नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई संसदमा राजतन्त्रको वकालत नगर्न चेतावनी दिनुभएको छ ।
आइतवारको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद दाहालले राप्रपा प्रमुख सचेतक शाहीले संसद् बैठकमा अराजकता देखाएको आराेप लगाउनुभयाे । उहाँले यो संसद्ले राजतन्त्रलाई नचिन्ने भन्दै शाहीलाई संविधान र गणतन्त्र मान्न आग्रह गर्नुभयो । उहाँले संसद् राजसंस्थाको पैरवी गर्ने ठाउँ नभएको भन्दै रत्नपार्क र जुम्लामा गएर राजसंस्थाको पक्षमा आमसभा गर्न आग्रह गर्नुभयाे ।
उहाँले भन्नुभयो, ‘उहाँ (ज्ञानेन्द्र शाही) असाध्यै अराजक हो । चिहानमा पुरेको राजसंस्था फेरि बिउँताउँछु, मरिसकेको लाशलाई फेरि म पुर्नजीवन दिन्छु भनेर उहाँ बाेलिरहनुभएकाे छ । उहाँले संसदमा आइसकेपछि संविधान मान्नुपर्छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र मान्नुपर्छ । यो सदनले राजतन्त्र चिन्दैन । उनले रत्नपार्कमा भाषण गर्न सक्छन्, जुम्लामा आमसभा गर्न सक्छन्, हामीलाई राजसंस्था चाहियो भनेर आफ्नो मुद्दा राख्न सक्छन् । सदन आफ्नो मुद्दा राख्ने ठाउँ होइन । आफ्नो मुद्दाको पैरवी गर्ने ठाउँ होइन । त्यो पनि राजसंस्थाको ।’
सांसद दाहालले शाहीले प्रतिनिधि सभा बैठकको अन्तिममा नियमापत्ति गरेर आफ्नो कुरा राखेकोप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । नियमापत्तिभन्दा बाहिर गएर अभिव्यक्ति दिएको भन्दै उहाँले संसदीय नियमावलिभन्दा बहिर गएर बोलेको उल्लेख गर्नुभयो । सभामुखले समेत नियमावलीभन्दा बाहिर गएर शाहीलाई बोल्न दिएको उहाँको भनाइ छ । उहाँले संसद् बैठक सञ्चालन गर्न सभामुखले कमजोरी गरिरहेको भन्दै आफ्नो कमजोरी सच्याउन पनि आग्रह गर्नुभयो ।
सांसद दाहालले नागरिककाे खबरदारीका कारण प्रतिपक्षी नेकपा (एमाले) नागरिकता विधेयकलाई स्वीकार्ने अवस्थामा पुगेको उल्लेख गर्नुभयो । उहाँले बजेटको न्यायोचित वितरण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मानव विकास सूचकाङ्कमा जुन जिल्ला र पालिकाहरू पछि परेका छन् त्यही आधारमा बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो । सरकारले पहुँचमुखी र मन्त्रीमुखी बजेट नल्याई आवश्यकता र उपयोगिताको आधारमा बजेट ल्याउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
सांसद दाहालले पशुपतिनाथ मन्दिरको जलहरीमा भएको अनियमितता छानबिन नभएसम्म यो विषय नमर्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।