्यार्थीले अनिवार्य अध्ययन गर्नुपर्ने गरी पाठ्यक्रम र पाठ्यपुुस्तक निर्माण गरेको गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले बताउनुभयो । 'जिल्लाको स्थानीय पाठ्यक्रम तयार पारी लागू गर्ने महावै गाउँपालिका पहिलो भएको छ', उहाँले भन्नुभयो, 'नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गर्दै गाउँपालिकाले पाठ्यक्रम र पाठ्यपुस्तक तयार पारेको हो ।'

पुस्तकमा १० वर्षे जनयुद्धको इतिहास, गाउँका पर्यटकीयस्थल, गाउँपालिकाको भौगोलिक, आर्थिक, सामाजिक, राजनीतिक अवस्थिति, ऐतिहासिक स्थलबारे जानकारी, हावापानी, कृषि तथा त्यसको सम्भावना लगायतका बारेमा उल्लेख गरिएको गाउँपालिका अध्यक्ष सिंहले बताउनुभयो ।

उहाँले भन्नुभयो, 'सार्वजनिक महत्त्वको क्षेत्र, चट्याङ, बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपको सम्भाव्य क्षेत्र र त्यसको कारण, विभिन्न जात जातिले मनाउने चाडपर्व, उनीहरूका रहनसहन, वेशभूषा, भाषा, संस्कृति, गाउँपालिकाभित्र रहेका खोला नालाबारेका विषय पुस्तकमा समेटिएका छन्।’

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया