नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
चितवन – लामो समयदेखि खडेरी परेपछि नारायणगढका युवाहरूले ‘हरहर महादेव पानी देऊदेऊ’ भन्दै बजार परिक्रममा गरेका छन् । उनीहरूले गौरेश्वर पशुपति मन्दिर नारायणगढमा पूजाआजासहित बजार परिक्रममा गरेका हुन् ।
कार्यक्रमका संयोजक मनोज घिमिरेका अनुसार मन्दिरमा पूजा गरेर बाजागाजासहित नारायणगढ बजार परिक्रममा गरिएको हो । लामो समयदेखि पानी नपर्दा जनजीवन प्रभावित बन्दै गएपछि यो कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो ।
हरहर महादेवको पूजा गरेपछि पानी पर्ने विश्वासका साथ पूजा गरी बाजागाजासहित बजार परिक्रममा गरिएको हो । युवाहरूको समूहले बजारको परिक्रममा गरी पुनः मन्दिरमा पुगेर समापन भएको थियो ।
स्थानीयवासीले आ–आफ्नो घरबाट पानीले स्वागत गरेका थिए । त्यस क्रममा ‘हरहर महादेव पानी देऊदेऊ, यतिले पुगेन अझै थपिदेऊ’ जस्ता श्लोकहरू गाइएको थियो । लामो समयसम्म पानी नपर्दा जिल्लामा लगाइएका मकै तथा तरकारी बाली सुकेका छन् । योसँगै जिल्लाको विभिन्न ठाउँमा इन्द्र भगवानको पूजा गरिनुका साथै भ्यागुताको बिहेसमेत गरिएको छ ।
पानी माग्न भ्यागुताको बिहे
वालिङ : असार लाग्न थाल्यो । किसानहरू मानो खाएर मुरी उब्जाउनका लागि खेतबारीमा हुने बेला हो । खेतमा धान रोप्न र बारीमा कोदो रोप्न बिउ राख्ने बेलामा लामो समय खडेरी परेको छ । केही किसानले धान तथा कोदोको बिउ राखिसकेका छन् । केहीले पानीकै अभावका कारण अझै पनि राख्न सकिरहेका छैनन् । खडेरीका कारण बिउसमेत राख्न नपाएका किसान चिन्तित त छँदैछन् । बिउ राखिसकेका किसान पनि बीउ जोगाउन चिन्तित देखिन्छन् ।
केही दिनयता तापक्रम बढ्दै जाँदा मकैका बोटहरू सुक्दै गएका छन् । किसानले व्यावसायिक तथा घरमै प्रयोग गर्न लगाएका तरकारी तथा अन्य बालीहरू सुक्दै गएका छन् । लामो समय पानी नपरेपछि पुर्खाहरूले गर्दै आएको भ्यागुताको बिहे गरी इन्द्रदेवसँग पानी माग गरिएको बेहुली पक्ष वालिङ–६ भरुवाका नारायणप्रसाद भण्डारीले बताउनुभयो ।
वालिङ–८ को ब्याङतुङबाट बेहुला पक्ष जन्तीसहित भरुवा पुगेर विधिपूर्वक भ्यागुताको बिहे गरिएको हो । ‘पहिले–पहिले लामो समयसम्म खडेरी पर्दा पुर्खाहरूले भ्यागुताको बिहे गर्थे’, उहाँले भन्नुभयो, ‘चार वर्षअघि पनि यस्तै खडेरीमा भ्यागुताको बिहे गरेका थियौँ, त्यस दिन पानी आएको पनि थियो, यस पटक आकाश त गर्जियो तर पानी परेन ।’
रूढिवादी परम्पराजस्तो देखिने भ्यागुताको बिहे पूरै विश्वास गर्न पनि नसकिने र कहीँकतै विश्वास पनि अडिएको आफूलाई लाग्ने गरेको उहाँ बताउनुहुन्छ । ब्याङतुङबाट भ्यागुतालाई डोलीमा राखेर जन्तीसहित बेहुली लिन गएको बेहुला पक्षका गोपालधन सुवेदीले बताउनुभयो । स्थानीयवासीको उपस्थितिमा विधिपूर्वक पूजापाठ गरी भ्यागुताको बिहे गरिएको सुवेदीले बताउनुभयो ।
भ्यागुताको विवाह मौसमसँग सम्बन्धित रहेको विश्वास रही आएको छ । भ्यागुता वर्षाको समयमा बाहिर निस्कने भएकाले दुई भ्यागुतको विवाहलाई प्रतीकका रूपमा मान्ने गरिएको छ । भ्यागुता–भ्यागुताबीच सम्बन्ध भएपछि वर्षा हुन्छ भन्ने विश्वास रही आएकाले यसैका आधारमा यहाँका स्थानीयवासीले पानीको आशमा भ्यागुताको बिहे गराएका हुन् । भ्यागुताको बिहे गरेमा इन्द्रदेव खुसी भई पानी दिने विश्वास पनि रही आएको छ ।
लामो समय खडेरी हुँदा तापक्रम बढ्दै गएको छ । तापक्रम बढेकै कारण जनजीवनसमेत प्रभावित भएको छ । दैनिकी तथा स्वास्थ्यसम्बन्धी समस्याहरू देखिन थालेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।