नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालप्रति आक्राेश व्यक्त गर्नुभएकाे छ । देशमा कोही पनि इमानदार मान्छे छैनन् भनेर देखाउन सांसद दाहालले संसदमा आफूमाथि पशुपतिनाथमा सुनको भनेर पित्तलको जलहरी चढाएर भ्रष्टाचार गरेको अभिव्यक्ति दिनु देशद्रोह भएकाे उहाँको जिकिर थियो ।
पार्टीको स्कुल विभाग र स्थानीय निकाय विभागले शुक्रवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले त्यस्ता असत्य, आधारहीन र नागरिकलाई भ्रममा पार्ने कुरालाई पुष्टि गर्ने कुनै आधार नभएको पनि बताउनुभयो । कुनै पनि भ्रष्टाचारको काण्डमा एमाले संलग्न नभएकाे दाबी गर्दै उहाँले सत्तारूढ दलहरूले मिलेर आरोप लगाइरहेको बताउनुभयाे ।
उहाँले भन्नुभयो, ‘हामी यति बेला चौतर्फी घेराबन्दीमा छौँ । नेकपा एमाले भ्रष्टाचारको सधैँ विरोधी छ । स्वच्छता, पारदर्शीता, सुशासनको पक्षमा छ । तर एमालेलाई बदनाम गर्न खोजियो । आज संसदमा पशुपतिमा सुनको जलहरी चढाउँछु भनेर पित्तलको जलहरी चढाएर भ्रष्टाचार गर्याे भनेर एक जना सांसदले बोले । संसद आधारहीन, असत्य र नागरिकलाई भ्रममा पार्ने खालका कुराहरू गर्ने ठाउँ हाेइन । नेकपा एमाले, त्यसमा पनि मैले, जसले जिन्दगीभर भ्रष्टाचारविरुद्धको अभियान चलाएर आएको छु । त्यही मान्छेका विरुद्ध यो त इमानका शत्रुहरूले गर्ने काम हो । यो भनेकाे देशमा कोही पनि इमानदार छैन भन्ने स्थापित गरेर देशप्रतिकै वितृष्णा जगाउने देशद्राही काम हो ।’
अध्यक्ष ओलीले सांसद दाहालप्रति सङ्केत गर्दै सामाजिक मर्यादाको समेत ख्याल नगर्नेहरू सांसद भएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले देशलाई लोकतान्त्रिक, विकसित, आधुनिक र समृद्ध बनाउने अभियानलाई आफ्नो पार्टीले सफल बनाउने दाबीसमेत गर्नुभयो ।
अध्यक्ष ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफू नजिककालाई जबरजस्ती पोल्न लगाइएको जिकिर गर्नुभयाे । यस प्रकरणमा एमालेलाई मुछ्न बयानसमेत रोकिएको उहाँकाे आरोप थियाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।