नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – एक वर्षअघि व्यावसायिक रूपमा सञ्चालनमा आएको रुपन्देहीको भैरहवामा रहेकाे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले अहिलेसम्म राम्राे 'बिजनेस' पाउन सकेको छैन ।
विसं २०७९ जेठ २ गतेदेखि सञ्चालनमा आएको याे विमानस्थलमा कुवेतको जजिरा एअरवेजले उडान गरिरहेको थियो । यद्यपि यो एअरलाइन्सले पनि विभिन्न कारण देखाउँदै उडान नियमित गरेको छैन । अघिल्लो पटक झन्डै दुई महिना उडान स्थगित गरेको जजिराले पुनः एक महिनादेखि भैरहवा–कुवेत उडान बन्द गरेको विमानस्थल कार्यालयले जनाएको छ ।
जेठ १५ गतेदेखि उडान गर्ने निगमको तयारी
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले जेठ १५ गतेदेखि उडान गर्ने गरी आवश्यक तयारी गरिरहेको छ ।
निगमले भैरहवाबाट भारतको नयाँ दिल्ली र मलेसियाको क्वालालम्पुर हप्तामा एक/एक उडान गर्ने कार्यतालिका बनाएको छ । मलेसियाबाट उडान अनुमति पाइसकेको निगमले भारतबाट अझै अनुमति पाएको छैन ।
‘भारतबाट उडान अनुमति पाएका छैनौँ, 'अन्डर प्रोसेस' भनेर सन्देश आएको छ, एक/दुई दिनभित्रै निर्णय आउला, अनुमति पाउनासाथ टिकट बिक्री खुला गर्नेछौँ‘, निगमका प्रवक्ता रमेश पौडेलले भन्नुभयो ।
उहाँका अनुसार 'इनरुट' मा पर्ने देशबाट 'ओभर प्लाइट' को अनुमति र सम्बन्धित देशको 'ल्यान्डि पार्किङ' को अनुमति आउनसाथ काम अगाडि बढ्नेछ । यसका लागि सम्बन्धित देशसँग अनुमति प्रक्रियामा रहेको प्रवक्ता रमेश पौडेलले बताउनुभयो । गौतमबुद्ध विमानस्थलबाट उडान सुरु गरेपछि निगमकाे भैरहवा–दिल्ली–काठमाण्डाै र काठमाण्डाै–मलेसिया–भैरहवा उडान हुनेछ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेका नेपाल एअरलाइन्सले गर्मीयाम (समर) मा उडानका लागि तालिका पेस गरिसकेको छ । ‘निगमको भैरहवामा उपस्थिति नै हाम्रा लागि सकारात्मक पक्ष हो, अन्य अन्तर्राष्ट्रिय एअरलाइन्सले पनि चासो देखाइरहेकाले उनीहरूलाई आकर्षण गर्न यसले मद्दत पुग्नेछ’, उहाँले भन्नुभयो ।
जजिराको उडान अलमलमा
झन्डै एक महिनादेखि जजिरा एअरवेजले उडान बन्द गरेको छ । जजिराले वैशाख ६ गते (अप्रिल १९) देखि भैरहवा–कुवेत उडान बन्द गरेको विमानस्थल कार्यालयले जनाएको छ । पछिल्लो समय जजिराले कुवेत–भैरहवा हप्तामा तीन वटा उडान भर्दै आइरहेको थियो । तर उडान अवतरणमा समय तालिका नमिलेपछि स्थगित गरेको एअरलाइन्सले उल्लेख गरेको छ ।
यसअघि जजिराले मङ्गलवार, बिहीवार र शुक्रवार बिहान सवा ७ बजे विमानस्थलमा अवतरण हुने र ८ बजेर ५ मिनेटमा कुवेतका लागि उडान गर्दै आएको थियो । तर यात्रु सुविधाका लागि भन्दै जजिराले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग समय तालिका परिर्वतन गरेर उडान गर्न अनुमति मागेको थियो । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार जजिराले व्यावसायिक कारण देखाउँदै उडान स्थगित गरेको र कहिलेदेखि उडान हुने टुङ्गो नरहेको बताउनुभयो । पछिल्लो पटक मौसमका कारण झन्डै दुई महिना रोकिएको उडान गएकाे फागुन २५ गतेदेखि पुनः सुरु भएको थियो ।
जजिराले २०७९ साल जेठ २ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरु गरेको थियो । व्यावसायिक उडान गरिरहेको जजिराले विमानस्थल सेवा शुल्कमा पनि छुट पाएको थियो ।
जजिराले एक वर्षसम्मका लागि विमानस्थलमा लाग्ने अवतरण, पार्किङ, सञ्चार तथा उड्डयन सहायता सेवा र सुरक्षा जाँचमा शुल्क छुट पायो । विमानस्थलले यस्तो छुट थप एक वर्ष लम्ब्याएको छ । अन्तर्राष्ट्रिय एअरलाइन्सले विसं २०८१ सम्म शुल्क छुट पाउनेछन् ।
एक वर्षमा ३५ हजार अन्तर्राष्ट्रिय यात्रु
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको एक वर्षमा अन्तर्राष्ट्रियतर्फ तीन सय ५९ उडानमार्फत झन्डै ३५ हजार जना यात्रुले आउजाउ गरेका छन् । विमानस्थलका महाप्रबन्धक पाण्डेका अनुसार ३४ हजार आठ सय ७७ अन्तर्राष्ट्रिय यात्रुको आवागमन भएको छ । आन्तरिक उडान नियमित भइरहे पनि अन्तर्राष्ट्रिय उडान बढ्न नसकेको उहाँले बताउनुभयो ।
म्यान्मार, थाइल्यान्ड र कम्बोडियाबाट उडान चासो
गौतमबुद्ध विमानस्थलमा उडानका लागि विभिन्न अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीले चासो दिएका छन् । विमानस्थलका अनुसार अहिले म्यान्मार, थाइल्यान्ड, कम्बोडियालगायत देशबाट उच्च अधिकारीले विमानस्थलको स्थलगत अवलोकनसमेत गरेका छन् ।
म्यान्मारले छिट्टै चार्टर्ड उडान गर्ने मौखिक प्रतिक्रिया दिएको छ भने अन्य एअरलाइन्सले थप छलफल गरी उडान गर्ने सङ्केत गरेका छन् । भैरहवाबाट बौद्धमार्गीहरूको बाहुल्यता भएका देशमा उडान विस्तार हुने अनुमान गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।