काेशीमा एमाले नेतृत्वकाे सरकार ढल्याे

 असार १५, २०८० शुक्रबार १४:०:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – कोशी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार ढलेको छ । आज शुक्रवार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभामा विश्वासको मत पाउन नसकेपछि सरकार ढलेको हो ।

२०७९ साल मङ्सिरमा भएको प्रदेश सभा चुनावपछि पुस २४ गते कार्की मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । मुख्यमन्त्री कार्कीले हिजो बिहीवार प्रदेश सभामा विश्वासको मत पाउँ भन्ने प्रस्ताव राख्नुभएको थियो । त्यसमाथि आज मत विभाजन भएको हो । उहाँको प्रस्ताव अस्वीकृत भएको सभामुख बाबुराम गौतमले प्रदेश सभामा घोषणा गर्नुभयो ।

विश्वासको मतको प्रस्तावको पक्षमा ४६ मत परेको छ । ९३ सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि ४७ जना सांसदको समर्थन आवश्यक पर्छ । कार्कीलाई नेकपा (एमाले) का ४० र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का छ जना सांसदले मत दिए । मतदानमा ८९ सांसद सहभागी भएकामा प्रस्तावको विपक्षमा ४३ मत परेको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) ले विपक्षमा मतदान गरे । प्रदेश सभामा कांग्रेसका २९, माओवादीका १२ (सभामुखबाहेक), एकीकृत समाजवादीका चार र जसपाका एक जना सांसद छन् ।

केन्द्रमा गठबन्धन फेरबदल भएसँग त्यसको असर प्रदेशमा पनि परेको हो । यसअघि पाँच वटा प्रदेश सरकार फेरबदल भएका थिए । कोशीमा पनि माओवादी र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कार्कीले विश्वासको मतको प्रस्ताव राख्नुभएको हो । उहाँले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि सरकारले ढलेको छ । मुख्यमन्त्री कार्की पदमुक्त भएसँगै कोशी प्रदेशमा अब नयाँ सरकार गठनको प्रक्रिया शुरु हुन्छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया