भ्रष्टाचारविरुद्धको लडाइँ अझै रोकिने छैन : प्रधानमन्त्री प्रचण्ड

 असार १३, २०८० बुधबार १३:२३:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्धको लडाइँ अझै नरोकिने बताउनुभएको छ । नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, मिटरब्याजी प्रकरणमा सरकारले एकपछि अर्को सफलता हात पारिरहेको उल्लेख गर्दै उहाँले वर्षाैँदेखि डुङ्गुरको रूपमा रहेको भ्रष्टाचारलगायतका विकृतिहरूविरुद्धको लडाइँ नरोकिने बताउनुभएको हो । 

बुधवार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, उपराष्ट्रपति कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा सफलता हात पारेसँगै उच्चपदस्थहरू र देशका एउटा वर्ग कानुनभन्दा माथि छ भन्ने निराशावादी मान्यता गलत प्रमाणित हुँदै गएको दाबीसमेत गर्नुभयो । प्रधानमन्त्रीले आफूले सरकार सञ्चालन गरेयता सबैभन्दा ठूलो उपलब्धि नागरिकमा सरकार र व्यवस्थाप्रति भरोसा जगाउनु रहेको जिकिर पनि गर्नुभयाे ।

उहाँले भन्नुभयो, ‘मैले सुशासन सरकारकाे उच्च प्राथमिकता भनेर संसदमा सङ्कल्प गरेको थिएँ । यसबीचमा सरकारको सबैभन्दा ठूलो उपलब्धि व्यवस्थाप्रति नागरिकमा जगाएको भरोसालाई मानेको छु । मैले नेतृत्व लिँदै गर्दा नागरिकमा सरकारप्रति रहेकाे असन्तोष र आवेगमा अहिले सुधार भएको छ । हाई प्रोफाइल व्यक्तिहरू कानुनभन्दा माथि छन् भन्ने आम मनोविज्ञान बनिरहेको थियो । त्यसले नागरिकमा ठूलो आक्रोश जन्माइरहेको थियो । त्यो असन्तोषले लोकतन्त्रप्रति नै नकारात्मक धारणा बनिरहेको थियो । र नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले गरेको इतिहासकै ठूलो अनुसन्धान र कारबाहीपछि नागरिकमा विश्वास जाग्न सुरु भएको छ । यो काण्डको सफल अनुसन्धानसँगै अब लोकतन्त्रको सर्भिसिङ र शुद्धीकरण पनि शुरु भएको छ । यो शुद्धीकरण यतिमा रोकिने छैन । यो निरन्तर अगाडि बढ्नेछ । हिजोदेखि प्रधानमन्त्री निवास नै निल्न खोज्ने ललिता निवास काण्डका अभियुक्तहरू पक्राउ पर्न थालेका छन् । मिटरब्याजी र सहकारीका ठगहरूमाथि कारबाही सुरु भइसकेको छ ।’

प्रधानमन्त्री प्रचण्डले देशमा सुशासनका लागि अभियान नै सुरु गरेको उल्लेख गर्दै त्यसमा सदन र आम नेपालीले सरकारलाई अझ धेरै साथ दिनुपर्ने आवश्यकता पनि औँल्याउनुभयो ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया