ताप्लेजुङ : ५० वटा घर बाढी पहिराेकाे उच्च जोखिममा, राहत वितरण र उद्धारमा सास्ती

 असार ४, २०८० सोमबार १३:४७:५९ | रासस
unn.prixa.net

ताप्लेजुङ - ताप्लेजुङमा ५० वटा घर बाढी पहिराेकाे जाेखिममा परेका छन् । ताप्लेजुङकाे सिरिजङ्गा गाउँपालिकामा सात घर, सिदिङवा र  मैवाखोला गाउँपालिकामा २१/२१ वटा घर र पाथीभरा याङवरक गाउँपालिकामा एउटा गरी ५० घर परिवार बाढी र पहिराेकाे जाेखिममा परेका हुन् । 

शनिवारदेखि लगातार परेकाे वर्षापछि आएकाे बाढी र पहिराेका कारण ताप्लेजुङमा मानवीय तथा भाैतिक क्षति भएकाे छ । ताप्लेजुङमा अहिलेसम्म पहिराेमा परि तीन जनाकाे ज्यान गएकाे छ भने एक जना घाइते भएका छन् । तीन जना अझै बेपत्ता छन् । 

जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार सिरिजङ्गामा एक, सिदिङवामा एक र मैवाखोलामा एक गरी तीन वटा पक्की मोटरेबल पुलमा पूर्णरुपमा क्षति पुगेकाे छ । त्यस्तै, ताप्लेजुङको विभिन्न क्षेत्रमा पाँच वटा झोलुङ्गे पुल बाढीले बगाएको छ । पुल बगाएसँगै एक ठाउँबाट अर्को ठाउँमा जान समेत बन्द भएको छ । सिदिङवा, मैवाखोला र सिरिजङ्गा गाउँपालिकामा पाँचवटा गाई, भैँसी दुई वटा, आठ वटा बाख्रा  बाढीले बगाएको जिल्ला प्रशासशन कार्यालय ताप्लेजुङले जनाएको छ । 

सिरिजङ्गामा चार, सिदिङवामा चार र पाथीभरा याङवरकामा एक गरी नौ घरमा पूर्णरुपमा क्षति पुगेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । 

त्यस्तै, सिदिङवामा एक र सिरिजङ्गामा एक गरी दुई वटा विद्युत् गृहमा पूर्णरुपमा क्षति पुगेको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार सिरिजङ्गा–८ याम्फुदीनमा र वडा नम्बर ७ काे खेवाङमा गरी सात वटा सरकारी कार्यालयमा पूर्ण रुपमा क्षति पुगेकाे छ । 

सिरिजङ्गा –८ मा रहेको एक क्रसर उद्योगसमेत बाढीले बगाएको छ । त्यस्तै, एउटा कुखुरा फर्ममा पूर्ण रुपमा क्षति पुगेको जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले जनाएको छ । सिरिजङ्गा –८ याम्फुदीनमा एउटा सामुदायिक विद्यालयसमेत बाढीले बगाएको छ । 

ज्यान गुमाउनेका परिवारलाई एक लाख रुपैयाँ दिइने, घाइतेको उपचार गर्ने

कोशी प्रदेशले बाढी पहिरोबाट ज्यान गुमाएकाका परिवारलाई तत्काल एक लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ ।  आइतवार हिजाे बेलुका बसेको कोशी प्रदेश विपद् व्यवस्थापन समितिले बाढीपहिरोबाट ज्यान गुएमाएकाको परिवारलाई एक लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

कोशी प्रदेश खानेपानी, सिँचाइ, ऊर्जा तथा स्वास्थ्यमन्त्री तिलकुमार मेन्याङ्बोले बाढी पहिरो प्रभावित केही जिल्लाको निरीक्षण गरेपछि प्रदेश सरकारको विपद् व्यवस्थान समितिको बैठकले मृतक परिवारलाई राहतस्वरुप  एक लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको मन्त्री मेन्याङ्बोको सचिवालयले जनाएको छ ।

घाइतेको उपचार गर्ने, भौतिक संरचना (घर) पुनःनिर्माणको लागि सहयोग गर्ने, बगाएका, भत्किएका पुल यथाशीघ्र मर्मत र निर्माण गरी अवरुद्ध भएका बाटो तथा राजमार्ग तत्काल खुलाउन पहल गर्ने निर्णय भएको मन्त्री मेन्याङ्बो बताउनुभयो । ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, पाँचथरलगायत जिल्लामा बाढी पहिराेले सडक र पुलमा क्षति पुर्याउँदा करिब ५० करोड रुपैयाँ बराबरको क्षति भएको भौतिक पूर्वाधार तथा यातायत व्यवस्था मन्त्रालयले जनाएको छ । 

सडक अवरुद्ध हुँदा राहत वितरण र उद्धारमा सास्ती 

ताप्लेजुङमा आन्तरिक तथा बाह्य गाडी सञ्चालन हुन सकेको छैन । निरन्तर वर्षासँगै विभिन्न क्षेत्रमा बाढीपहिरोले सडक अवरुद्ध भएपछि यातायात ठप्प भएसँगै बेपत्ताको लागि खोज तथा उद्धारकार्यका लागि सास्ती भएको छ ।

मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ र फिदिम नगरपालिका जोड्ने हेवाखोला माथिको पुल बगाएपछि ताप्लेजुङ, पाँचथर, इलामसहित तराईका जिल्लातर्फ जाने गाडी सदरमुकाममा थन्किएका जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रवक्ता कुशुराम कार्कीले बताउनुभयो ।

तमोर नदीसहित तमोर करिडोरअन्तर्गतका खोलामा बाढी आएकाले तमोर करिडोरको सडकसमेत अवरुद्ध भएकाले छोटो र लामो दूरी छुट्ने गाडी ताप्लेजुङदेखि छुट्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

जिल्ला प्रहरी प्रवक्ता कार्कीका अनुसार बिहीवार राति आएको बाढीले मेहेले र खेवाङ जोड्ने पुल भत्काएको छ । अविरल वर्षासँगै गएराति मैवाखोलामा आएको बाढीले दोभान बजार हुँदै आठराई त्रिवेणी जाने सडक बगाएको छ । सडक अवरुद्ध भएकाले पहिरोग्रस्त क्षेत्रमा सदरमुकामबाट राहत र उद्धारका लागि जानसमेत कठिनाइ भइरहेको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिनुभयो ।

व्यवस्थापन समितिका अनुसार दोभान बजार क्षेत्र मैवाखोलामा आएको बाढीले कटान गर्न थालेपछि आधाजसो परिवार मध्यरातमै सुरक्षित ठाउँमा सरेका छन् । सिरीजङ्घाको याम्फुदिनमा काबेली खोलामा आएको बाढीले बस्ती कटान गरिरहेको छ । ठाउँका पाँच सरकारी कार्यालयसहित १५ परिवार अन्यत्र सरेका छन् । विभिन्न क्षेत्रका जलविद्युत् आयोजनामासमेत बाढीपहिरोले क्षति पुगेको छ । विद्युत् आपूर्ति बन्द भएको छ । 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया