नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
भारतको भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भ्रमण ऐतिहासिक रहेको बताउनुभएको छ । उहाँले भ्रमणमा ऊर्जा व्यापारका क्षेत्रमा ‘ब्रेक थ्रु’ भएको बताउनु भएकाे छ।
नेपालको विद्युत् व्यापार, पारवहन, पेट्रोलियम पाइपलाइन विस्तार, आर्थिक पूर्वाधार निर्माणका लागि दुई देशबीच विभिन्न समझदारी भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले जलविद्युत् क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताउनुभयो ।
'जलविद्युत् क्षेत्रमा लगानीका लागि महत्त्वपूर्ण आधार तयार भएको छ', उहाँले भन्नुभयो, 'नेपालको विद्युत् बङ्लादेशसम्म निर्यात गर्नका लागि महत्त्वपूर्ण सहमति भयो ।'
महाकाली सन्धिअनुसार पञ्चेश्वर बहुउद्देश्यीय आयोजना निर्माणका लागि तीन महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने विषयमा दुई देशबीच सहमति भएको प्रधानमन्त्री प्रचण्डले जानकारी दिनुभयो । 'यी लगायत विभिन्न कारणबाट मेरो भारत भ्रमण महत्त्वपूर्ण रह्यो, प्रधानमन्त्री नरेन्द्र मोदीसँग तीन पटक भएको ‘वान टु वान’ छलफलबाट यो सहमति भएको हो', उहाँले भन्नुभयो ।
सीमा क्षेत्रमा देखिएका समस्या समाधान गर्न भारतले पहिलोपटक प्रतिबद्धता जनाएको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो । सीमामा देखिएका असमझदारी हटाउन गम्भीर भएर लागौँ भनेर आफूले प्रस्ताव गरेको उहाँको भनाइ छ ।
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा दुई देशबीच ऊर्जा तथा जलविद्युत् विकास र व्यापार, पारवहन सम्झौताको पुनरावलोकन र नवीकरण, अन्तरदेशीय प्रसारणलाइन निर्माण, पेट्रोलियम पाइपलाइन निर्माण र विस्तार, एकीकृत जाँच चौकी निर्माण, महाकाली नदीमा पक्की पुल निर्माण, अन्तरदेशीय भुक्तानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
प्रधानमन्त्री प्रचण्ड भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा यही जेठ १७ गतेदेखि भारतको औपचारिक भ्रमणमा हुनुहुन्छ । भ्रमणका क्रममा बिहीवार हिजाे प्रधानमन्त्री प्रचण्डले भारतका राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति जगदीप धनखड र भारतीय समकक्षी मोदीसँग भेटवार्ता गर्नुभएको थियो ।
प्रधानमन्त्री प्रचण्ड आज मध्यप्रदेशको इन्दोर जाने कार्यक्रम छ । त्यहाँ रहँदा उहाँले मध्यप्रदेशका राज्यपालसँग भेटवार्ता तथा फोहर व्यवस्थापन अभ्यासको अवलोकन गर्ने कार्यक्रम छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।