मुग्लिन–नारायणगढ सडक खण्डको पहिरोले सम्झाउँछ घुमाउनेको अलपत्र पुल

 असार १७, २०८० आइतबार १३:२१:७ | रासस
unn.prixa.net

तस्बिर : रासस

तनहुँ - केही दिनदेखि मुग्लिन–नारायणगढ सडक खण्डमा दिनहुँ पहिरो झर्दा नागरिकको यात्रा कष्टकर भइरहेको छ। चितवनको इच्छाकामना गाउँपालिका–५ मा रहेकाे ३ नम्बर पुलमा पटकपटक झरेको पहिराेले याे सडक खण्ड अवरुद्ध हुँदा यात्रु मारमा परेका छन् । 

यो ठाउँमा गइरहेको पहिरोले तनहुँको आँबुखैरेनी गाउँपालिका र भरतपुर महानगरपालिका जोड्ने घुमाउनेको अलपत्र पुललाई फेरि एकपटक सम्झाएको छ । आँबुखैरेनी–५ र भरतपुर–२९ घुमाउने जोड्ने त्रिशूली नदीमाथिको घुमाउनेमा सम्झौताअनुसार काम भएको भए यतिबेला पक्की पुल बनिसक्थ्यो । 

पुल बनेको भए यतिबेला पहिराेका कारण अलपत्र भएर बस्नुपर्ने अवस्था आउँदैनथ्यो । मुग्लिन–नारायणगढ खण्डको विकल्पका रुपमा नागरिकले याे पुल तरेर बुद्धसिं मार्ग हुँदै दमौली निस्केर गन्तव्यसम्म पुग्न पाउँथे । त्यस्तै पोखरातर्फबाट आउने यात्रु डुम्रे–आँबुखैरेनी नभइ बुद्धसिं मार्ग भएर याे पुल तरेर भरतपुरको घुमाउने निस्किन पाउँथे । 

नौ वर्ष अगाडि घुमाउनेमा पुल निर्माण थालिए पनि अहिलेसम्म दुईतिरको भागमा पिल्लर मात्रै ठडिएको छ । याे ठाउँमा पुल निर्माण अलपत्र हुँदा मुग्लिन–नारायणगढ खण्डको तीन किलोमा गएको पहिराेले घन्टौँसम्म यात्रु अलपत्र पर्नुपर्ने अवस्था आएको युवा अभियन्ता प्रविण पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो,'यात्रु गन्तव्यसम्म जानका लागि घन्टौँ पहिराेले थुनिएर अलपत्र बन्नुपरेको छ, घुमाउनेमा पुल बनेको भए वैकल्पिक मार्ग हुँदै यात्रु आवतजावत गर्न पाउँथे ।'

पौडेलले घुमाउनेको पुल निर्माण सम्पन्न गर्नेतर्फ सरोकारवालाको ध्यान जानुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,'घुमाउनेको अलपत्र पुल हेरेर चित्त बुझाउनुपर्ने अवस्था छ, पुल बनेको भए आज अलपत्र भएर बस्नु पर्दैनथ्याे, बुद्धसिं मार्गमा पनि यस अगाडि नै कालोपत्र भइसक्नुपर्ने थियो ।'

भरतपुर घर भइ दमौलीमा बसोबास गर्दै आउनुभएका प्रकाशचन्द्र भट्टराईले याे पुललाई समयमै पूरा गर्न सकेको भए मुग्लिन–नारायणगढ खण्डको विकल्पका रुपमा याे मार्ग विकास हुने बताउनुभयो । उहाँले भन्नुभयो,'यो पुललाई देखाएर धेरैले राजनीति गर्नुभयो, तर ठेकेदारलाई ल्याएर काम गराउनेतिर कसैले पहल गरेनन् ।' 

उहाँले मोटरसाइकलमार्फत् बुद्धसिंह मार्ग हुँदै झोलुङ्गे पुल तरेर यात्रा गर्दै आउनुभएको छ । मुग्लिन–नारायणगढ खण्डमा पहिराेले दैनिक राजमार्ग अवरुद्ध हुँदा पुलको दुईतिर ठडिएका पिल्लर हेरेर चित्त बुझाउनुको विकल्पको नभएको उहाँको भनाइ छ । 

विसं २०७१ साल असारमा पुल निर्माणका लागि सम्झौता भएको थियो । मृत सञ्जीवनी निर्माण कम्पनीसँग भएको सम्झौताअनुसार अहिलेसम्म ३० प्रतिशत मात्रै काम भएको छ । सम्झौता भएको लामो समयसम्म पनि पुलले गति लिन नसकेको आँबुखैरेनीका अध्यक्ष शुक्र चुमानले बताउनुभयो । 

'निर्माण कम्पनीको ढिलासुस्तीका कारण पुलको कामले गति लिन सकेन, सम्बन्धित निकायमा पनि पटकपटक ध्यानाकर्षण गरायौँ', चुमानले भन्नुभयो । एक सय पाँच मिटर लम्बाइ रहेको पुलको लागत नौ करोड ५६ लाख रुपैयाँ रहेको छ । बारम्बार समय थप भए पनि पुलको कामले गति लिन नसकेपछि केही समय अगाडि तत्कालीन उपप्रधान तथा भौतिक पूर्वाधार यातायातमन्त्री नारायणकाजी श्रेष्ठले पुलको स्थलगत अवलोकन गर्नुभएको थियो । 

तनहुँ क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा स्वर्णिम वाग्लेले केही समय अगाडि घुमाउने पुलको अवलोकन गर्दै यसलाई चाँडो निर्माण सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गर्ने बताउनुभएको थियो । 

गण्डकी प्रदेशलाई चितवनको नारायणगढसम्म जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंह मार्गको घुमाउनेको याे मोटरेवब पुल सडक विभागअन्तर्गतको डिभिजन सडक कार्यालय तनहुँको प्राविधिक सहयोगमा निर्माण गर्न लागिएको हो ।

याे पुलको निर्माण सम्पन्नपश्चात् पोखरा र दमौलीलाई नारायणगढ आउनजान अहिले सञ्चालन भइरहेको मुग्लिङ–नारायणगढ सडकभन्दा २३ किलोमिटरको दूरी छोटो पर्छ । घुमाउनेमा मोटरेबल पुल नहुँदा तनहुँकै सिमानामा पुगेर गाडी फर्कन बाध्य छन् । मोटरसाइकल भने डोहोर्याएर मुग्लिङ–नारायणगढ सडक खण्डसम्म ल्याउन सकिन्छ ।  

पृथ्वीराजमार्गको विकल्पका रुपमा रहेको बुद्धसिंह मार्ग कालोपत्रका लागि गण्डकी प्रदेश सरकारले आउँदाे आर्थिक वर्षका लागि पाँच करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । 

पोखरा–नारायणगढ सडकको विकल्पमा तयार गरिएको बुद्धसिंह मार्गको थप स्तरोन्नति र घुमाउनेमा पुल निर्माण सम्पन्न भएपछि यस क्षेत्रका नागरिकलाई चितवन र तराईका विभिन्न जिल्ला जान समय बचत हुने बुद्धसिंह मार्ग उपभोक्ता समितिका पूर्वअध्यक्ष विश्व बास्तोलाको भनाइ छ । तनहुँको दमौलीबाट घुमाउने घाटसम्म नियमितरुपमा साना बस तथा दुईपाङ्ग्रे गाडी आउने जाने गरेका छन् ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया