पशुपतिको जलहरीबारे छानबिन गर्न संसदीय समिति बनाउन माओवादी सांसदको माग

 जेठ १२, २०८० शुक्रबार १६:४२:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले पशुपतिको जलहरीको विषयमा छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग गर्नुभएको छ ।

शुक्रवार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद दाहालले पशुपतिनाथ मन्दिरमा जलहरी लगाउँदा सुन कम भएको कुरा आएको भन्दै त्याे विषयमा छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग गर्नुभएको हो । आफूले जलहरीको कुरामात्रै संसदमा नउठाएको भन्दै उहाँले केपी ओली नेतृत्वको सरकारमा भएका भ्रष्टाचारका विषयहरू उठाएको र तत्कालीन प्रधानमन्त्रीको हैसियतले ओलीले जिम्मेवारी लिनुपर्ने भनेको बताउनुभयो । आफूले ओलीलाई व्यक्तिगतरूपमा किटान नगरेको उहाँको भनाइ छ । उहाँले आफूले संसदीय मर्यादा उल्लङ्घन नगरेको पनि बताउनुभयाे ।

उहाँले भन्नुभयो, ‘पशुपतिनाथमा जलहरी लाउँदा सुन भनेर पित्तल लगाएको काण्ड, ११ किलो सुन कम भएको महालेखाको प्रतिवेदनमा पनि आएको छ । महालेखाको प्रतिवेदनमा पनि त्यहाँ हिसाब प्रस्ट नभएको, सुन कम भएको, ज्याला दिएको पनि कुनै लेखाङ्कन नभएको उल्लेख छ । यस विषयमा छानबिन गर्न संसदीय समिति गठन गरौँ । त्यो सुन कसले खायो ? नैतिक हिसाबले सरकारको नेतृत्व गरेको नाताले तत्कालीन नेकपाको अध्यक्ष र प्रधानमन्त्री भएको नाताले स्वभावैले केपी ओलीले लिनैपर्छ । तर व्यक्तिगत हिसाबले किटान गरिएको थिएन । उहाँको सरकारको पालामा भएको भ्रष्टाचारको फेहरिस्त बताउने क्रममा यो विषयवस्तु उठान भएको हाे । मैले कहीँ संसदीय मर्यादा उल्लङ्घन गरेको छैन ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले पनि पशुपतिको जलहरी प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति बनाउन माग गर्नुभयो । उहाँले आजै छानबिन समिति गठन गर्नुपर्ने बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया