दिवा खाजाले सामुदायिक विद्यालयमा बढ्यो विद्यार्थीको नियमितता

 जेठ २०, २०८० शनिबार ९:२८:३२ | रासस
unn.prixa.net

दिवा खाजाकाे रुपमा फलफूल

सिरहा – सिरहाको लहान नगरपालिकाले सामुदायिक विद्यालयका बालबालिकालाई विद्यालयमै दिवा खाजा खुवाउनुपर्ने निर्णय गरेसँगै विद्यार्थी नियमित पठनपाठनमा आउन थालेका छन् । केही दिन पहिले नगर कार्यपालिकाको बैठकबाट विद्यालयमै खाजा खुवाउनुपर्ने निर्णय गरिएको थियो । 

यसअघि खाजावापतको रकम अभिभावकलाई दिने गरिएको थियो । अहिले विद्यालयले साप्ताहिक तालिका बनाएर ‘जङ्कफुड’ प्रतिबन्ध गरी पोषणयुक्त खाजा खुवाउन सुरु गरेको छ  । खाजाको सूचीमा फलफूल, मासु, खिर, जाउलो, चिउरा(भुजा, तरकारीलगाय रहेको श्री आधारभूत विद्यालय लहानका प्रधानाध्यापक जितेन्द्र महतोले बताउनुभयो । 

“खाजा नियमित खुवाउन थालेपछि विद्यार्थी सङ्ख्या पहिलेको तुलनामा धेरै नै बढेको छ । यसबाट विद्यार्थी खुसी पनि छन्”, महतोले भन्नुभयो, “विद्यालय सञ्चालन हुने अवधिभर नानी बाबुहरु बस्न थालेका छन् । यसले गर्दा हामीलाई उत्साही बनाएको छ ।” 

विद्यार्थी नियमित हुन थालेपछि पढाइमा पनि सुधार हुन थालेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भगवतीप्रसाद चौधरीको भनाइ छ ।

विद्यालय अनुगमनका क्रममा विद्यार्थी सङ्ख्या कम देखिएपछि भइरहेका कामलाई फरक रुप दिन गरिएको प्रयासको नतिजा सुखद् भएको लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीको भनाइ छ । 

उहाँ भन्नुहुन्छ, “सामुदायिक विद्यालयमा विद्यार्थी भित्र्याउने र टिकाउने उद्देश्यका साथ नगरपालिकाले दिवा खाजा कार्यक्रम ल्याएको हो । विद्यार्थीलाई नियमित विद्यालय आउने बानी बसाल्न, शैक्षिक गुणस्तर वृद्धि र जङ्कफुडको प्रयोगलाई घटाउन ल्याइएको दिवा खाजा कार्यक्रम प्रभावकारी बनेको छ ।”

नियमित सामुदायिक विद्यालयमा अनुगमन बढाएको नगरपालिकाका शिक्षा शाखा प्रमुख अमिरीकुमार यादवले बताउनुभयो । 

बालबालिकाका लागि दिवा खाजा कार्यक्रम स्वास्थ्य, शिक्षा, सामाजिक न्याय तथा समानताको पक्षबाट महत्वपूर्ण मानिन्छ । लहानमा ५९ सामुदायिक, १२ वटा धार्मिक विद्यालयका कक्षा ६ सम्मका ११ हजार एक सय ६ विद्यार्थीमा खाजा वितरण गर्न सुरु गरिएको हो । प्रत्येक विद्यार्थीबापत सरकारले एक दिनको १५ रुपैयाँ दिने गरेको छ । 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया