नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा महानगरलाई खुला सङ्ग्रहालयका रूपमा विकास गरिने जनाएको छ ।
महानगरले खुला सङ्ग्रहालयका रूपमा विकास गर्न तथा यसको पहिचानलाई जोगाइ राख्न महानगर गौरवको योजना संस्कृति, सम्पदा र पर्यटन : महानगरको धनअन्तर्गत मूर्त तथा अमूर्त सम्पदाको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनका विभिन्न कार्यक्रम सञ्चालन गरिने भएको छ ।
नेपाल भाषा, लिपि, साहित्य, कला, सीपको जगेर्ना गर्ने, स्थान तोकेर विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यका लागि स्थानीय समुदाय तथा कलाकारसँग सहकार्य गरी स्वर्णिम योजनाका रूपमा कार्यक्रम सञ्चालन गरिने नीति पनि कामपाले लिएको छ ।
नीति तथा कार्यक्रममा ऐतिहासिक, धार्मिक, पुरातात्विक महत्त्वका मठ, मन्दिर, बहाल, पोखरी, हिटी, चैत्य, स्तूप आदिको अभिलेख राखी संरक्षणको व्यवस्था मिलाइने उल्लेख छ । निजी क्षेत्र, व्यवसायी र स्थानीय समुदायसँग सहकार्य गरी महानगर क्षेत्रभित्र होमस्टे सञ्चालन गर्न कार्यविधि तर्जुमा गरी कार्यान्वयनमा ल्याइने भएको छ ।
विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको संरक्षण र व्यवस्थापनका लागि टेवा पुर्याइनेछ । बौद्धनाथ र स्वयम्भूलाई महानगरपालिका मातहत सञ्चालन र व्यवस्थापन गर्नका लागि आवश्यक समन्वय र कानूनी प्रबन्ध गरिने नीति पनि कामपाले लिएको छ ।
स्थानीय समुदाय तथा विज्ञको समन्वय र सहयोगमा सम्पदा क्षेत्रमा सवारीसाधनको प्रवेशलाई निषेध गरिनेछ । सम्पदा संरक्षण र प्रवर्द्धन हुने परम्परागत शैलीका घर निर्माण गर्न घरधनीलाई प्रोत्साहित गरिनेछ । हनुमानढोका दरबार क्षेत्रदेखि स्वयम्भूसम्मको ‘हेरिटेज वाक’ लाई सञ्चालन गर्नेगरी कार्यक्रम अघि बढाइनेछ ।
कामपा वडा नम्बर ३२ मा रहेकाे तिनकुनेको जग्गाको मुआब्जासम्बन्धी विषयको समस्या समाधानका लागि सङ्घीय सरकारसँग ठोस पहल गरी उक्त स्थानमा अन्तर्राष्ट्रियस्तरको पार्क निर्माण गर्ने योजनालाई निरन्तरता दिइनेछ ।
सवारी साधनको प्रदूषण मापन गरी तोकिएको मापदण्डभन्दा बढी प्रदूषण निष्काशन गर्ने सवारी साधनलाई महानगर क्षेत्रमा सञ्चालन गर्न रोक लगाउन सम्बन्धित निकायसँग सहकार्य गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
कामपाको फोहर व्यवस्थापनमा रहेको लामो समयदेखिको अन्योललाई अन्त्य गरी आगामी आवभित्र ठोस योजनासहितको दिगो समाधानको कार्य प्राथमिकताका साथ कार्यान्वयन गरिने छ ।
नीति तथा कार्यक्रममा कामपाभित्रको नदीनालाको नियमित सरसफाइ गर्न नदी सरसफाइ स्वर्णिम योजनाका रूपमा सञ्चालन गरिने जनाइएको छ । यसका लागि आवश्यक उपकरण खरिद गरी संस्थागत क्षमता विकास गरिने तथा वाग्मती तथा विष्णुमती नदीमा फोहर पानी प्रशोधन केन्द्रको स्थापना गरिनेछ ।
कामपालाई आवश्यक पर्ने सवारी साधन खरिद गर्दा विद्युतीय सवारी साधन खरिद गर्ने नीति लिइनेछ । सार्वजनिक स्थानमा धूम्रपान तथा सुर्तीजन्य पदार्थको प्रयोग तथा बेचबिखनलाई रोक लगाइने छ ।
मालपोत र नापीसम्बन्धी कार्यलाई महानगरपालिका मातहत सञ्चालनमा ल्याउन आवश्यक समन्वयसहित नीतिगत प्रबन्ध गरिनेछ ।
महानगर प्रमुख शाहले अत्यावश्यक सेवा परिभाषित गरी सेवा प्रवाहलाई १६ घण्टासम्म सञ्चालन गरिने जानकारी दिनुभयो । उहाँका अनुसार कामपाअन्तर्गतका कार्यालयका सबै सेवा प्रवाह विन्दुमा ‘वन स्टप सर्भिस सेन्टर’ स्थापना गरी क्रमिकरूपमा सञ्चालनमा ल्याइनेछ । कामपाको निर्णय प्रक्रियालाई पारदर्शी, सहज, सूचना प्रविधिमैत्री, सेवाग्राहीमैत्री, कुशल एवं प्रभावकारी बनाइनेछ ।
नीति तथा कार्यक्रममा सङ्घ तथा प्रदेशबाट प्राप्त हुने संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम महानगरपालिकाको पूर्वसहमति एवम् समन्वयबिना छनोट भएका योजना तथा कार्यक्रम कार्यान्वयन नगरिने व्यवस्था गरिनेछ ।
सेवा केन्द्रका रूपमा सेवा प्रवाह गरिरहेका वडा कार्यालयको काम कारबाहीलाई थप प्रभावकारी र अधिकार सम्पन्न बनाउन थप कर्मचारी, भौतिक पूर्वाधार तथा आवश्यक स्रोत साधनको व्यवस्था मिलाइने बताइएको छ ।
वार्षिकरूपमा एक लाख रुख बिरुवा रोपी महानगरलाई हराभरा बनाउन ‘मेरो रहर, हरित सहर’ गौरवको योजनाको रूपमा कार्यक्रम सञ्चालन गरिनेछ ।
चराचुरुङ्गीको वासस्थान सुनिश्चित गर्नका लागि महानगरभित्र रहेका सहरी जङ्गलको संरक्षण तथा संवर्द्धन गर्न आवश्यक प्रबन्ध मिलाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।
महानगर क्षेत्रभित्रको सम्भावित स्थानमा पोखरी स्थापना गर्न सम्भाव्यता अध्ययन गरिने र यस विषयमा छिमेकी नगरपालिकासँग समेत समन्वय र सहकार्य गरिने कार्यक्रमा बताइएको छ ।
वायु, ध्वनि, दृश्यलगायत विभिन्न प्रदूषण नियन्त्रणसम्बन्धी अध्ययन अनुसन्धान गरी नीतिगत व्यवस्था गरिने नीति कामपाले लिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।