७ लाख पार्टी सदस्य थप्न कांग्रेसले एक वर्षे अभियान चलाउने

गगन थापाकाे प्रस्ताव– ‘केन्द्रीय सदस्यहरूलाई वर्षमा १ महिनामात्रै छुट्टी दिऔँ’

 साउन २, २०८० मंगलबार १६:४१:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसमा पार्टी सदस्य थप्न एक वर्षे अभियान चलाउने प्रस्ताव भएकाे छ । आज मङ्गलवारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा साङ्गठनिक तालिका प्रस्तुत गर्दै महामन्त्री गगनकुमार थापाले यस्ताे प्रस्ताव गर्नुभएकाे हाे । आउँदाे एक वर्षभित्रमा सात लाख नयाँ पार्टी सदस्य बनाउने गरी ‘घर–घर जाऔँ, पार्टी सदस्य बनाऔँ’ अभियान चलाउने उहाँकाे प्रस्ताव छ ।

यस्तै महामन्त्री थापाले केन्द्रीय सदस्यहरूलाई असार महिनामा मात्रै पार्टीकाे कामबाट छुट्टी दिने प्रस्ताव पेस गर्नुभएको छ । उहाँले अरू ११ महिना नेता तथा कार्यकर्ताहरू पार्टी काममा लाग्नुपर्ने तालिका पेस गर्नुभएको छ । असार महिना किसानको महिना भएको र खेतीको समय भएको भन्दै महामन्त्री थापाले पार्टीका नेता, कार्यकर्ताले त्याे महिनामा किसानलाई सहयोग गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘असार महिना किसानको समय हो । हामी किसानको समस्यामा सहजीकरण गर्ने, समुदायलाई अप्ठेराे परेको बेलामा तयारी हुन्छाैँ । केन्द्रीय सदस्य साथीहरूले वर्षमा जम्मा एक महिनामात्रै छुट्टी पाउनुहुन्छ । त्योभन्दा बाहेक समय कि उहाँहरू अभियानमा हुनुहुन्छ, कि उहाँहरू विभागमा हुनुहुन्छ ।’

महामन्त्री थापाले भदौ १५ गतेभित्र सबै विभागको गठन गरिसक्ने र पूर्णता दिइसक्ने कार्ययोजना पनि पेस गर्नुभएको छ । त्यस्तै समितिहरूले पनि भदौ १५ गतेसम्ममा पूर्णता पाउने प्रस्ताव छ । आ

पार्टीका सबै दस्तावेजहरू डिजिटलाइज गर्ने र डिजिटल अभिलेख राख्ने पनि थापाकाे प्रस्ताव छ । यसका निम्ति काम भइरहेको पनि उहाँले बताउनुभयाे ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया