नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
बाग्लुङ – केही दिनयता जिल्ला प्रहरी कार्यालय बागुलुङको परिसरमा भिड छ । कार्यालयका सूचना अधिकारीसमेत रहनुभएका प्रहरी नायब उपरीक्षक (डीएसपी) मदन केसीलगायतका प्रहरी अधिकृत इमेज सहकारी पीडितका गुनासो सुन्नमै व्यस्त हुनुहुन्छ ।
पीडितले दिएका निवेदन लिने र दर्ता गर्ने उहाँहरूको दैनिकी बनेको छ । बाग्लुङमा कार्यालय सञ्चालन गरेका इमेज बचत तथा ऋण सहकारी संस्था र शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीविरुद्ध अहिलेसम्म सात सय ६८ वटा उजुरी परेका छन् ।
ढोरपाटन नगरपालिकाका मेयरसमेत रहेका नेपाली जेठ ५ गतेदेखि सम्पर्कमा छैनन् । इमेज सहकारीका संस्थापक अध्यक्ष नेपालीसहित कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन र सञ्चालक सदस्य चित्रबहादुर भण्डारी, रूपा विक र झगबहादुर शाहीलाई गएकाे वैशाख ९ गते गृह मन्त्रालयले यात्रा अनुमतिमा रोक लगाएको थियो । अहिलेसम्म उनीहरू बेपत्ता छन् ।
‘नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानले खोजी गरिरहेको छ, तर कोही भेटिएका छैनन्’, डीएसपी केसीले भन्नुभयोे, ‘उजुरी गर्नेहरू राति ८ बजेसम्म लाइनमा हुन्छन्, केही दिन भयो हाम्रो कार्यालय भिडले भरिएको छ ।’
बचतकर्ताको दुई अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप नेपालीमाथि छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जेठ १६ गते उनीसहित पदाधिकारीले बचतकर्ताको अर्बाैँ रकम अपचलन गरी सङ्गठित ठगी गरेकाले उनीहरूविरुद्व उजुरी लिन पत्राचार गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय बाग्लुङले जेठ २१ गते बचत रकमसहित प्रमाण जुटाएर उजुरी दिन आह्वान गरेको थियो । त्यसयता साेमवार बेलुकासम्म सात सय ६८ जनाले रकम मागदाबीसहित उजुरी गरेको र अझै चार हजारभन्दा बढी सङ्ख्यामा बचतकर्ताको उजुरी आउनसक्ने अनुमान गरिएको केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिलेसम्म ८९ करोड ६६ लाख रुपैयाँ बचत रकम पाउनुपर्ने दाबी गरिएको छ । इमेज सहकारीको बाग्लुङ बजार, गलकोट र बुर्तिबाङमा गरी तीन वटा शाखा बाग्लुङमा मात्र छन् भने पोखरा सिर्जनाचोकमा समेत यसको शाखा छ ।
बाग्लुङमा मात्र दुई अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना भएको अनुमान गरिएको छ । पोखराकाे सिर्जनाचोकमा रहेको सहकारीका बचतकर्ता पोखरा महानगरको सहकारी महाशाखा र जिल्ला प्रहरी कार्यालयमा धाइरहेका छन् । बाग्लुङ र पोखरा दुवै ठाउँका बचतकर्ताले सङ्घर्ष समिति नै बनाएर धर्ना तथा दबाब कार्यक्रम गरिरहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।