सङ्खुवासभामा बाढीमा बेपत्ता भएकाहरुलाई खोज्दै मोति र पिक्कु

 असार ९, २०८० शनिबार १६:५३:४९ | रासस
unn.prixa.net

तस्बिर : रासस

सङ्खुवासभा - सङ्खुवासभामा बाढीपहिराेमा परि बेपत्ता भएकाको खोजीका लागि तालिम प्राप्त कुकुर परिचालन गरिएको छ । असार २ गते राति अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण २० जना बेपत्ता भएका थिए । एक हप्तासम्म पनि बेपत्ता भएकाहरु फेला नपरेपछि तालिम प्राप्त कुकुर माग गरी खोजी थालिएको हो । तालिम प्राप्त मोति र पिक्कु नाम गरेका कुकुर बेपत्ताको खोजी गर्न परिचालन गरिएको हो ।

नेपाल प्रहरीले धरानबाट ल्याइएको तालिम प्राप्त दुई वटा कुकुरको सहायतामा आज बिहान सभाखोलादेखि खोजी थालिएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिनुभयो । नेपाल प्रहरीको तालिम प्राप्त कुकुरले हेवाखोला र सभाखोला किनारमा बेपत्ताको खोजी गरिरहेको उहाँले बताउनुभयो । मोति र पिक्कुसँगै प्रहरी, सेना र सशस्त्र प्रहरी परिचालन गरिएको छ । खोला किनारमा ६० फिटभन्दा बढी बालुवा थुप्रिएका कारण उद्धार टोलीलाई बालुवा हटाउन समस्या भएको छ ।

बाढीपहिराेमा बेपत्ता भएकाको सुरक्षाकर्मीको टोलीले एक हप्तादेखि खोजी जारी राखे पनि उनीहरुको अवस्था पत्ता नलागेपछि तालिम प्राप्त कुकुर ल्याएर खोजीलाई तीव्रता दिइएको प्रजिअ कार्कीले बताउनुभयो । उहाँका अनुसार कुकुरको सहायतामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले आज र भोलि हेवाखोला र सभाखोला किनार आसपास खोजी गर्नेछन् । बेपत्ताको खोजीका लागि हेवाखोला र सभाखोलाको बगरमा अन्य सुरक्षाकर्मी पनि परिचालित छन्  ।

बाढीपहिराेका कारण जिल्लाका विभिन्न ठाउँका २१ घरपरिवार विस्थापित भएका छन् । विस्थापित भएका २१ घर परिवारमध्ये १२ घर पूर्ण क्षति भएका छन् । बाढीपहिरोमा परी बेपत्ता भएका २० जनामध्ये सुपर हेवाखोला जलविद्युतका १६ जना, अपर हेवाखोला जलविद्युत् आयोजनाका एक, अमर कन्ट्रक्सनका एक र सभाखोपरी गाउँपालिकाका दुई जना छन् । बाढीपहिराेका कारण जिल्लाका आठ जलविद्युत् आयोजनामा क्षति पुगेको छ भने बाढीले भौतिक संरचना बगाउँदा करोडौँको क्षति भएको छ । 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया