डेङ्गीको सङ्क्रमणबाट जोगिन स्वास्थ्य मन्त्रालयकाे आग्रह

 जेठ १३, २०८० शनिबार १८:४५:५ | रासस
unn.prixa.net

काठमाण्डाै - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्मीयामसँगै पानी पर्न थालेकाले डेङ्गीको सङ्क्रमणबाट जोगिन आग्रह गरेको छ । पानी परेसँगै लामखुट्टेका लार्भाको सङ्ख्या बढ्ने भएकाले मन्त्रालयले डेङ्गी सङ्क्रमणबाट जोगिन आग्रह गरेको हो । 

मन्त्रालयले एक सूचना जारी गर्दै डेङ्गीको सङ्क्रमणबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नुपर्ने भन्दै सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएका लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ । 

यस्तै सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घरवरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिनसमेत आग्रह गरेको छ । 'पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ । ती फुल लार्भा भएर निस्कन्छ र वयस्क लार्भा लामखुट्टे बन्छ', इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालले भन्नुभयो ।

उहाँले अहिले पानी परिरहेकाले सचेत रहन सबैलाई आग्रह गर्नुभयो । 'दैनिक पानी परिरहेको छ । पानी जम्मा भइ लामखुट्टेले फुल पार्दछ', उहाँले भन्नुभयो, 'सफा पानीमा त्यही लार्भा बन्ने र मानिसलाई टोक्ने गर्दछ । डेङ्गीको सङ्क्रमणबाट बच्न सरसफाइ गर्न आवश्यक छ ।'

रोग नियन्त्रण शाखाका प्रमुख डा दाहालका अनुसार सन् २०२२ सम्ममा ५४ हजार छ सय ३० जनामा डेङ्गी देखिएकामा ८८ जनाको ज्यान गएकाे थियाे । गएकाे पुस १५ देखि अहिलेसम्म सात सय एक जनामा डेङ्गीको सङ्क्रमण देखिएको छ । 

मन्त्रालयले हरेक शुक्रवार डेङ्गी विरुद्धका अभियान सञ्चालन गर्न पनि आग्रह गरेको छ । मन्त्रालयले हरेक शुक्रवार बिहान साढे १० बजे सबै कर्मचारी सहभागी भइ सरकारी तथा सार्वजनिक कार्यालय हाताभित्र र वरिपरि सरसफाइ अभियान सञ्चालन गर्न आग्रह गरेको हो । 

सामान्य प्रकारको डेङ्गीमा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि जस्ता लक्षण देखा पर्दछन् । नेपालमा पहिलो पटक सन् २००४ मा एक जनामा डेङ्गी देखिएको थियो । सन् २००५ मा भने डेङ्गीका बिरामी देखिएनन् । त्यसपछि सन् २००६ देखि डेङ्गीको सङ्क्रमण देखिँदै आएको छ ।  

मन्त्रालयका अनुसार सन् २००६ मा ३२,  सन् २०१० मा नौ सय १७, सन् २०१३ मा छ सय ८६, सन् २०१६ मा एक हजार पाँच सय २७, सन् २०१७ मा दुई हजार एक सय ११, सन् २०१८ मा आठ सय ११ र सन् २०१९ मा १७ हजार नौ सय ९२ जनामा डेङ्गीको सङ्क्रमण देखिएको थियो । सन् २०२० मा पाँच सय ३० र सन् २०२१ मा पाँच सय ४० जना डेङ्गीका बिरामी देखिएका थिए ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया