नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – राजनीतिक समाजशास्त्रका अध्यापक उद्धव प्याकुरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारत भ्रमणमा 'मेन्यु' लिएर नजान सुझाव दिनुभएकाे छ ।
आइतवार काठमाण्डाैमा भएको एक कार्यक्रममा बोल्दै अध्यापक प्याकुरेलले प्रधानमन्त्रीलाई यस्ताे सुझाव दिनुभएकाे हाे । उहाँले भारत भ्रमणमा प्रधानमन्त्रीले नेपाल र भारतको सम्बन्धको सन्दर्भमा छलफल गर्न आवश्यक रहेको बताउनुभयो । अहिलेसम्म दुई देशबीचको सहकार्यमा भइसकेका कामबाहेकका अन्य नयाँ योजनाहरूको बारेमा थप छलफल गर्न आवश्यक रहेको प्याकुरेलकाे आग्रह छ ।
उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीले मोदीजीसँग भेटेर अब नेपाल र भारतको सम्बन्धको सन्दर्भमा भइसकेका कामबाहेकका अरू काम गर्ने वातावरण बनाउनुपर्छ । त्यहाँ कुनै एजेन्डा प्रस्तुत गर्ने होइन ।यो सद्भावना भ्रमण हो । यसले सम्बन्धमा सुरुवात हुनेछन्, मेन्युले काम गर्ने छैन ।’
कार्यक्रममा नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले प्रधानमन्त्रीले भारत भ्रमणमा नेपाल र भारतबीच ऊर्जासम्बन्धी भएका सम्झौताअनुसार कार्यान्वयन गराउन दबाब दिनुपर्ने सुझाव दिनुभयाे । भारतले नेपालसँग ऊर्जासँग सम्बन्धित सम्झौताहरू गरिसकेपछि कार्यान्वयन गर्ने चरणमा थप व्यवधान झिक्ने गरेको भन्दै उहाँले यसबारेमा राजनीतिक रूपबाटै समाधान गर्नुपर्ने जोड दिनुभएको हो । उहाँले प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालको आर्थिक अवस्थाकाे बारेमा समाधानका लागि पनि ध्यानाकर्षण गराउनुपर्ने बताउनुभयो ।
भट्टराईले दुई पक्षीय व्यापार असन्तुलनका बारेमा पनि सम्बोधन गर्न जरुरी रहेको बताउनुभयो । उहाँले भारत सरकारको असहमतिका कारण भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल चलायमान बन्न नसकेको भन्दै यस विषयमा पनि समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘ प्रधानमन्त्रीकाे भारत भ्रमणमा हामीले अहिले भोगेका तत्कालिक समस्याका बारेमा पनि पहल गर्नुपर्छ । भारतीय पक्षसँग हामीले लिनुपर्ने सहयोग, उठाउनुपर्ने विषय र सम्बोधन गरेर निचोडमा पुर्याउनुपर्ने विषयकाे बारेमा गम्भीरतापूर्वक नै छलफल हुनुपर्छ । विद्युत् निर्यात गर्ने कुरामा दुई देशबीच भएकाे सम्झौतालाई अघि बढाउनुपर्छ । ’
कार्यक्रममा भारतका लागि पूर्व नेपाली राजदूत दुर्गेशमान सिंहले भारत र नेपालको परराष्ट्र मामिला राजनीतिक फुटबलको रूपमा प्रयोग भइरहेको बताउनुभयो । उहाँले भारत भ्रमणमा परराष्ट्र मामिलामा नेपाली नेताहरू पनि एक छौँ भन्ने धारणा दर्शाउन आवश्यक रहेको बताउनुभयो । उहाँले बलियो आधारसहित प्रधानमन्त्री जानसके मात्रै भारत भ्रमण बढी फलदायी हुने बताउनुभयो । नेपाल माग्ने देश जसरी 'लिस्ट' लिएर जान नहुने पूर्वराजदूत सिंहकाे सुझाव छ ।
उहाँले भन्नुभयो, ‘भारत र नेपालको परराष्ट्र मामिला राजनीतिक फुटबलको रूपमा प्रयोग भएको देखिन्छ । त्यसबाट हट्न आवश्यक छ । बलियो आधारसहित प्रधानमन्त्री जानसके मात्रै बढी फलदायी हुन्छ, नेपाल एउटा माग्ने देश जसरी लिस्ट लिएर जाने होइन, साना ठूला लिस्टहरू बोकेर जाने काम प्रधानमन्त्रीको होइन ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।