उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै - जलवायु परिवर्तन लगायतका कारण तापक्रम लगातार बढिरहेको मौसमविद्ले बताएका छन् ।
जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् डाक्टर इन्दिरा कँडेलका अनुसार यो समयमा अन्य बेला भन्दा गर्मी हुने नै गर्छ । ‘त्यसमाथि पानी परेको छैन भने जलवायु परिवर्तनको पनि असर देखिन थालेको छ’, उहाँले भन्नुभयो– ‘यसले गर्दा पनि तापक्रमले नयाँ रेकर्ड बनाएको हो ।’
विश्वका अन्य देशमा जस्तै जलवायु परिवर्तनको असर बिस्तारै नेपालमा पनि देखिन थालेको कँडेलले बताउनुभयो । उहाँका अनुसार यही कारण ताता दिन बढ्दै गएको छ भने चिसा दिन घट्दै जान थालेको छ । केही दिनयता नेपालका धेरैजसो ठाउँमा तापक्रम बढिरहेको छ । केही जिल्लामा त अहिलेसम्मकै उच्च भएको छ ।
तत्काल वर्षाको सम्भावना नरहेकाले तापक्रम अझै बढ्न सक्ने जल तथा मौसम विज्ञान विभागको अनुमान छ । हिजो नवलपुरको दुम्कौली, सुनसरीको धरान, इलामको कन्याम चिया बगान र ओखलढुङ्गामा अधिकतम तापक्रम अहिलेसम्मकै उच्च थियो ।
दुम्कौलीमा सबैभन्दा धेरै अधिकतम तापक्रम ४३ दशमलव ८ डिग्री सेल्सियस मापन भएको थियो । दुम्कौलीमा यसअघि सन् १९७९ मा अधिकतम तापक्रम ४३ दशमलव ७ डिग्री सेल्सियस पुगेको थियो । आज पनि यही हाराहारीमा तापक्रम रहने अनुमान रहेको वरिष्ठ मौसमविद् डाक्टर इन्दिरा कँडेलले बताउनुभयो ।
यस्तै, गौर, जलेश्वर, लहान, चतरा, विराटनगर, तरहरालगायतका ठाउँमा यो जुन महिनाको अहिलेसम्मकै उच्च तापक्रम रेकर्ड भएको छ । गर्मी लगातार बढ्दै जाँदा अधिकतम तापक्रमले कतिपय ठाउँमा रेकर्ड बनाउन थालेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।